• ११ मंसिर २०८१, मङ्गलबार

रेसुङ्गा पोखरीमा स्नान र यज्ञशालामा दर्शन गर्नेको घुइँचो

blog

रेसुङ्गा पोखरीमा स्नान गर्नेको भिड । तस्बिर : तिलाचन पाण्डे

तम्घास समाचारदाता

तम्घास, साउन २९ गते । धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गा पोखरीमा स्नान गर्ने र यज्ञशालाको दर्शन गर्नेको घुइँचो लागेको छ । साउनको चौथो सोमबार पोखरीमा स्नान गर्नुका साथै यज्ञशालामा दर्शन गर्नेको घुइँचो लागेको हो । पोखरीमा स्नान गर्नाले मनले चिताएको पूरा हुने र अन्जानमा गरेका पाप नष्ट हुने धार्मिक विश्वास रहँदै आएको छ । 

रेसुङ्गा पोखरी र यज्ञशालाका बारेमा धेरै चर्चा सुनेको र पोखरीको स्नान गरी यज्ञशालाको दर्शन गर्दा पुण्य प्राप्त हुने भन्ने मान्यता रहेकाले आफू यहाँ आएको पर्वतकी अङ्किता शर्माले बताउनुभयो । 

साउनको चौथो सोमबार भएकाले पनि पोखरीमा स्नान गर्ने र यज्ञशालामा चलेको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ श्रवण गर्नेको सङ्ख्या उल्लेख्य रहेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताउनुभयो । 

साउन २६ गतेदेखि सुरु भई ३२ गतेसम्म चल्ने महायज्ञमा भारतका योगी शम्भुनाथ जी महाराजलगायतले पुराण वाचन गर्ने भुसालले बताउनुभयो । धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गाको महिमालाई थप टेवा पुग्ने गरी ज्ञान महायज्ञको आयोजना गरिएकोे भुसालले जानकारी दिनुभयो । रेसुङ्गा र भारतको अयोध्याबिच रहेको पौराणिक सम्बन्धलाई थप प्रभावकारी बनाउँदै भारतीय धार्मिक व्यक्तित्व तथा पर्यटकलाई रेसुङ्गामा ल्याउने उद्देश्यले महायज्ञको आयोजना गरिएको भुसालले बताउनुभयो ।  

पोखरीसम्म सार्वजनिक यातायातमार्फत जान सकिन्छ भने पोखरीबाट यज्ञशालासम्म एक हजारभन्दा बढी सिँढी चढेर जानु पर्दछ । हिँडेर सिँढी चढ्न नसक्नेका लागि घोडा चढेर जान सक्ने व्यवस्था गरेको संरक्षण समितिका सचिव गोपाल पन्थीले जानकारी दिनुभयो । पोखरीदेखि यज्ञशालासम्म जाने र आउने गर्नेका लागि पाँच सय रुपियाँ र एकतर्फीका लागि तीन सय रुपियाँ भाडा दर कायम गरिएको पन्थीले बताउनुभयो ।

समितिले गत वर्ष भारतका चार सय साधु सन्त ल्याई सन्त सम्मेलन गरेको थियो । सो सम्मेलनबाट समितिले २५ लाख रुपियाँ बचत गरेको समितिका कोषाध्यक्ष नेत्र बस्नेतले जानकारी दिनुभयो । यज्ञशालाबाट गुल्मीसहित पाल्पा, अर्घाखाँची, बागलुङ, पर्वतलगायत भारतको गोरखपुरसम्म देख्न सकिन्छ । रेसुङ्गा क्षेत्रको धार्मिक तथा पर्यटकीय विकासका लागि रेसुङ्गा नगरपालिकाले पनि जाउँ हिँड रेसुङ्गा कार्यक्रम सञ्चालन गरेको छ ।