• १६ भदौ २०८१, आइतबार

मुलुकभर छ हजार सर्किट किलोमिटर प्रसारण लाइन

blog

काठमाडौँ, साउन ३० गते । विद्युत् आयोजनाबाट उत्पादित विद्युत् एक ठाउँबाट अर्को ठाउँमा लैजान निर्माण गरिएका प्रसारण लाइन सञ्जाल छ हजार सर्किट किलोमिटर पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । गत आर्थिक वर्ष २०८०/८१ सम्ममा चार सय, २२०, १३२ र ६६ केभीका प्रसारण लाइनको लम्बाइ छ हजार ५०७ सर्किट किलोमिटर पुगेको हो । 

कुल प्रसारण लाइनमध्ये सबैभन्दा बढी १३२ केभी चार हजार १३६ सर्किट किलोमिटर र सबैभन्दा कम ६६ केभी ५१४ सर्किट किलोमिटर छ । चार सय केभी प्रसारण लाइन ६४४ सर्किट किलोमिटर छ । आव २०७२/७३ सम्ममा दुई हजार ९११ सर्किट किलोमिटर मात्र प्रसारण लाइन थियो । 

आव २०७३/७४मा तीन हजार ३६४, आव २०७४/७५ मा तीन हजार ५३८, २०७५/७६ मा तीन हजार ९९० र आव २०७६/७७ मा चार हजार २६९ सर्किट किलोमिटर प्रसारण लाइन थियो । त्यस्तै २०७७र७८ मा चार हजार ८७४, २०७८/७९ मा पाँच हजार ३२९ र २०७९/८० मा पाँच हजार ७४२ सर्किट किलोमिटर प्रसारण लाइन थियो । 

प्राधिकरणका अनुसार ग्रिड सबस्टेसनको क्षमता १३ हजार ५० एमभिए पुगेको छ । आव २०७२/७३ मा दुई हजार २२३ एमभिए मात्र रहेको ग्रिड सबस्टेसन क्षमता गत आवसम्ममा १३ हजार ५० पुगेको हो । यसमा ४००, २२०, १३२, ६६ र ३३ केभी क्षमताका सबस्टेसन रहेका छन् । 

प्रसारण लाइन तथा सबस्टेसन निर्माणमा सरकार, प्राधिकरण र विकास साझेदार निकायबाट सहुलितपूर्ण ऋण लिएर लगानी भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आठ वर्षको अवधिमा प्रसारण लाइन निर्माणमा गुणात्मक फड्को मारेको बताउनुभयो । “स्थानीयको अवरोध, जग्गा अधिग्रहण, वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वीकृतिको प्रक्रियागत झन्झट, सडक पनि नभएका भौगोलिक रूपमा अत्यन्तै जोखिमयुक्त र कठिन क्षेत्रमा काम गर्न निर्माण सामग्री मान्छे, खच्चड र हेलिकोप्टरबाट ढुवानी गर्नुपर्ने जस्ता चुनौतीपूर्ण अवस्थालाई पार लगाउँदै प्रसारण लाइन निर्माणमा उल्लेख्य प्रगति हासिल भएको छ,” घिसिङले भन्नुभयो । 

बुटवलबाट पश्चिम अत्तरियासम्म चार सय केभी प्रसारण लाइन र देशका प्रमुख लोड सेन्टर भएर जाने दक्षिण कोरिडोर प्रसारण लाइनका लागि विभिन्न दातृ निकायबाट लगानी सुनिश्चित गरी निर्माण प्रक्रिया अगाडि बढाइएको घिसिङले जानकारी दिनुभयो ।  

देशका प्रमुख सहरहरूलाई ११ वटा क्लस्टरमा विभाजन गरी सन् २०५० सम्मको मागलाई आपूर्ति गर्न सक्ने प्रसारण र वितरण संरचनाको गुरुयोजना तयार गरी क्रमिक रूपमा कार्यान्वयनमा लगिएको उहाँले उल्लेख गर्नुभयो । 

विद्युत् आपूर्तिलाई भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन वितरणतर्फ पनि ठुलो लगानी परिचालन गरिएको घिसिङको भनाइ छ । ग्रिड सबस्टेसनबाट उपभोक्ताकोसम्म विद्युत् पु¥याउन ३३ तथा ११ केभी र चार सय भोल्टका वितरण लाइन सञ्जाल दुई लाख नौ हजार सर्किट किलोमिटर पुगेको छ । 

आव २०७२/७३ सम्ममा वितरण लाइन एक लाख २१ हजार सर्किट किलोमिटर मात्र थियो । त्यतिबेला ५८ प्रतिशत विद्युतीकरण थियो भने हाल ९९ प्रतिशत पुगेको छ । कुल वितरण लाइनमध्ये सबैभन्दा बढी चार सय भोल्टको वितरण लाइन एक लाख ५० हजार सर्किट किलोमिटर रहेको छ । वितरणतर्फको सबस्टेसनको क्षमता दुई हजार पाँच सय एमभिए पुगेको प्राधिकरणले जनाएको छ । वितरण सबस्टेसनको सङ्ख्या १९६ वटा छ । आठ वर्षअघि सबस्टेसनको सङ्ख्या ८० वटा मात्र थियो । क्षमता ६४० एमभिए मात्र थियो । 

थपिँदै अन्तरदेशीय प्रसारण लाइन 

भारतसँगको विद्युत् व्यापारका लागि करिब दुई सय हजार पाँच सय मेगावाट विद्युत् प्रवाह गर्न सक्ने नयाँ बुटवल–गोरखपुर चार सय केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणाधीन छ । यता नेपाल–भारतबिचको विद्युत् आयात निर्यातका लागि आठ वर्षअघि करिब ३५० मेगावाट विद्युत् प्रवाह गर्न सक्ने प्रसारण लाइन क्षमता रहेकोमा हाल करिब दई हजार मेगावाट पुगेको छ ।

इनरुवा–पूर्णिया र लम्की–बरेली चार सय केभी प्रसारण लाइन कार्यान्वयनका चरणमा छन् । साथै नेपाल र भारतबिच थप प्रसारण लाइन निर्माणको सम्भाव्यता अध्ययन भइरहेको छ । नेपाल, भारत र बङ्गलादेशबिचको विद्युत् व्यापारलाई थप सहज बनाउन इनरुवाबाट अनारमनीसम्म चार सय केभी प्रसारण लाइन निर्माण प्रक्रिया अगाडि बढाइएको छ । 

यसरी सन् २०३५ सम्ममा २० हजार मेगावाट विद्युत् निर्यात गर्न सक्ने प्रसारण लाइन सञ्जाल विस्तार हुने सुनिश्चित गरिएको छ । छिमेकी देश चीनसँगको विद्युत् व्यापारका लागि पनि चिलिमे–केरुङ प्रसारण लाइनअगाडि बढाइएको छ ।