• १६ भदौ २०८१, आइतबार

मापदण्डविपरीत पसल सञ्चालन

blog

उपाध्यक्षसहितको टोलीले हर्मिचौरमा बजार अनुगमन गर्दै । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, साउन ३० गते । कालीगण्डकी गाउँपालिकामा मापदण्डविपरीत पसल सञ्चालन गरेको पाइएको छ । गाउँपालिकाले वडा नम्बर १ हर्मिचौरमा गरेको बजार अनुगमनका क्रममा मापदण्डविपरीत खाद्य पसल सञ्चालन गरेको पाइएको हो ।

गाउँपालिकाका उपाध्यक्ष मञ्जुकुमारी दर्लामीसहितको टोलीले गरेको १२ वटा पसल अनुगमनमा अधिकांश पसल मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको गाउँपालिकाले जनाएको छ  ।

१२ वटै पसलमा मूल्यसूची नै नराखेको, केही पसलहरु दर्ता नगरेको, दर्ता गरेका पसलहरुको नवीकरण नभएको, पसलको नामसहितको होर्डिङ बाेर्ड नराखेको पाइएको अनुगमन टोलीमा सहभागी शिक्षा प्रशासन सहायक सुन्दर आलेले जानकारी दिनुभयो । यस्तै अनुगमनका क्रममा म्याद नाघेका खाद्य सामग्री पनि फेला परेका छन् । चामल, सुजी, बिस्कुट, मैदा चाउचाउजस्ता खाद्यवस्तुको म्याद नाघेको पाइएकाले डिलरमा नै फिर्ता गर्ने गरी अलग गरी राखिएको आलेले बताउनुभयो । पहिलो पटक हर्मिचौरमा बजार अनुगमन गरिएकाले सचेत बनाइएको र म्याद नाघेका सामग्रीहरु फिर्ता गर्नका लागि आग्रह गरिएको उहाँको भनाइ छ । 

अर्को पटक बजार अनुगमनमा हुँदा अहिले भेटिएका कमजोरीलाई सुधार नगरेमा कानुन अनुसारको कारवाही गरेरै छाड्ने प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीले जानकारी दिनुभयो । जनताको स्वास्थ्य माथि खेलवाड गर्ने अधिकार कसैलाई नभएको भन्दै आगामी दिनहरुमा त्यस्तो पाइएमा कारवाही गरेरै छाड्ने उहाँले चेतावनी दिनुभयो ।

चाडपर्वहरु नजिकिँदै गएकाले बजारमा म्याद नाघेका खाद्यवस्तु बिक्री वितरण हुन सक्ने, कालोबजारी लगायत कृत्रिम अभाव देखाउन सक्ने भएकाले बजार अनुगमन गरिएको उपाध्यक्ष मञ्जुकुमारी दर्लामीले बताउनुभयो । पहिलो चरणमा सचेत गराउँदै सुधारका लागि समय दिइएको र केही हप्तापछि पुनः अनुगमन गर्दा सुधार नभए कारवाही गर्न पछाडि नपर्ने बताउनुभयो । 

आफूहरुले पालिकाभित्रका पसलहरु सबै अनुगमन गर्नेगरी योजना बनाएको र दर्ता नगरी सञ्चालन गरेका पसलहरुलाई करको दरभन्दा पनि दायरामा ल्याउने दाबी दर्लामीले गर्नुभयो  । बजार अनुगमनमा वडाध्यक्ष लालुप्रसाद पाण्डे, कर्मचारी, प्रहरी चौकी पुर्तिघाटका प्रतिनिधिलगायतको सहभागिता थियो ।