• १ असोज २०८१, मङ्गलबार

कप्तान रोहित, सन्दीप र दीपेन्द्रविनै भारतमा अभ्यास

blog

काठमाडौँ, साउन २९ गते । आइसिसी एक दिवसीय विश्वकप लिग–२ को तयारीका लागि भारतमा हुने प्रशिक्षणमा नेपालका कप्तान रोहितकुमार पौडेल, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीको सहभागिता नरहने भएको छ । 

हाल ग्लोबल टी–२० लिगका कारण तीन खेलाडी क्यानडामा व्यस्त रहेकोले टोलीको प्रशिक्षण बाहिर हुनुभएको हो । लिग–२ अन्तर्गत आगामी सेप्टेम्बरमा क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार मात्र भारत प्रस्थान गरेको थियो ।

क्यानका अनुसार नेपालले भारतको बेङ्लोर नेसनल क्रिकेट एकेडेमी (एनसिएमा) मा दुई साता प्रशिक्षण गर्नेछ ।  प्रशिक्षक मोन्टी देसाई पनि आइसिसी टी–२० विश्वकप पछि भारतमै रहेकाले उतैबाट नेपाली टोलीमा सामेल हुनुहुनेछ । 

नेपाल क्रिकेट सङ्घ (क्यान) ले एक साताअघि मात्र बन्द प्रशिक्षणका लागि रोहितकुमार पौडेलको कप्तानीमा २२ सदस्यीय टोलीको घोषणा गरेको थियो । नेपालले दोस्रो राउन्डको त्रिकोणात्मक सिरिज खेल्न लागेको हो । पहिलो राउन्डमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग खेलेको थियो । 

सिरिजमा प्रत्येक टोलीसँग समान दुई खेल खेल्ने प्रावधान रहेको छ । नेपालले पहिलो राउन्डमा एक खेल मात्र जितेको छ । नेपालमा भएको पहिलो राउन्डमा नेपालले नेदरल्यान्ड्सलाई एक खेलमा पराजित गरेको थियो ।