• १० मंसिर २०८१, सोमबार

बङ्गलादेशमा निम्तिएको सङ्कट

blog

बङ्गलादेश पाकिस्तानबाट अलग भएपछि पहिलो पटक राष्ट्रपति बनेका शेख मुजिबुर रहमानको सपरिवार हत्या हुँदा विदेशमा रहेका कारण बचेकी शेख हसिना बङ्गलादेशको प्रधानमन्त्री बनिन् । त्यसपछि त्यहाँ अर्को विपक्षी पार्टीकी पनि महिला नेतृ नै खालिदा जिया प्रधानमन्त्री बनिन् । बङ्गलादेशमा दुई बेगमको शासन चल्दै आयो । महिलाले पालैपालो सत्ताको नेतृत्व गर्दा पनि बङ्गलादेशका जनता र खास गरी आममहिलाको स्थितिमा खासै सुधार देखिएन । हुन त ब्रिटिस महिला प्रधानमन्त्री मर्गरेट थ्याचार, टेरेसा मेलगायतले शासन सत्ता चलाउँदा पनि त्यहाँका महिला र समग्र समाजमा उल्लेखनीय परिवर्तन नआएको इतिहासले दर्शाएको यथार्थ हो । 

ब्राजिलकी महिला राष्ट्रपति डिल्मा रुसेफ, इजरायलकी गोल्डामाएर, जर्मनीकी राष्ट्रपति एन्जेला मार्र्केल, फिलिपिन्सकी इमेल्डा मार्कोस, श्रीलङ्काका राष्ट्रपति र प्रधानमन्त्री कुमारतुङ्गा पकिस्तानकी प्रधानमन्त्री बेनजीर भुट्टोलगायत विश्वका २० देशका महिला प्रमुखबाट पनि कुनै उल्लेखनीय र आशालाग्दो अग्रगामी कदम चालेको पाउँदैनौँ । कतिपयलाई पूर्वाग्रहपूर्ण तरिकाले भ्रष्टाचारको मुद्दा लगाउने र बदनाम गर्न खोजे पनि ती निर्दोष साबित भएका छन् भने कतिपय देशका राष्ट्र तथा सरकार प्रमुख चुरीफुरी नदेखाउने, विलासी जीवन नबिताउने र जनताको सेवामा तल्लीन हुने गरेको इतिहास पनि छ । कहीँ कतै दुर्लभ अपवादलाई छोडेर सरकार तथा राष्ट्रप्रमुख जुनसुकै लिङ्ग या क्षेत्रको भए पनि वर्गीय शोषण र सामाजिक उत्पीडनको आधारभूत विषयमा भने खासै फरक आउने रहेनछ भन्ने कुराकै पुष्टि हुँदै आएको छ । त्यसमा बङ्गलादेश पनि अपवाद रहेन ।

ब्रिटिस साम्राज्यवादले भारत वर्ष छोडेर जाँदादेखि नै भारत वर्षलाई धर्मको नाममा देश दुई टुक्रा पारेर गएको भए पनि पाकिस्तानका मुस्लिम धर्मावलम्बीलाई त्यही बेला दुई भागमा विभाजित गरेर पूर्वी र पश्चिमी पाकिस्तान बनाएर छोडेको थियो । यद्यपि ती दुवै देश मुस्लिम बहुल र भारत हिन्दु बहुलका रूपमा खडा गरिएका थिए । धर्मले पनि थेग्दो रहेनछ भन्ने कुरा त पश्चिम र पूर्वी पाकिस्तान भाषाको आधारमा छुट्टिएर अलग बनेपछिको घटनाबाट नै प्रस्ट भएको हो । आन्तरिक र बाह्य साम्राज्यवादी षडयन्त्र र स्वार्थले गर्दा आज एउटै जाति, एउटै भाषा, एउटै संस्कृति र इतिहास भएको कोरिया दशकौँदेखि विभाजनको पीडा खेपिरहेकै छ । यी केही यस्ता जटिल र गम्भीर उदाहरण हुन्, जसको सही समाधान नखोजी राष्ट्र टुक्रने र जोडिने समस्याको हल हुन सक्दैन । 

शोषण, उत्पीडन र भ्रष्टाचार कायम राखेर विकासमा अर्थात् जिडीपीमा भारतको भन्दा दक्षिण एसियामा राम्रै आर्थिक प्रगतिको गतिमा देखिएको थियो बङ्गलादेश । तैपनि विद्यार्थी आन्दोलनले सत्तामा सङ्कट ल्याई शेख हसिनालाई बर्हिगमन हुन बाध्य पा¥यो । बढ्दो बेरोजगारी, स्रोतसाधन र पहुँचको वितरणमा पक्षपात गरिएकाले बङ्गबन्धु मानिएका बङ्गलादेशका हत्या गरिएका नेता शेख मुजिबकी छोरीले सत्ताको नेतृत्व गर्दा पनि उनको सम्मानित साख जोगिन सकेन । उनले पहिलाभन्दा भिन्न तरिकाले निकट छिमेकी भारत र चीनसँग सन्तुलित सम्बन्ध राखेकी थिइन् । सत्ताको नसाले उन्मत्त भएर पक्षपातपूर्ण व्यवहार र भ्रष्ट नीतिले गर्दा शेख हसिनाले रुँदै रुँदै सत्ता मात्र छोड्नु परेन देशै छोडेर भाग्नुपर्ने अवस्था उत्पन्न भयो । कहाँ सुरक्षित शरण पाउने हुन् अहिलेसम्म यकिन हुन सकेको छैन । 

पश्चिम पाकिस्तानको खाँ शासक परिवारद्वारा पूर्वी पाकिस्तानको स्रोतसाधन र त्यहाँका जनताको श्रममाथि एकलौटी शोषण चल्यो । उर्दु भाषा लाद्ने काम शासक वर्गले गर्न थाल्यो । पश्चिम पाकिस्तानी बङ्गाली भाषी मुस्लिमले यो कुरा स्वीकार्न पटक्कै मानेनन् । बङ्गाली भाषालाई नै आफ्नो मातृभाषा स्वीकारे । तत्कालीन पाकिस्तानको चुनावमा मुजिबुर रहमानलाई बहुमत प्राप्त भयो । त्यति हुँदाहुँदै पाकिस्तानका शासक वर्गले उनलाई प्रधानमन्त्री हुन नदिने प्रपञ्च रचे । ती सबै षडयन्त्रको पाकिस्तानी जनताले सशक्त विरोध जनाए । तब पनि पश्चिमा खाँ परिवारका शासकले टेरपुच्छर नलगाउने मात्र होइन दबाउने काम नै गरेपछि बङ्गालीभाषी पाकिस्तानीले चर्को विरोध गरे । त्यहीक्रममा पाकिस्तानबाट बङ्गलादेश छुट्टिन पुगेको थियो । त्यसमा पाकिस्तानसँग लडिरहने भारतको पनि हात थियो ।

यही बिचमा शेख मुजिबुर रहमानको परिवारको हत्या गरियो । त्यसपछि बङ्गलादेशको शासन सत्ता दक्षिणपन्थी इस्लामी मानिनेहरूको हातमा गयो । त्यो समस्याको सही दिशा र बाटो थिएन । केही समयको अन्तरालमा पुनः अवामी लिगको नाममा गठन गरिएको शेख मुजिबको पार्टी नै बङ्गलादेशको सत्तामा आयो । शेख हसिना प्रधानमन्त्री बनिन् । उनले केही अर्थमा शासन सत्ता सुधार्ने, मुलुकलाई आर्थिक प्रगतिको बाटो लैजाने, बङ्गलादेशलाई धर्म निरपेक्ष राज्य बनाउने र त्यहाँ रहेका करोडौँ अल्पसङ्ख्यक हिन्दुलाई पनि सुरक्षाको अनुभूति हुने कदमसमेत चालिन् । दक्षिणपन्थीलाई शिर उठाउन नदिने काम पनि गरिन् । भारतका साथै चीनसँग पनि सम्बन्ध सुधार्ने बाटोमा उनी लागिन् । भारतसँगको सीमा समस्या पनि केही सुधारिन् भने चीनको बिआरआईप्रति सहमति पनि जनाइन् । सत्ता च्यूत हुनुभन्दा एक साता अगाडि उनी चीनकै भ्रमणमा गएकी थिइन् । हिन्दु कार्ड खेलेर राजनीति चलाउने प्रयास गरिरहेको भारतीय जनता पार्टी र यसका नेता नरेन्द्र मोदी पनि हसिनाप्रति नरम बन्न बाध्य थिए । 

यति हुँदाहुँदै पनि मति बिग्रेपछि गति पनि बिग्रन्छ भने जस्तै स्थिति त्यहाँ उत्पन्न भयो । हसिनलाई आफूलाई कसैले छुन चलाउन नसक्ने भन्दै सत्ताको मात चढ्यो । विपक्षी र विरोधीलाई जबर्जस्ती जेलमा कोच्ने, मुद्दा चलाउने र ज्यादती गर्ने दमनकारी दिशामा उनी लागिन् । विपक्षीलाई चुनाव लड्न नै नदिने र उनको सबैभन्दा विरोध गर्ने विपक्षी पार्टी खालिदा जियालाई जेलमा कोचिन् । त्यो पार्टीलाई चुनावै लड्न नदिने अनेक हतकण्डा अपनाइन् । अर्को जमाते इस्लामी नामको पार्टीलाई पनि आतङ्ककारी घोषणा गर्न पुगिन् । त्यसको बङ्गलादेशमा केही प्रभाव थियो । यसरी हसिनाले हर किसिमले लोकतान्त्रिक अधिकारमाथि हला गर्दै आएकी थिइन् । उनको लोकप्रियता घट्दै गयो र अन्तत उनका विरुद्ध सारा बङ्गलादेश नै खनिन थालेको विश्लेषण हुन थाल्यो । त्यसका अतिरिक्त उनले १९७१ मा पाकिस्तान विरोधी आन्दोलनमा सहभागी भएकालाई मात्र सरकारी गैरसरकारी पदमा आसिन गराउन थालिन् । त्यसले गर्दा पनि विरोधको आगोमाथि घिउ थप्ने काम गर्दै गयो । फलतः शेख हसिना हटाउ आन्दोलनका रूपमा त्यहाँ आन्दोलन झन् चर्कियो । ‘शेख हसिना बङ्गलादेश छोड’ भन्ने उचाइमा आन्दोलन पुग्यो । सेनाले पनि उनको आदेश पालन गर्ने र जनता दबाउने बाटो लिन मानेन । यसरी अन्ततः उनको सत्ताको पतन भयो । उनी विदेश पलायन भइन्, नत्र मारिन सक्थिन् भन्ने त्यहाँको सेनाको आकलन थियो । उनी भारतमा शरण लिन पुगिन् । उनको भविष्य त अनिश्चित भएकै छ नै बङ्गलादेशकै भविष्य पनि यतिबेला सन्देहको घेरामा छ । बाह्य शक्तिले एसियाली देश शक्तिशाली भएको देख्न सक्दैन भन्ने आशङ्कालाई बल पुगेको छ । 

तानाशाही शासकीय शैली र राजनीतिक अस्थिरताका कारण बङ्गलादेश अनिश्चित र अन्योलपूर्ण स्थितिबाट गुज्रिरहेको छ । एसियाली देशले सुझबुझ पु¥याएनन् भने यो क्षेत्रको स्थिति हामीले सोचेभन्दा फरक हिसाबले अघि बढ्न सक्छ । त्यसैले पनि एसियाली मुलुक एकजुट भएर यहाँको राजनीतिक स्थिरतामा लाग्नु पर्छ । एसियाको पहिचान यसैमा निहित छ । 

   

Author

लोकनारायण सुवेदी