• २ असोज २०८१, बुधबार

राष्ट्रिय युवा नीति भदौ भित्रै आउँछ : मन्त्री चौधरी

blog

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौँमा सोमबार आयोजित कार्यक्रममा बोल्दै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी ।

काठमाडौँ, साउन २८ गते । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय युवा नीति २०८१ भदौ महिनाभित्रै जारी हुने बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौँमा सोमबार आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । 

मन्त्री चौधरीले भन्नुभयो, ‘‘निकट भविष्यमै राष्ट्रिय युवा नीति जारी गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । सकेसम्म भदौ महिनाभित्रै ल्याउने जानकारी म तपाईंहरलाई गराउन चाहन्छु ।’’ उहाँले स्वस्थ, कर्मठ र उद्यमी युवा तयार पार्ने सङ्कल्प गर्न आवश्यक रहेको पनि बताउनुभयो । नेपाली युवाहरूको समस्या पहिचान र समाधानको बाटो पहिल्याउन आवश्यक रहेको उहाँको भनाई थियो । 

यस्तै मन्त्री चौधरीले सिर्जना, क्षमता र साहसको श्रोत मान्ने युवा वर्गलाई समयमै रोजगारी, सञ्चार, खाद्यान्न, शिक्षा, दीक्षा, जलवायु लगायतका महत्त्वपूर्ण विधामा भएको रूपान्तरणलाई आत्मसाथ गरी नवीनतम र सिर्जनात्मक प्राविधिक ज्ञानको प्रयोग गर्नुपर्ने अवसर र चुनौती थपिएको बताउनुभयो । 

उहाँले दिगो विकासका लक्ष्य प्राप्तिका लागि मोबाइल, उपकरण, डिजिटल प्लेटफर्महरू, आर्टिफिसियल इन्टलिजेन्स भएको विकासका महत्त्वपूर्ण साधन बनेको बताउँदै समृद्ध नेपालका लागि युवा र प्रविधिको उत्तम प्रयोग गर्न सक्नुपर्ने धारणा पनि राख्नुभयो । 

मन्त्री चौधरीले युवा तथा खेलकुद मन्त्रालयले नीतिगत रूपमा लिँदै आएको नेतृत्वदायी र समन्वयकारी भूमिकाबाट युवा उद्यमशीलतामा जोड दिनुभयो ।