• १६ भदौ २०८१, आइतबार

स्वास्थ्य बिमाको पहुँच पुग्न सकेन

blog

स्वास्थ्य बिमा गरेकाहरूले गुल्मी अस्पतालबाट सेवा लिँदै । तस्बिर : तिलाचन पाण्डे

तम्घास समाचारदाता 

तम्घास, साउन २९ गते । सरकारले स्वास्थ्य बिमालाई प्राथमिकता दिए पनि यहाँका ५५ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँचभन्दा बाहिर छन् । स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालय गुल्मीका अनुसार ५५ प्रतिशत नागरिक पहुँचबाहिर रहेका छन् भने ४५ प्रतिशत नागरिक मात्रै स्वास्थ्य बिमाको पहुँचमा रहेका छन् । 

२०७८ सालको जनजगणना अनुसार जिल्लाको कुल जनसङ्ख्या दुई लाख ४६ हजार ८३६ छ । कार्यालयका अनुसार अहिलेसम्म ५३ हजार ८९३ जना पुरुष र ५७ हजार ७०६ महिला गरेर एक लाख ११ हजार ५९९ जनाले स्वास्थ्य बिमा गरेका छन् । 

जिल्लामा शुल्क तिरेर ७८ हजार ५९४ जनाले बिमा गराएका छन् । ज्येष्ठ नागरिक, एचआइभी सङ्क्रमित, कुष्ठरोगी र जटिल खालका क्षयरोगीको निःशुल्क स्वास्थ्य बिमा हुने गरेको छ । ज्येष्ठ नागरिक १५ हजार ८४१, एचआइभी सङ्क्रमित ४६२ जना, ‘क’ वर्गका अपाङ्गता भएका तीन हजार ६८२, कुष्ठरोगी र जटिल खालको क्षयरोग लागेका २५ जनाले निःशुल्क स्वास्थ्य बिमाको सुविधा लिएको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीका दर्ता अधिकारी सुवास घिमिरेले जानकारी दिनुभयो । त्यस्तै ५० प्रतिशत छुटमा चार हजार ३६ महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य बिमा गराएको घिमिरेले जानकारी दिनुभयो ।

सबैभन्दा कम मदाने र बढी रेसुङ्गामा

जिल्लाका १२ स्थानीय तहमध्ये मदाने गाउँपालिकाका नागरिकले सबैभन्दा कम स्वास्थ्य बिमा गराएको पाइएको छ । मदाने गाउँपालिकामा दुई हजार ७६० जनाले बिमा गरे भने रेसुङ्गा नगरपालिकामा सबैभन्दा बढी २१ हजार ९४ जनाले बिमा गरेका छन् ।

सत्यवती गाउँपालिकाका १४ हजार २५३ जना, रुरुक्षेत्र गाउँपालिकामा १२ हजार ७८२, छत्रकोट गाउँपालिकामा ११ हजार ८२, चन्द्रकोटमा पाँच हजार ५६७, गुल्मी दरबारमा नौ हजार २५७, कालीगण्डकीमा छ हजार १३०, इस्मामा छ हजार ३८, धुर्कोटमा आठ हजार ६२१, मुसीकोट नगरपालिकामा छ हजार ७९७ र मालिका गाउँपालिकामा सात हजार २२० जनाले स्वास्थ्य बिमा गरेको कार्यालयले जनाएको छ । 

चन्द्रकोट गाउँपालिकाले नीति तथा कार्यक्रममै आर्थिक अवस्था न्यून भएका नागरिकको स्वास्थ्य बिमामा ५० प्रतिशत गाउँपालिकाले भुक्तानी गरिदिने नीति लिएको छ । हालसम्म २५० परिवारले गाउँपालिकाको सुविधाबाट लाभ लिएको बिमा बोर्डको सम्पर्क शाखा कार्यालयले जनाएको छ । २५० जनाको ५० प्रतिशत प्रिमियम अर्थात् पाँच लाख ५५ हजार चन्द्रकोट गाउँपालिकाले भुक्तानी गरेको छ । त्यस्तै मदाने गाउँपालिकाले पालिकाका सबै ६७ जना महिला स्वास्थ्य स्वयंसेविकालाई बिमामा सहुलियत गरिदिएको छ । 

त्यस्तै रेसुङ्गा नगरपालिका–३ र ४ ले ८३ परिवारको निःशुल्क स्वास्थ्य बिमा गराएको छ । नगरले दुई लाख ९७ हजार चार सय बजेट विनियोजन गरेर बिमाको लाभ आवश्यक रहेका ८३ घरपरिवारको स्वास्थ्य बिमा गराएको हो । परिवार सङ्ख्याका आधारमा तीन हजार पाँच सयदेखि चार हजार दुई सयसम्म प्रतिपरिवार बिमा रकम वडाले भुक्तानी गरेको छ ।

यता नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले ग्रामीणस्तरमा स्वास्थ्य बिमाबारे जानकारी गराउनुपर्नेमा जोड दिनुभयो । ग्रामीण स्तरमा अझै पनि स्वास्थ्य बिमाबारे थाहा नभएकाले यसका बारेमा सन्देशमूलक सूचना प्रकाशन र प्रसारण गर्नुपर्ने बताउनुभयो । स्थानीय सरकारले पनि अनुत्पादक क्षेत्रमा लगानी गर्नुभन्दा न्यून आय भएका नागरिकलाई स्वास्थ्य बिमा गरिदिने र बिमाको पहुँचमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

जिल्लाभित्र गुल्मी अस्पताल तम्घाससहित धुर्कोट, शृङ्गा, जोहाङ, रुरु प्राथमिक स्वास्थ्य केन्द्र र नेपाल नेत्र ज्योति सङ्घ जिल्ला आँखा उपचार केन्द्र, गुल्मीबाट बिमाको सुविधा पाउँछन् । जिल्लामा दुई दर्ता अधिकारी र  वडामा ९४ जना दर्ता सहयोगी रहेका छन् ।