• २७ साउन २०८१, आइतबार

ज्ञान नहुँदा सर्पलाई शत्रु ठान्छन् मान्छे

blog

सर्प उद्धार गर्दै गणेश साह ।

विजयकुमार साह 

ढल्केबर, साउन २७ गते । सर्पले मान्छेलाई मार्छ भन्ने आम बुझाइ छ तर एउटा विषालु सर्प हजारौँ मानिसको जीवनको रक्षक हुन्छ भन्ने कमैलाई थाहा छ । त्यस्तो ज्ञानको अभावमा मानव र सर्पबिच द्वन्द्व चल्ने गरेको छ । फलतः हजारौँ सर्प मान्छेबाट मारिन्छन् र सर्पको डसाइबाट बर्सेनि धेरै मानिसको ज्यान जाने गरेको छ ।

सामान्यतः मान्छेले सर्पले डस्नुभन्दा पनि डस्छ र मरिन्छ भन्ने त्रासका कारण सर्पलाई मार्ने गरेको पाइन्छ । यो सर्प र मानवको शत्रुतापूर्ण अवस्था हो । धनुषाको धनुषाधाम नगरपालिका–५, किसानपुरका गणेश साहले भने सर्पसँग ‘मितेरी’ गाँस्नुभएको छ । उहाँको ‘मितेरी’ सर्पको उद्धारबाट भएको हो । २३ वर्षीय साहले १४ वर्षको उमेरदेखि नै सर्पको उद्धार गर्न थाल्नुभएको हो । हिजोआज गाउँघरमा सर्प देख्नासाथ उहाँकै खोजी हुन्छ । यो क्रम २०७० सालदेखि निरन्तर छ । 

उहाँको उद्धार यात्रा मधेश प्रदेशमा मात्र र उहाँको काम उद्धारमा मात्र पनि सीमित छैन । सर्प आफ्ना लागि मात्र मित्र नभएर सम्पूर्ण मानव जातिको नै संरक्षक हुने गरी उहाँ चेतना पनि फैलाउनुहुन्छ । त्यसका लागि उहाँको सूत्र सामान्य छ, सर्पको विषको औषधी सर्पको विष नै हुने तथ्य उद्धारको क्रममा उहाँ जानकारी दिनुहुन्छ । एउटा विषालु सर्पको विषबाट बनाइने एन्टी स्नेक भेनम त्यस्तै विषालु सर्पले डसेका धेरैको जीवनरक्षक औषधी बन्ने उहाँ जानकारी गराउनुहुन्छ ।

सर्प उद्धार गर्न लाग्ने खर्च पनि उहाँ आफैँ जुटाउनुहुन्छ । उहाँ नजिकको ठाउँमा आफ्नै खर्चमा पुगेर सर्पको उद्धार गर्नुहुन्छ । टाढाबाट बोलाउँदा भने आउनेजाने खर्च पाउनुहुन्छ । उहाँ उद्धार गरिएको ठाउँमा स्थानीयलाई सर्पबारे जानकारी पनि गराउँदा नेपालमा पाइने सर्पको नालीबेली बताउनुहुन्छ । उहाँका अनुसार नेपालमा ८० प्रजातिका सर्प पाइन्छन् । त्यसमध्ये १८ प्रजातिका विषालु र बाँकी विषरहित हुन्छन् । उहाँ सर्पलाई मार्दा पर्यावरणमा ठुलो क्षति पुग्ने सर्वसाधारणलाई जानकारी गराउनुहुन्छ । 

उहाँले सर्प उद्धार गर्न मधेश प्रदेशका आठै जिल्लासँगै कोशी, बागमती, र गण्डकी प्रदेशसम्म विभिन्न जिल्ला पुगेर दुई हजारभन्दा बढीको उद्धार गर्नुभएको छ । उहाँले भन्नुभयो, “जहाँबाट खबर आए पनि पुग्ने गरेको छु । उद्धार गरेका सर्पमा पहिलो पटक भेटिएका दुई सेता सर्प र लोपोन्मुख राजगोमनसहित अन्य विभिन्न विषालु सर्प छन् । उद्धार गरिएका सर्प नजिकको जङ्गलमा लगेर छाड्ने गरेको छु ।”

साहले उद्धारका क्रममा अहिलेसम्म जोखिमको अवस्था नआएको बताउनुभयो । उहाँले नौ वर्षको अवधिमा दुई हजार २८१ वटा सर्पको उद्धार गरेको बताउनुभयो । उहाँलाई सर्प उद्धारकर्ता तथा मिथिला वाइल्डलाइफ ट्रस्ट धनुषाका अध्यक्ष देवनारायण मण्डलले सर्प उद्धार गर्न सिकाउनुभएको हो । उहाँले सर्प उद्धारसँगै तालिम पनि दिने गरेको बताउनुभयो । साहले भन्नुभयो, “सुरुमा सर्प उद्धार गर्ने टोलीमा काम गरेँ । आफँै काम गर्न थालेको चाहिँ नौ वर्ष भयो ।” साहले सर्पसँग किशोरावस्थामै घनिष्ठ हुनुभयो । उहाँले सामाजिक कार्यसँगै स्नातक तह तेस्रो वर्षको पढाइ पनि गरिरहनुभएको छ । 

चुरेको सर्प मानव बस्तीमा

चुरे क्षेत्रमा बढ्दो मानव अतिक्रमण र वनविनाशका कारण विषालु सर्प मानव बस्तीमै भेटिन थालेका छन् । चुरे क्षेत्र सर्पको उचित बासस्थान हो । सर्प उद्धारकर्ता साहका अनुसार पछिल्लो समय चुरे क्षेत्रको मानव बस्तीमा राजगोमन (किङ कोब्रा) सर्प देखिन थालेका छन् । 

उहाँले सर्प उद्धार कार्यमा लामो समयदेखि लागेको भए पनि जागिर र आय सुनिश्चित नभएको बताउनुभयो । उहाँले मधेश सरकार र यहाँका सरोकारवाला निकायले आफ्नो प्रतिभा चिन्न नसकेको गुनासो सुनाउनुभयो । उहाँले भन्नुभयो, “अरू प्रदेशमा जागिरका लागि बोलाइरहेका छन् तर अहिले अध्ययनरत छु । अध्ययन पूरा भएपछि प्रदेश छाडेर जान्छु । यहाँ प्रतिभाको कुनै कदर छैन ।” 

नयाँ प्रजातिका सर्प भेटिए

सर्प उद्धारकर्ता साहले सर्प उद्धारको क्रममा नयाँ प्रजातिका दुई वटा सर्प भेट्टाउनुभएको छ । करेत प्रजातिका ‘ल्युसिस्टी’ नामक सेतो रङका दुई वटा सर्प भेटिएको उहाँले बताउनुभयो ।

यो सर्प संसारमै पहिलो पटक भेटिएको रेकर्ड गरिएको साहले दाबी गर्नुभयो । अप्रिल २५, २०२० मा धनुषाको धनुषाधाम नगरपालिका–७, किसानपुरमा पहिलो पटक एउटा सर्प भेटिएको थियो । त्यसको एक महिनापछि सोही ठाउँमा अर्को सर्प पनि भेटिएको उहाँले बताउनुभयो ।