• २७ साउन २०८१, आइतबार

अवकाशप्राप्त सहसचिवको लोभलाग्दो फलफूल खेती

blog

कालिका कृषि फर्ममा व्यस्त अवकाश सहसचिव शुकदेव चौधरी । तस्बिर: जीवछ

जीवछ यादव

लहान, साउन २७ गते । लहान–१६ का अवकाशप्राप्त  प्राविधिक ऊर्जा सहसचिव शुकदेव चौधरी फलफूल खेती गरेर राम्रो आम्दानी मात्रै होइन,अन्य व्यक्तिहरूको लागि प्रेरणाको स्रोत बन्नु भएको छ । 

लहान–१६ चुरेको नजिक रहेको उत्तरी भेगमा चार विगहा आफ्नै जमिनमा कालिका कृषि फर्म दर्ता गराएर ड्रागन, आँप,लिची, कागती , अम्बा , स्याउ मेवा र माछा पालन गरेर राम्रो आम्दानी गर्ने सुरमा शुकदेव चौधरी देखिनुभएको छ । 

जल तथा ऊर्जा आयोगको सचिवालय सिंहदरबार काठमाडाैंमा कार्यरत रहनुभएको चौधरी २०७९ सालमा अवकाश हुनुभएको थियो । २०६५ सालमा ऊर्जासम्बन्धी विदेश भ्रमणमा छिमेकी मुलुक चीन गएको बेला ऊर्जा र कृषि सम्बन्धी अवलोकनबाट कृषिमा नेपालमा पनि केही गर्न सकिने प्रण लिएर अवकाश हुनुभन्दा चार वर्ष अगाडि नै कालिका कृषि फर्म दर्ता गराएर पूर्वाधारहरू तयार गर्न लागेको उहाँ बताउनुहुन्छ । 

अवकाशप्राप्त उप सचिव चौधरी भन्नुहुन्छ,‘सुरुमा तीन वटा गमलामा ड्रागन फल लगाएर फलाए, अवकाश भएपछि १५ कट्ठामा ६ सय पोलमा ड्रागन खेती सुरु गरे । एक वर्षदेखि उत्पादन भइरहेको छ । लगाएको लगानी सबै फिर्ता भयो । अव नाफा हुने अवस्था आयो । तीस दिनमा तयार हुने ड्रागन खेतीको लागि चाहिने अनुकूल वातावरण यस भेगमा रहेकोले चार प्रकारका ड्रागन उत्पादन भइरहेको छ । गत वर्ष लहान बजारमा बिक्री हुन समस्या थियो । यस वर्ष फर्मबाट नै ड्रागन लगिरहेको छ । गुगलबाट खोजेर प्राप्त ज्ञानलाई प्रयोग गरी आर्गेनिक मल प्रयोग मात्रै प्रयोग गरिरहेको छु ।’

अहिलेसम्म तीस लगानी गरेको चौधरीले भन्दै सुरुमा कृषि विकास बैङ्कलगायत अन्य बैङ्कहरूमा रिनको लागि प्रयास गर्दा बिचौलियाहरूको माध्यमबाट घुस मागेपछि रिन लिइने प्रक्रिया बन्द गरे । आफ्नै लगानीमा  बिस्तारै  लगाउँदै विभिन्न थरीको फलफूल उत्पादन गरेपछि लहान नगरपालिका कृषि शाखाबाट ७५ हजार अनुदान लहान एक्सपाेमा कृषि प्रदर्शनमा पुरस्कृत भएपछि झनै उत्साह बढेर बिहानदेखि बेलुकासम्म कृषि फर्ममा नै व्यस्त रहेको सुनाउनुभयो । उहाँ भन्नुहुन्छ,‘म यो फलफूल उत्पादन खेती आफ्नो आय आर्जनको लागि मात्रै होइन, अरू अवकाशप्राप्त कर्मचारी होइन चाहे किसान नै किन नहोस्, गरेपछि आफ्नै गाउँ ठाउँमा आय आर्जन गर्ने यस्तो उपायहरू छ भन्ने सन्देश पनि प्रवाह गर्न खोजेको छु ।

खास गरेर रोजगारीको लागि वैदेशिक रोजगारमा जाने युवाहरू सहकारीको माध्यमबाट पनि आफ्नै भूमिका रोजगारी पाउन प्रेरणा मिलोस् त्यो उद्श्यपनि लिएको छु । स्थानीय युवाहरूलाई उत्पादनको लागि प्रशिक्षित गर्ने कार्य पनि गरिरहेको छु ।’

लहान नगरपालिका कृषि शाखाका संयोजक तथा वडा नम्बर –१२ का वडाध्यक्ष बद्रीनारायण चौधरी भन्नुहुन्छ,‘म आफै कृषिको निर्देशक भएर अवकाशपछि दोस्रो कार्य वडाध्यक्ष भएको छु । लहान नगरपालिकाको कृषिलाई उद्योग र रोजगारीसँग जोड्न गृहकार्यमा लागेको बेला अवकाशप्राप्त सहसचिव शुकदेव चौधरीले थाल्नु भएको नमुना कृषि फर्मबाट लहान नगरपालिकाले एउटा कृषि प्रयोगशाला भेटाएको अनुभव गरेका छौँ । लहानको उत्तरी र दक्षिणी भेगमा धान, गहुँ, फलफूल तोरी, उखु पशुपालनको लागि कृषिलाई प्राथमिकतामा राखेर आउने आर्थिक वर्षको बजेट विनियोजनको लागि नगरपालिकाका जनप्रतिनिधिहरूसँग छलफल अघि बढाएका छौ ।