• १६ भदौ २०८१, आइतबार

मह उद्योग सञ्चालनमा नआउँदै जीर्ण

blog

अलपत्र अवस्थामा रहेको मह उद्योग । तस्विरः गणेश खनाल

गणेश खनाल

अर्घाखाँची, साउन ३० गते । जिल्लाको सन्धिखर्क नगरपालिका –७ मा रहेको मह उद्योग सञ्चालनमा नआउँदै जीर्ण भएको छ । 

२०६३–६४ को बजेट वक्तव्यमार्फत सरकारले घोषणा गरेको ‘एक जिल्ला एक उत्पादन कार्यक्रम’ अन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा ७ सानागाउँमा रहेको अर्घाखाँची मह उद्योग प्रालि. आठ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन नसक्दा भवन जीर्ण बन्दै गएको हो ।

अर्घाखाँचीमा मह उद्योग सञ्चालनका लागि कृषि मन्त्रालय, उद्योग वाणिज्य महासङ्घ अन्तर्गतको कृषि उद्यम केन्द्रको आर्थिक सहयोगमा १ करोड ५ लाखको लगानीमा भवन इक्युमेन्ट खरिद गरे पनि सञ्चालनमा नआउँदै उद्योग जीर्ण अवस्थामा पुगेको छ । मह उत्पादन कम्पनीको संरचना बनाउन बजेट छुट्टिए पनि अहिलेसम्म भवन मात्र छ ।  

करोडौं लगानीमा निर्माण गरिएको अर्घाखाँची मह उद्योग प्रालि. अहिले लथालिङ्ग अवस्थामा छ । तत्कालीन समयमा उद्योग वाणिज्य सङ्घ अर्घाखाँचीमार्फत सञ्चालन गर्नेगरी योजना सुरु गरी सर्वसाधारणमार्फत सेयर सदस्यता बापत रकम उठाए पनि अहिले कुनै हिसाब उपलब्ध छैन । 

तत्कालीन समयका मह उद्योग प्रालि. उपभोक्ता समितिका अध्यक्ष तथा तत्कालीन उद्योग वाणिज्य सङ्घ अर्घाखाँचीका सचिवालय सदस्य लक्ष्मण कँडेलले जिल्लामा कच्चा पदार्थको अभावले मह उत्पादन हुन नसकेको, सञ्चालनमा ल्याउन स्थानीय सरकारसँग समन्वय गरी सञ्चालनमा ल्याउन प्रयत्न भइरहेको दाबी गर्नुभयो । 

जिल्लाको धनचौर, धारापानी, जुकेना, जलुके लगायतका वडामा उल्लेखनीय रुपमा किसान मौरीपालन गरिरहेका छन् । सन्धिखर्क नगरपालिका –७ का वडा अध्यक्ष चुराबहादुर केसीले उद्योग स्थापना भए पनि भवन बनाउने निकायले सरकारलाई हस्तान्तरण नगर्नु तथा निर्माण गर्ने निकायले सञ्चालनमा ल्याउन नसक्नुको कारण खोज्नुपर्ने बताउनुभयो । 

तत्कालीन अवस्थामा भवन निर्माण गर्दा ४८ लाख ५६ हजार ५ सय ६२ रुपियाँ बराबरको भवन निर्माण भएको उद्योगनजिक राखिएको सूचना बोर्डमा लेखिएको छ । १ करोड ८ लाख ४३ हजार ४ सय ३८ रुपियाँ मेसिनरी औजार र अन्य कामका लागि रकम खर्च भएको देखिन्छ  । 

उद्योगभित्र मेसिनरी औजार, केही खाली बोतल र मौरीघार बेवारिसे अवस्थामा छ । अर्घाखाँची जिल्ला मौरीपालक किसानका लागि अति उत्तम जिल्लाको रुपमा लिने गरिन्छ । यस जिल्लाका धेरै ठाउँमा मौरी चरन क्षेत्र भएकाले पनि मह उत्पादन गर्ने जिल्लाको रुपमा परिचित छ । 

अर्घाखाँचीका –६ स्थानीय पालिकामध्ये शीतगङ्गा नगरपालिकामा बाहिर जिल्लाबाट समेत मह उत्पादन गर्न अर्थात् मौरी चरनका लागि व्यावसायिक किसान मौरीका हजारौं गोला लिएर आउने गर्छन् ।