• १६ भदौ २०८१, आइतबार

ऐन संशोधन र ओएनएममा मन्त्रालयले सहजीकरण गर्नुपर्छ

blog

तस्बिर : रासस

काठमाडौँ, साउन २८ गते । राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससको पुरानो ऐन संशोधन एवम् सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सहजीकरण गर्नुपर्ने बताउनुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित आर्थिक वर्ष २०८०/८१ को कार्यप्रगति समीक्षा बैठकमा राससका अध्यक्ष झाले कर्मचारीले पाउने उपादानको व्यवस्थालगायत विषयमा मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । उहाँले राससको चलअचल सम्पत्तिको परिचालन गरी संस्थालाई आत्मनिर्भर बनाउने योजनामा सरकारको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । 

राससले विगतमा प्रयोग गरेका सञ्चार सामग्री सङ्ग्रह गरी ‘सङ्ग्रहालय’ स्थापना गरेको जानकारी दिँदै कार्यकारी अध्यक्ष झाले ‘सङ्ग्रहालय’को स्थापनासँगै पठनपाठन संस्कृतिको विकास हुने र राससको इतिहास जोगाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्रालयका सहसचिव बाबुराम भण्डारीले मन्त्रालय मातहतका निकायले गत आवमा गरेको प्रगति एवम् समीक्षात्मक विवरण प्रस्तुत गर्नुभएको थियो । 

यसै क्रममा मन्त्रालय मातहतका सबै निकाय र विभागका प्रतिनिधिले संस्थागत राय राख्नुभएको थियो । नेपाल टेलिभिजनका अध्यक्ष समीरजङ्ग शाह र महाप्रबन्धक फुलमान बलले नेपाल टेलिभिजन दूरदराजसम्म पुगेर जनतालाई सुसूचित गरिरहेको बताउनुभयो । नेपाल प्रेस काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसालले काउन्सिलको उद्देश्यअनुरूप मन्त्रालयसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गोरखापत्र संस्थानका अध्यक्ष विष्णु सुवेदीले संस्थानको खर्च र आम्दानी सन्तोषजनक रहेको जानकारी गराउनुभयो । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्काले पर्याप्त स्रोत र साधन नहुँदा समिति चलायमान बनाउन चुनौती रहेको बताउनुभयो । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले विज्ञापन एजेन्सीले भुक्तानी लिँदा कानुनी प्रक्रिया पूरा गर्ने संस्कारको विकास गर्न जरुरी रहेको बताउनुभयो । रासस