गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख १५ गते । वैदेशिक रोजगार विभागले एसोसिएट वेलकम इन्टरनेसनल नामको वैदेशिक रोजगार कम्पनीलाई दुई लाख रुपियाँ जरिबाना गरेको छ ।
उक्त कम्पनीले कानुनविपरीतको गतिविधि गरेको, विभागको पूर्वस्वीकृति नलिई शाखा कार्यालय सञ्चालन गरेको र सामाजिक सञ्जालमार्फत विज्ञापन गरेको भेटिएपछि विभागको अनुगमन टोलीले सो जरिबाना गरेको हो । यसै गरी विभागको अनुगमन टोलीले वैदेशिक रोजगारसम्बन्धी प्रचलित कानुन, विभागको आदेश तथा निर्देशन पालना नगर्ने मास ह्युमन रिसोर्स र टेस्ला ओभरसिज म्यानपावर कम्पनीलाई आउँदा दिनमा यस्ता गतिविधि नदोहो¥याउन सचेत गराएको छ । यी दुवै कम्पनीबाट आउँदा दिनमा यस्तै प्रकारका गतिविधि दोहोराएमा एसोसिएट वेलकम इन्टरनेसनललाई जस्तै आर्थिक जरिबाना र कम्पनी नै खारेजीसम्म गर्न सकिने गरी निगरानी गरिरहने विभागले जनाएको छ ।
विभागका उपमहानिर्देशक एवं प्रवक्ता चन्द्रबहादुर शिवाकोटीले ती दुई कम्पनीलाई अब उप्रान्त कानुनविपरीतका गतिविधि नगर्न सचेत गराउँदै विभागको अभिलेखमा राखिएको जानकारी दिनुुभयो । उहाँका अनुसार तीन कम्पनीबाट भएका कानुनविपरीतका गतिविधिका आधारमा एउटा कम्पनीलाई नगद जरिबाना गरिएको छ ।