• ११ मंसिर २०८१, मङ्गलबार

प्लास्टिक ओढाएर जोगाइँदै सडक

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, साउन ३० गते । बेनी–जोमसोम–कोरला कालीगण्डकी कोरिडोर पहिरो र नदी कटानले सताएपछि अहिले गुइँठे तथा बैसरीमा प्लास्टिकले छोपेर सडक जोगाउने काम गरिएको छ ।  

बर्सातको सुरुवातसँगै पवित्र तीर्थस्थल मुक्तिनाथ दर्शन तथा चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोरला नाका पुग्ने उक्त सडकको पहिरोले निकै धेरै सताउने गरेको छ । अन्नपूर्ण गाउँपालिका–३, दानाको गुइँठेमा सडकको बेससहितको पर्खाल उठाउने काम गर्दा वर्षाले बाधा पु¥याउने भएकाले प्लास्टिकले छोप्ने गरिएको छ । अन्नपूर्ण गाउँपालिका–३ का पर्यटन व्यवसायी एवं बेनी–जोमसोम–कोरला कालीगण्डकी कोरिडोर सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले दिएको जानकारी अनुसार अहिले साँघुरो भएको सडकलाई अलिक फराकिलो बनाउनुका साथै पहिरोबाट जोगाउनका लागि प्लास्टिकको सहारा लिइएको छ । बर्सातको पानीले जमिन भिजेर सडकै बगाउने जोखिमलाई न्यूनीकरणका लागि प्लास्टिक राम्रो उपाय हुन सक्ने भएकाले यस्तो गरिएको उहाँको भनाइ छ ।

अन्नपूर्ण गाउँपालिका–३, दानाका वडाध्यक्ष रमेश पुर्जाका अनुसार बेनी–जोमसोम सडकखण्डको दाना क्षेत्रको गुइँठे, खामभित्ता, लाटाखोला, रूपसे र काभ्रे अति धेरै पहिरो जाने क्षेत्र हो । यी ठाउँमा वर्षाको समयमा सबैभन्दा धेरै अवरुद्ध हुने गर्दछ । उल्लिखित सबै ठाउँ वर्षामा पहिरोले सताउने ठाउँ हो र यीमध्ये पनि गुइँठे भिर धेरै जोखिमको क्षेत्र हो । त्यसैले गुइँठेमा सडकको बेस नै बग्न सक्ने जोखिम बढेको हुनाले हालका लागि प्लास्टिक ओढाएर त्यसलाई जोगाउने प्रयास कालीगण्डकी कोरिडोर सडक आयोजनाले गरेको अध्यक्ष पुर्जाको भनाइ छ । 

त्यस्तै रघुगङ्गा गाउँपालिका–३, बैसरीमा सडकभन्दा माथिबाट आउने पानीको स्रोतलाई अन्यत्रै लैजान पनि कुलो काटेर कुलोमा पनि पानी नचुहियोस् भन्ने हेतुले प्लास्टिकले नै कुलो बनाइएको छ । पानीको स्रोत जथाभाबी हुँदा लगातार पहिरो झरेर सडक अवरुद्ध हुने गरेकाले उक्त जोखिम कम गर्न प्लास्टिक प्रयोग गरेर कुलो काटेर पानी तर्काइएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । पहिला जस्तो पहिरो नझरेको उहाँको भनाइ छ । 

सडक नियमित सञ्चालनका लागि हरेक तबरले प्रयास गरिएको बेनी–जोमसोम–कोरला कालीगण्डकी कोरिडोर सडक आयोजनाका मीन बानियाँले बताउनुभयो ।