• १६ भदौ २०८१, आइतबार

जम्बो मन्त्रीपरिषद् गठन गरेको भन्दै मधेस सरकार विरुद्ध 'सिट्ठी जुलुस'

blog

जनकपुर, साउन २८ गते । मधेस सरकारले जम्बो मन्त्रीपरिषद् गठन गरेको भन्दै समाजवादी युवा सङ्घ र समाजवादी विद्यार्थी युनियनले मधेस सरकार विरुद्ध सिट्ठी जुलुस निकालेको छ ।

जसपा नेपाल निकटको युवा सङ्गठन तथा विद्यार्थी सङ्गठनले संयुक्त रूपमा मधेस सरकारको जम्बो मन्त्रीपरिषद्लाई सानो आकारको बनाउन माग गर्दै जनकपुरधाम नगरभित्र सिट्ठी जुलुस निकालेर विरोध प्रदर्शन गरेको हो । 

आफूहरूले कुर्सी जुलुस निकालेर मधेस सरकारलाई जम्बो मन्त्रीपरिषद्लाई सानो आकारको बनाउनका लागि खबरदारी गरेपनि माग नसुनेकाले सिट्ठी जुलुस निकालेको समाजवादी युवासंघ मधेसका कार्यवाहक अध्यक्ष कमलेश यादवले बताउनुभयो । मुख्यमन्त्रीलाई पदमा बसिरहने अधिकार समेत नरहेको भन्दै राजीनामा माग गर्नुभयो । 

जनकपुरधामको जनकचौकबाट सुरु भएको विरोध र्‍याली मधेस भवनतर्फ अगाडि बढ्दा मिल्स एरियामा प्रहरीले अवरोध गर्न खोजेपनि युवा विद्यार्थीहरू प्रहरीको घेरा निस्तेज पार्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अगाडि पुगेर विरोध गरेका छन् ।