• १६ भदौ २०८१, आइतबार

जेभाले डाँडोमा देवीदेवताको प्रतिमा

blog

जेभालेको चट्टानमा निर्माण गरिएका सुम्निमा पारुहाङ, महादेव, चट्टान वाटिका र फाल्गुनन्दका आकृति । तस्बिर : राधा लुइटेल

फिदिम समाचारदाता

फिदिम, साउन २७ गते । पाँचथर फिदिम नगरपालिका–१३ स्थित जेभाले डाँडोका ठुलठुला ढुङ्गामा विभिन्न धर्ममा आधारित आस्थाका देवीदेवतासहित राष्ट्रिय झन्डा र राष्ट्रिय विभूतिका प्रतिमा निर्माण गरिएपछि यस डाँडोले सबैलाई लोभ्याउन थालेको छ । स्थानीयवासीको अग्रसरतामा सुम्निमा पारुहाङ, महादेव, गौतम बुद्ध, नेपालको राष्ट्रिय झन्डा र किराँत धर्मका प्रवर्तक तथा नेपालका १६ औँ विभूति फाल्गुनन्दको प्रतिमा बनाइएका छन् । 

पहरा सजाउने कामको नेतृत्व गर्नुभएको स्थानीय गजेन्द्र राईका अनुसार यहाँ निर्मित सुम्निमा र पारुहाङको प्रतिमा भएका स्थानलाई मुन्धुम पार्क नामकरण गरिएको छ । सुम्निमा र पारुहाङ किराँत राई समुदायले मान्ने आस्थाका देवता हुन् । मुन्धुम स्थलमा सुम्निमा र पारुहाङसँगै दुई वटा चिन्डो र राई यायोक्खाको झन्डा कुदिएको छ ।

त्यस्तै नजिकै हिन्दु धर्ममा आधारित महादेवको भीमकाय प्रतिमा कुँदिएको छ । यसको नामकरण गर्न बाँकी छ । यस्तै बौद्धधर्म दर्शनमा आधारित भगवान् गौतम बुद्ध र नेपालको राष्ट्रिय झन्डा रहेको क्षेत्रलाई चट्टान बाटिका नामकरण गरिएको राईले बताउनुभयो । चट्टान बाटिकादेखिमाथि किराँत धर्मका प्रवर्तक तथा नेपालका १६ औँ विभूति फाल्गुनन्दको प्रतिमा कुँदिएको छ । प्रतिमाको औसत उचाइ सात फिट छ । जेभाले क्षेत्रमा प्राचीन महादेव गुप्तेश्वर थान पनि छ । भीमकाय गुफा, ओडार र ढुङ्गा छन् । ढुङ्गामा पुराना आकृति देख्न सकिन्छ ।