• १६ भदौ २०८१, आइतबार

साढे चवालिस हजारले गरे हलेसीको दर्शन

blog

खोटाङ समाचारदाता

खोटाङ, साउन ३० गते । प्रसिद्ध धार्मिक स्थल हलेसीमा साउनमा साढे ४४ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । साउन १ देखि २८ गतेसम्ममा ४४ हजार ६७६ जनाले हलेसीको दर्शन गरेका हुन् । 

साउनको प्रत्येक सोमबार बोलबम मेला लाग्ने गर्छ । यस वर्षको साउनको चार वटा सोमबार हजारौँको सङ्ख्यामा देश विदेशबाट भक्तजन आएका छन् । अन्य दिन पनि सयौँको सङ्ख्यामा भक्तजनले हलेसी मन्दिरको दर्शन गरेको हलेसी सूचना केन्द्रले जनाएको छ । 

साउनको सोमबार हरियो कपडा, चुरा र मेहदीमा सजिएका महिला तथा रातो गेरु रङको पहिरनमा सजिएका महिला र पुरुषको घुइँचो लागेको थियो । सोमबार पवित्र जल तथा बेलपत्रले शिवको पूजाआराधना गरे आफ्नो मनोकाङ्क्षा पूरा हुने र सुख तथा शान्ति मिल्ने विश्वास छ । सोही विश्वासलाई आधार मानेर नेपालका विभिन्न ठाउँसँगै भारतलगायत अन्य देशका भक्तजनले हलेसीमा आएर दर्शन गरेका हुन् । 

हलेसी गुफा प्रवेशद्वारमा भक्तजनको गणना गर्ने मेसिन राखिएको छ । गणना मेसिनबाट भक्तजनले लाइनमा भित्र छिरेर दर्शन गर्ने गरेका छन् । सोही मेसिनबाट भक्तजनको तथ्याङ्क सङ्कलन गरिएको राईले बताउनुभयो । हाल हलेसीमा पर्यटक प्रहरी डेस्क पनि स्थापना गरिएको छ । जसका कारण भक्तजनको व्यवस्थापन र गणना गर्न सहज भएको उहाँको भनाइ छ ।

प्राकृतिक सौन्दर्यले समेत भरिपूर्ण त्रिधार्मिक स्थल हलेसी मन्दिर खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानमा पर्दछ । हलेसीमा साउनको सोमबारसँगै रामनवमी, शिवरात्रि, बालाचतुर्दशी, तिजलगायत पर्वमा ठुलो मेला लाग्ने गरेको छ । नेपालका विभिन्न जिल्लासँगै भारत, चीन, बङ्गलादेश, भुटान, श्रीलङ्कालगायतका देशबाट हलेसीमा दर्शनार्थी आउने गरेका छन् । 

हिन्दु धर्ममा आस्था राख्नेले यसलाई पशुपतिनाथका रूपमा, बौद्ध धर्मावलम्बी दोस्रो लुम्बिनीका रूपमा र किराँत धर्मावलम्बीले आदिम भूमिका रूपमा पूजाआजा गर्ने गरेका छन् । हलेसी क्षेत्रमा महादेवगुफा, पापद्वार, धर्मद्वार, भैरवगुफा, वसाहागुफालगायतका धार्मिक स्थल रहेका छन् ।