• १६ भदौ २०८१, आइतबार

नेपालगञ्ज-गुलरिया सडक पेडारीमा पक्की पुल बन्ने अनिश्चित

blog

बाँकेको खजुरास्थित पेडारी नाला पुल । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, साउन २९ गते । नेपालगञ्ज–गुलरिया सडक खण्ड अन्तर्गत बाँकेको खजुरा गाउँपालिका ३ खजुरा बजारस्थित पेडारी नालामा निर्माण गर्ने भनिएको चारलेनको कल्भर्ट निर्माणको काम अझै अनिश्चित छ । 

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जले कल्भर्ट निर्माणका लागि नक्सा र डिजाइन बनाई स्वीकृतिका लागि सडक विभागमा पेश गरेको ६ महिना पुगे पनि अहिलेसम्म ठेक्का आह्वान हुन सकेको छैन । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले विभागबाट स्वीकृत भई कार्यालयलाई ठेक्का आव्हान गर्न स्वीकृति दिएमा एक वर्षभित्र निर्माणको काम सम्पन्न गरिसक्ने बताउनुभयो । 

प्रमुख भण्डारीले भन्नुभयो, "सो स्थानमा चारलेन सडक भएकाले छिटो भन्दा छिटो काम सुरु गरी सम्पन्न गर्न कार्यालय तयारी अवस्थामा छ, तर विभागबाट स्वीकृत हुनुपर्ने हुन्छ।"

खजुरामा ६ वर्ष अघिदेखि चारलेन सडक निर्माण सुरु भएको भए पनि साँघुरो र जीर्ण पुल भएका कारण आवागमनमा सास्ती हुँदै आएको छ । बाढीको समयमा पुलको दायाँबायाँ पानी जमेर आवागमन पटक–पटक अवरुद्ध हुने गरेको छ । पेडारी नालामा नयाँ कल्भर्ट २२ मिटर चौडाइ र ३३ मिटर लम्बाइको हुने प्रारम्भिक डिजाइनमा उल्लेख छ । चार लेन सडक भएकाले ११ मिटर चौडाइ र ३३ मिटर लम्बाइका दुई वटा कल्भर्ट निर्माण हुने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जले जनाएको छ ।

कल्भर्ट भए पनि चारलेनको मापदण्ड अनुसारका हुने र छिटो सम्पन्न हुने भएकाले कल्भर्ट निर्माण गर्न लागिएको प्रमुख भण्डारीले बताउनुभयो । करिब १४ करोड रुपियाँको लागतमा नयाँ आरसिसी कल्भर्ट हालको पुल भन्दा उचाइमा निर्माण गरिने कार्यालयले योजना बनाएको छ ।

खजुराका स्थानीय बासिन्दा समेत रहनुभएका लुम्विनी प्रदेशसभा सदस्य रत्न खत्रीले पेडारी नालामा पुल निर्माणका लागि अर्थ मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत पहल भइरहेको बताउनुभयो । खत्रीले भन्नुभयो, ‘सङ्घीय सरकारको गौरवको आयोजना भएकाले बीचमा चारलेन पुल आवश्यक छ, तत्काल काम सुरु गराउन राजनीतिक तहबाट पहलकदमी भइरहेको छ । 

पेडारी नालामा साँघुरो र जीर्ण पुल भएका कारण बर्षायाममा खोलामा बाढी आउँदा पटक–पटक सवारी आवागमन प्रभावित हुने गरेको छ । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिकले नेपालगञ्जदेखि बर्दियाको गुलरिया जोड्ने हुलाकी सडक अन्तर्गत पेडारी नालाको पुल अत्यन्त जीर्ण र होचो भएका कारण नालामा पानीको सहत बढ्नासाथ पानी सडक भएर बग्ने गरेको बताउनुभयो । पालिकाले पटक–पटक पहलकदमी गरे पनि हालसम्म पुल निर्माणको काम अघि बढ्न नसकेको उहाँले बताउनुभयो ।

वर्षातको समयमा बाँके, बर्दिया र सुदूरपश्चिम प्रदेशका हजारौं बासिन्दाले दुःख पाउने भएकाले सङ्घ सरकारलाई तत्काल पुलको काम अघि बढाउन अध्यक्ष विकले माग गर्नुभयो।