• २ असोज २०८१, बुधबार

बखती कार्यकारी निर्देशकमा नियुक्त

blog

रमेशकुमार बखती ।

काठमाडौँ, साउन २८ गते । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा प्राविधिक शिक्षाका विज्ञ रमेशकुमार बखती नियुक्त हुनुभएको छ । 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का पूर्व निर्देशक भइसक्नुभएका बखती चार वर्षे कार्यकालका लागि नियुक्त हुनुभएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आह्वान गरेको खुला प्रतिस्पर्धाबाट उहाँ कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको हो । 

२०७५ सालमा स्थापना भएको प्रतिष्ठानले बेरोजगारी न्यूनीकरण गर्न स्वदेशमा नै रोजगारका अवसरहरू सृजना गर्ने तथा व्यावसायिक, सीपयुक्त एवं उद्यमशीलता विकास तालिमहरू सञ्चालन गर्दै आएको छ । 

साथै, सरकारले विभिन्न देशका सरकारसँग गरेको श्रम सम्झौता बमोजिम वैदेशिक रोजगारमा जाने व्यक्तिहरूलाई अभिमुखीकरण तालिम सञ्चालन गर्ने, स्थानीय माग आवश्यकता र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारमा रोजगारी सृजनाको सम्भावनालाई ध्यानमा राखी आधारभूत सीपमूलक तालिम, सीप अभिवृद्धि, उद्यमशीलता विकास,प्रशिक्षक प्रशिक्षण तथा र अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने लगायतका उद्देश्य पनि प्रतिष्ठानको रहेको छ । 

प्रतिष्ठानले स्थापना कालदेखि नै आधारभूत सीपमूलक तालिम, सीप अभिवृद्धि तालिम,उद्यमशीलता विकास तालिम,प्रशिक्षक प्रशिक्षण, पूर्व प्रस्थान अभिमुखीकरण, कार्यस्थलमा आधारित तालिम लगायत सञ्चालन गर्दै आएको छ । 

साथै प्रतिष्ठानले आफ्नै प्रयोगशालाबाट केश शृङ्गार, सिलाई कटाइ, विद्युत जडान,अटोमोबाइल तथा मोटरसाइकल मर्मत लगायतका तालिम पनि सञ्चालन गर्दै आइरहेको छ । कार्यकारी निर्देशकमा नियुक्त भएपछि बखतीले भन्नुभयो, “ प्रतिष्ठानबाट सञ्चालन हुने तालिम तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै मुलुकबाट बेरोजगारी अन्त्यका लागि लाग्नेछु ।”