• ११ मंसिर २०८१, मङ्गलबार

राष्ट्रिय परिचयपत्र लिन झिसमिसेदेखि लाम

blog

जिल्ला प्रशासन कार्यालय कास्कीमा मङ्गलबार राष्ट्रिय परिचयपत्रका लागि टोकन लिन सर्वसाधारणको लाम ।

फडिन्द्र अधिकारी

लेखनाथ, साउन ३० गते । झमझम झरी परोस् कि टन्टलापुर घाम, अचेल जिल्ला प्रशासन कार्यालय कास्की छिर्नेबित्तिकै लामो लाइन देखिन्छ । सार्वजनिक बिदाबाहेकका दिन बिहान झिसमिसेबाट मानिस लाइन बस्न सुरु गर्छन् । कार्यालय समय बिहान १० बजेबाट सुरु हुने राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउन आउनेको लाइन हो यो । 

कास्की जस्तै देशैभरका जिल्ला प्रशासन र इलाका प्रशासनमा अहिले राष्ट्रिय परिचयपत्र बनाउनेको लाइन छ । पोखरा महानगरपालिका–२३ की ७० वर्षीय देउमाया नेपाली मङ्गलबारसहित प्रशासन आएको पाँच दिन भइसक्यो । “दिनदिनै आएको पाँच दिन भो, आज भने टोकन दिएका छन् । पालो आउँछ होला ।” 

यसरी फोटो खिचाउन आउनेमा धेरै जसो वृद्धवृद्धा र सामाजिक सुरक्षा भत्ता पाउने छन् । लाममा भेटिनुभएकी खरिका पराजुलीले बिहान दुध लिएर आउने गाडीमा आएर लाइनमा बसेको सुनाउनुभयो । आफू एकल महिला भएको खुलाउँदै उहाँले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र बनाउन आउँदा निकै सास्ती झेल्नु परेको जनाउनुभयो । 

जिल्ला प्रकाशन कार्यालय कास्कीमा परिचयपत्रका लागि चार डेस्क राखिएका छन् । हरेक डेस्कले ४० वटा कुपन दिएर फोटो खिचाउने गरेका छन् । बिहानै आएर कुपन नपाउने र जिल्लाबाहिरकाले फोटो खिच्न पाउने अवस्था छैन । सेवाग्राहीको चाप बढेपछि लेखनाथमा रहेको इलाका प्रशासन कार्यालय, पोखरा महानगरका तीन वडा वडा नम्बर १, १३ र १७ मा पनि राष्ट्रिय परिचयपत्र बनाउने डेस्क राखिएको छ । 

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले कास्कीका नयाँ आठ वटा डेस्क थपिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “डेस्क थपिए पनि भिड कम भएको छैन । जिल्लाका नसकी बाहिरी जिल्लाको फोटो खिच्ने अवस्था छैन ।” कास्कीमा गत वर्ष ३३ हजार ४६५ जनाले राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाएका थिए । अहिलेसम्म कास्कीमा ४३ हजार राष्ट्रिय परिचयपत्र आएकोमा करिब छ हजार वितरण भएका छन् । परिचयपत्र लिने व्यक्ति स्वयम् उपस्थित हुनुपर्ने, फेरि बायोमेट्रिक दिनुपर्ने प्रावधानले तयार प्रमाणपत्र लिनसमेत कठिन भएको सेवाग्राहीको गुनासो छ । 

फोटो खिच्न दुई वर्ष लाग्ने 

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले परिचयपत्रका लागि तस्बिर खिचिसक्न अझै दुई वर्ष लाग्ने जनाएको छ । विभागका व्यवस्थापन शाखाका निर्देशक मुकेशकुमार केशरीले मङ्गलबारसम्म एक करोड ५३ लाख नेपालीको विवरण सङ्कलन भइसकेको जानकारी दिनुभयो । परिचयपत्र बनाउन योग्य अब २० देखि २२ लाख नागरिक रहेको उहाँको भनाइ छ । निर्देशक केशरीले भन्नुभयो, “राष्ट्रिय परिचयपत्र त अब नियमित प्रक्रिया नै बन्छ । परिचयपत्र लिन उमेर पुगेका नागरिकमध्ये ९० प्रतिशत जतिको विवरण सङ्कलन भएको छ । बाँकीको विवरण सङ्कलन गर्न दुई वर्ष लाग्ने हाम्रो अनुमान छ ।” 

अहिलेसम्म ४५ लाख परिचयपत्र छापिइसकेका छन् । तीमध्ये १० लाखभन्दा बढी वितरण गरिसकेको विभागले जनाएको छ । देशका ७४ जिल्लाका जिल्ला प्रशासन, इलाका प्रशासन र स्थानीय तहबाट विवरण सङ्कलन भइरहेको छ । विभागका निर्देशक केशरीले डोल्पा, मुगु र हुम्लामा भौगोलिक विकटताले जिल्ला प्रशासनबाट मात्रै काम भइरहेको जानकारी दिनुभयो । जनतालाई दिने सेवा एकीकृत प्रणालीमार्फत एउटै परिचयपत्रबाट दिन यसको अवधारणा ल्याइएको हो । सरकारले पहिलो चरणमा देशका २८ जिल्लामा सामाजिक सुरक्षा, पेन्सन र स्वास्थ्य बिमाबाट सुविधा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरिसकेको छ । दोस्रो चरणमा आगामी माघ १ बाट ३८ जिल्लामा र तेस्रो चरणमा ०८२ साउनदेखि बाँकी ११ जिल्लामा परिचयपत्र लागु गर्ने तयारी छ ।