• १० मंसिर २०८१, सोमबार

विज्ञान ज्ञाताको साहित्यिक मोह

blog

८७ वर्षको उमेर चानचुने होइन । ललितपुर सानेपावरपर, बजारतिर होस् चाहे प्रभातकालीन हिँडाइमा होस् उहाँ भेटिनुहुन्छ सडकतिर । साथीभाइ भेट्ने क्रम यथावत् छ, अध्ययन र लेखन त छँदै छ । अनि भान्सामा पनि समय दिन उहाँ पछि पर्नुहुन्न, अघि सर्नुहुन्छ । वनस्पति विज्ञानका कुरा गर्नु प¥यो र सोध्न खोज्नेका लागि मात्र होइन काठमाडौँको संस्कृति र सम्पदाका बारेमा, समाजशास्त्रका बारेमा बुझ्न खोज्नेका लागि पनि उहाँको समय बित्ने गर्छ । जीवनको आधा उमेर अङ्ग्रेजीमा लेखेर बित्यो तर लेखन अनुसार नाम र पाठक त्यति कमाउनु भएन । विसं २०३६ मा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा प्राज्ञ बनेर पुगेपछि साहित्यिक सम्बन्धले नेपालीमा लेख्न सुरु गर्दै जाँदा डा. तीर्थबहादुर श्रेष्ठको परिचयको अर्को पाटो पनि खुल्न पुग्यो । वनस्पतिविद् वैज्ञानिक भनेर चिनिँदै आएका उहाँको व्यक्तित्वको अर्को पाटो थपियो– लेखक डा. तीर्थबहादुर श्रेष्ठ भनेर । 

५१ वर्षदेखि बस्दै आएको सानेपास्थित आफ्नै निवासमा ५६ वर्षअघि वैवाहिक जीवनमा बाँधिनुभएकी जीवनसङ्गिनी तिमिला श्रेष्ठ (दली) सँगै बसेर उहाँ आफ्नै लेखनको अतीत पल्टाउनुहुन्छ– पहिले त म अङ्ग्रेजीमा लेख्थेँ । प्रज्ञा–प्रतिष्ठानमा पुगेपछि त्यतिबेलै कविताका माध्यमबाट चर्चाको शिखरमा पुगिसक्नुभएका दौँतरी भूपी शेरचनले मलाई तपाईंले अङ्ग्रेजीमा लेखेको पढ्ने कति छन् ? पढे पनि बुझ्ने कति छन् भन्दै नेपालीमा लेख्न थाल्नूस् भनेर आग्रह गर्नुभयो । त्यतिबेलै प्रसिद्ध साहित्यकार माधव घिमिरे, विजय मल्लले पनि नेपालीमा लेख्न प्रेरित गर्नुभयो । यसपछि मैले नेपालीमा पनि लेख्न थालेको हुँ । 

विज्ञानलाई सहजीकरण गरेर नेपालीमा लेख्ने लेखकका रूपमा आफूलाई सुपरिचित गराउने डा. श्रेष्ठ यही लेखनले २०६३ सालको जगदम्बाश्री जस्तो गरिमामय पुरस्कारसमेत पाउन सफल हुनुभयो । वैज्ञानिक भएर पनि साहित्यिक संवेदना बोक्ने वाङ्मय साधकका रूपमा परिचित उहाँलाई विज्ञानको ज्ञान नेपालीमा पस्केर नेपाली भाषाको सेवा गरेबापत जगदम्बाश्रीबाट सम्मानित गरियो । विज्ञानका कुरालाई सरल र रोचक पाराले नेपाली पाठकसमक्ष प्रस्तुत गर्ने श्रेय उहाँलाई जान्छ । से फोक्सुन्डोको बारेमा लेख्ने, प्रज्ञा–प्रतिष्ठानमा विज्ञानतर्फबाट पहिलो प्राज्ञ बन्ने, बालबालिकाका सहज जिज्ञासालाई वैज्ञानिक तवरले सहज उत्तर दिएर पुस्तक लेख्ने लेखकका रूपमा उहाँले अलग स्थान बनाउनुभएको छ । 

काठमाडौँको महाबौद्धमा विसं १९९४ साल असोजमा जन्मिनुभएका श्रेष्ठको विद्यालय शिक्षा दरबार हाइस्कुलमा पूरा भयो । यसपछि त्रिचन्द्र कलेजमा अघि बढेको उच्च शिक्षा भारतको अलिगढ मुस्लिम विश्वविद्यालय हुँदै कर्णाली क्षेत्रको वन वनस्पति र पर्यावरण विषयमा शोध गरी २०३४ सालमा फ्रान्सको ग्रनबेल विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभयो । २०१७ सालमै त्यतिबेलाको वनस्पति फाँटमा महिनाको १८० रुपियाँ तलबबाट जागिरे जीवन सुरु भयो उहाँको । जागिरे जीवनसँगै खोज, अनुसन्धान, अध्ययन भ्रमण पनि त्यत्तिकै बढ्न थाल्यो । यसैबिच २०३६ सालमा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा पहिलो पटक विज्ञानतर्फको प्रतिनिधित्व गर्दै प्राज्ञ बन्न पुगेपछि २०४७ सालमा सदस्यसचिव भएर प्रज्ञा प्रतिष्ठानबाट बिदा भए पनि उहाँ आजीवन सदस्यका रूपमा रहनुभएको छ । औपचारिक अध्ययनको विषय वनस्पतिशास्त्रसँग सम्बन्धित निकायहरू दी माउन्टेन इन्स्टिच्युट, इसिमोड, राष्ट्रिय प्रकृति संरक्षण कोष, विश्व संरक्षण कोष, विश्व वन्यजन्तु कोष, वनस्पति विभागमा जीवनको लामो समय बिताउनुभयो उहाँले ।  

श्रेष्ठले कविता कहिल्यै लेख्नुभएन तर कवितालाई माया गर्ने सम्मान गर्ने उहाँको लेखनै प्रायः कविता उद्धरणबाट थालनी हुन्छ । भाषाविद् भनेर उहाँको छुट्टै चिनारी छैन र पनि उहाँ भाषामा खेल्नुहुन्छ र यसको महत्व देख्नुहुन्छ । जगदम्बाश्रीद्वारा सम्मानित हुँदा उहाँले अभिव्यक्त गर्नुभएको केही अंश मात्र अघि सार्दा अझ स्पष्ट हुन्छ– बुढा मरे भाका सरे भन्दछन् । भाषा मरे के हुन्छ ? आमा मम्मी बन्ने र बुवा ड्याडी बन्ने मात्र त होइन होला । त्यसबाट हाम्रो आफ्नै ज्ञान, विज्ञान र प्रविधि अनि कला, साहित्य, संस्कृति पनि ह्रास हुन थाल्दछ । लगभग सय वा अझ बढी भाषाभाषीले समृद्ध हाम्रो देशमा कतिपय भाषा लोप पनि भए होलान्, जसले गर्दा त्यसमा निहित ज्ञानविज्ञान पनि स्वतः लोप भएको हुनु पर्छ । पाताल पस्ने पाताल छाँगोलाई डेभिडफल वा देवी फल वा जेसुकै फल भने पनि त्यहाँ छाँगोको आफ्नो प्रकृति र पोखराको भूगोलसम्बन्धी यथा–अर्थ लोप हुन्छ । मकालु पर्वातारोहण नाकामा पर्ने ‘खोडमा ला’ अर्थात् हिमकुखुराको भन्ज्याङ अचेल ‘सिप्टन ला’ बन्न पुगेको छ, हाम्रो पर्यटन नक्सामा । स्थानविशेषको वातावरण र जीवविज्ञानको ज्ञान एक पर्वातारोहीको नाममा विलय हुन पुग्छ । शरीरको पूरा वजन थाम्ने नलीहाडको शक्ति भएको काठ ‘त्वानासी’ भन्ने नेवारी शब्द अचेल टुँडाल बनेर बार्दली र पालीको भार थाम्दै छन् । भोलिका मिस्त्रीले टुँडाल बनाउँदा कुन जातको काठ छान्नु पर्छ भन्ने प्राविधिक ज्ञान अब भाषाबाट प्राप्त हुँदैन । तसर्थ भाषा मरे ज्ञान मर्छ र त्यसभित्रको विज्ञान पनि लोप हुन्छ । हाम्रा भाषा, साहित्य, कला, संस्कृतिमा यस्ता ज्ञान अनुबन्धित छन्; तिनलाई उजागर गरी संरक्षण, संवर्धन र विकास गर्ने अवसरलाई समयमै भजाउन सक्नु परेको छ । यस कार्यमा नेपाली वाङ्मयको ठुलो भूमिका छ भन्ने मेरो मान्यता छ । 

डा. श्रेष्ठलाई बालविज्ञान प्रश्नोत्तर किताबले लोकप्रिय मात्र बनाएन, बालबालिकामाझ पनि चिनायो । ‘नेपाल नखुलेका पाटाहरू’ नामक विज्ञान–विचार लेखसङ्ग्रहले पनि चर्चामा पु¥यायो । डा. श्रेष्ठ विज्ञानका कुरा मात्र लेख्नुहुन्न, संस्कृति र सम्पदाका बारेमा पनि लेख्नुहुन्छ । हाम्रो दिनचर्यासँग जोडिएका विषय पनि जोडिन्छन् उहाँको लेखनसँग । पारिजात र शिरीषको फूल, दिव्योपदेश आदि विषय पनि समेट्नुहुन्छ उहाँ । एउटै बसाइमा भूपी शेरचनका बारेमा धाराप्रवाह रूपले बोल्न सक्नुहुन्छ । बालकृष्ण सम, माधव घिमिरे, विजय मल्ल, नयराज पन्त, सिद्धिचरण श्रेष्ठ, ढुण्डीराज भण्डारी आदि कैयौँ इतिहासकार, साहित्यकारसँगका अथाह संस्मरण छन् उहाँसँग । आफैँले बनाएको व्यक्तित्वका पाटाहरूलाई कुन रूपमा औँल्याउन चाहनुहुन्छ ? आफ्नैबारेमा आफैँ मूल्याङ्कन गर्न अलि असहज बन्दै भन्नुहुन्छ, “विज्ञानलाई सरलीकरण गरेर नेपालीमा अभिव्यक्त गर्ने व्यक्तिका रूपमा धेरैले चिन्छन् र मेरो यही लेखनलाई धेरै रुचाइयो पनि ।” 

विज्ञान र साहित्यका, संस्कृति र सम्पदाका कुरा मात्र होइन; उहाँको चासो हाम्रो जीवनसँग जोडिएका तर हामीले पहिले अर्थ र महTव नबुझेका सांस्कृतिक पक्षमा पनि त्यत्तिकै छ– हाम्रा पुरानो संस्कृतिलाई रिभाइभ गर्ने चाहना धेरैको छ । हाम्रो समयमा त्यसको महìव त्यति थिएन वा हामीले बुझ्न सकेनौँ वा बुझेर पनि महìव दिएनौँ । मैले भन्न खोजेको के भने हामीले उहिल्यैदेखि तुलसी रोप्दै आयौँ, रोप्यौँ । बेलाबखत जल चढायौँ, पूजा ग¥यौँ । यतिमै त सीमित गरियो । मलाई लाग्छ, हामीले त्यो चलनको महत्व बुझ्न सकेनौँ । त्यसको महìव र फाइदा बुझ्न सकेनौँ, त्यसको बारेमा विस्तृत ज्ञान भएन । यस्ता अनेकौँ पक्ष छन् हामीमाझ । अब तिनको महìवबारे पनि कलम चल्नु पर्छ । 

डा. श्रेष्ठका अथाह ज्ञान, अनुभव सबै लिपिबद्ध गर्ने हो भने त्यसले हाम्रा वाङ्मयमा मात्र नभई विविध क्षेत्रमा महìवपूर्ण योगदान पु¥याउने छ । म आशावादी बनेर उहाँतिर फर्कन्छु । उमेरले ८७ टेकिसकेका उहाँ भन्नुहुन्छ, “पहिले जस्तो लेखनमा गति त्यति अघि बढाउन सहज छैन अचेल । मलाई पहिलेदेखि नै एउटा लेख लेख्न कम्तीमा ८/१० दिन लाग्ने गथ्र्यो र लेख्न बस्दा सन्दर्भ सम्पूर्ण कृति हात नपरेसम्म चित्तै बुझ्दैन । एउटा लेख लेख्दा सन्दर्भ पुस्तक जुटाउन पनि त्यत्तिकै समय लाग्छ । नेपालको जैविक भूगोलको पुनरवलोकन जति हामीलाई थाहा छ, त्यति नै अथाह छ ।” 

पुरस्कार र सम्मानका सन्दर्भमा विश्व वन्यजन्तु कोषलगायत विभिन्न निकायबाट पुरस्कृत र सम्मानित भइसकेका डा. श्रेष्ठ आफ्नै लेखनबाट सम्मानित बनिसक्नुभएको नाम हो । कतिपय पदक, सम्मान पाउनेमा उहाँको नाम आए पनि औपचारिक पत्र नपाएर त्यस्ता पदक, पुरस्कार लिन नगएका पनि थुप्रै उदाहरण छन् । समाज र संस्कृतिलाई, विज्ञान र प्रविधिलाई गहन रूपले अध्ययन गरेका उहाँ पहिले जस्तो समाज, छिमेक अहिले आफूले नपाएकोमा खिन्न हुनुहुन्छ । जीवनको यो उमेरसम्म आइपुग्दा पनि जीवनसँग जोडिएका अनेकौँ पक्षमा चासो राखेर आफ्नो अभिव्यक्ति दिनुहुने डा. श्रेष्ठ यो समयले पाएको उल्लेख्य व्यक्तित्व हो ।  

Author

जयदेव भट्टराई