• १६ भदौ २०८१, आइतबार

पूर्वी नेपालमा हात्ती पर्यटन विकासका लागि प्रयास

blog

विष्णुप्रसाद पोखरेल

दमक, साउन २९ गते  । झापासहित पूर्वी नेपालमा मानव–हात्ती द्वन्द्वका घटनामा वृद्धि हुँदै गएपछि यसको न्यूनीकरणसँगै स्थानीयलाई आयआर्जनमा जोड्ने उद्देश्यले हात्ती पर्यटन विकासका लागि प्रयास हुन थालेको छ ।

मानव र हात्तीबिचको सहअस्तित्व हात्ती पाइने क्षेत्रका प्रायःजसो सबैको चासोको विषय भए पनि ठोस रूपमा काम अगाडि बढ्न सकेको छैन । फागुनको पहिलो साता कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री केदार कार्कीले हात्ती हिँड्ने बाटोको अवलोकन र भ्रमण गरेपछि यस विषयले निक्कै चर्चा पाएको थियो । 

झापाको बाहुनडाँगीदेखि उदयपुरको बेलटारसम्म जङ्गल नै जङ्गल उहाँले सरोकारवाला निकायसहित २५० किलोमिटर पैदलयात्रा गर्नुभएको थियो । यसको उद्देश्य हात्ती पर्यटनको सम्भावना खोज्नु रहेको बताइएको थियो । हात्ती कोरिडोर निर्माण तथा हात्तीको पुरानो जैविक बाटोको पहिचान गर्ने भनेर यो यात्रा भएको थियो ।

झापादेखि उदयपुरसम्मको हात्तीमैत्री पदयात्रा सरकारको तवरबाट पूर्वमा पहिलो पटक भएको भन्दै हात्ती संरक्षणकर्मीले औपचारिकतामा मात्र यात्रा सीमित नरहोस् भनेर सचेत पनि गराएका थिए । “यो यात्राले हात्तीको संरक्षणमा जुट्नु पर्छ भन्ने सन्देश दिएको छ तर अब काम कसरी अगाडि बढ्छ त्यो हेर्न बाँकी छ,” मेचीनगर नगरपालिका–४ का वडाध्यक्ष अर्जुन कार्कीले भन्नुभयो ।

वडाध्यक्ष कार्कीका अनुसार भारतबाट सयौँको सङ्ख्यामा एकैसाथ नेपालमा हात्ती प्रवेश गर्ने गरेका छन् । उहाँले भन्नुभयो, “बाहुनडाँगी र आसपास मेचीनगर किनार हुँदै हात्ती प्रवेश नगरेको दिन नै हुँदैन । स्थानीयले अब यसलाई सहज रूपमा लिन थालेर हात्तीलाई माया गर्न थालेका छन् ।”उहाँ भन्नुहुन्छ, “हात्तीसँग कसैको पनि रिस छैन तर हात्तीले पु¥याउने गरेको क्षतिप्रतिको चिन्ता छ । अब हात्तीलाई कमाइखाने माध्यम तथा पर्यटनसँग जोड्नलाई स्थानीय उत्साही भएर लाग्न थालेका छन् ।”

आफूहरूले केही वर्षअघि हात्ती रिसोर्ट खोलेर हात्ती पर्यटन सुरुवात गरेको र त्यसपछि धेरै काम भइरहेको उहाँको भनाइ छ । अहिले हात्तीमैत्री होमस्टे, हात्ती आगमन सूचना केन्द्र स्थापना, हात्तीसँग मैत्रीपूर्ण व्यवहार र घुलमिललगायतका विषयमा कार्यव्रmम भइरहेको उहाँले जानकारी दिनुभयो । हात्तीको विषयमा बुझ्न र हात्ती हेर्न मानिस आउन थालेको उहाँको भनाइ छ । 

हात्ती परम्परागत रूपमा हिँड्ने जङ्गल क्षेत्र मानव बस्ती र कृषि क्षेत्रमा परिणत हुँदा हात्तीको नियमित आवागमनमा अवरोध पुगेकाले मानव–हात्ती द्वन्द्वका घटनामा वृद्धि भएको बाहुनडाँगीकै हात्ती संरक्षणकर्मी शङ्कर लुइँटेल बताउनुहुन्छ । हात्तीको आनीबानीका विषयमा जानकार भएर होसियारी अपनाउने हो भने क्षति न्यूनीकरण गर्न सकिन्छ भनेर यहाँका बासिन्दाले बुझ्न थालेको लुइँटेलको भनाइ छ । उहाँ समुदायले हात्तीप्रति गर्ने नकारात्मक व्यवहार परिवर्तन गराई हात्तीबाट हुने मानवीय क्षति न्युनीकरण गर्ने प्रयास अनुसार हात्ती पर्यटनको सम्भावना खोजी र काम पनि सुरु भएको बताउनुहुन्छ । 

हात्तीले विभिन्न प्रजातिका बिरुवा खान्छन् । रुखका ठुला हाँगा, जरा, कान्ड, पातसमेत खान्छन् । डिभिजन वन कार्यालय झापाका अधिकृत जीवन पाठकका अनुसार हात्तीलाई धान, मकै, केरा, उखु जस्ता मानिसले लगाएका बाली मन पर्ने खाना भएकाले यसैका लागि उनीहरू बस्तीमा पस्छन् । एउटा प्रौढ हात्तीले दिनमा लगभग एक सय पचास केजी आहारा खाने गर्छ । एउटा हात्तीले एक पटकमा करिब एक सय लिटर र दिनमा लगभग २२५ लिटर पानी पिउँछ ।