• १० मंसिर २०८१, सोमबार

‘छिन्नमस्तालाई समृद्ध धार्मिक स्थल बनाउने छौँ’

blog

स्थानीय तह पुनर्संरचना आयोगको सिफारिस अनुसार २०७३ सालमा स्थापना भएको सप्तरीको छिन्नमस्ता गाउँपालिकाको नाम प्रसिद्ध छिन्नमस्ता भगवती शक्तिपीठको नामबाट नामङ्कन गरिएको छ । गाउँपालिकाको दक्षिणमा भारतीय सीमा, पूर्वमा तिलाठी कोइलाडी गाउँपालिका र उत्तरमा विष्णुपुर गाउँपालिका र पश्चिममा राजगढ गाउँपालिका र भारतीय सीमा क्षेत्रसँग जोडिएको छ । साबिक बरही वीरपुर, कोचाबखारी, छिन्नमस्ता र लालापट्टी गरी चार वटा गाविस मिसाएर गठन भएको यस गाउँपालिकामा सात वटा वडा छन् । स्थानीय तहको दोस्रो निर्वाचनमा पालिकाको अध्यक्षमा निर्वाचित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका बिघानन्द चौधरीसँग गोरखापत्रका सप्तरी समाचारदाता देवरामप्रसाद यादवले गर्नुभएको कुराकानी :

 गाउँपालिका अध्यक्षका रूपमा काम गर्नुभएको दुई वर्ष अवधिलाई स्वयं कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

छिन्नमस्ता गाउँपालिकालाई आर्थिक रूपमा समृद्धि बनाउन, सामाजिक रूपान्तरण गर्न र गाउँपालिकाले आत्मसात् गरेको नारा ‘समृद्ध छिन्नमस्ताको आधार, कृषि, पर्यटन र दिगो पूर्वाधार’ लाई सार्थक तुल्याउन विगत दुई वर्ष निकै महìवपूर्ण रह्यो । यो अवधिमा यहाँको भौतिक पूर्वाधार, शिक्षा, पर्यटन, स्वास्थ्यमा सुधार भएको छ । शिक्षा, स्वास्थ्य र सरसफाइलाई पनि प्राथमिकतामा राखेर काम भइरहेको छ । गाउँवासीमा परेको समस्याको समाधान, सार्वजनिक जग्गाको अतिव्रmमण रोक्ने काम भएको छ । यी दुई वर्षमा हामी ऐन, कानुन र कार्यविधि निर्माणमा पनि बढी केन्द्रित भयौँ । अहिले हामीलाई आवश्यक पर्ने धेरै जसो ऐन, कानुन र कार्यविधि बनिसकेकाले आगामी दिनमा सहज ढङ्गले काम गर्न सक्ने भएका छौँ । 

जनतासामु गरिएका प्रतिबद्धता पूरा गर्न के कस्ता काम भइरहेका छन् ?

 हामीले चुनावका बेला जनतामाझ गरेका प्रतिबद्धता अनुसार किसानको जीवनस्तर सुधार गर्न कृषिमा विद्युतीकरणको काम सुरु भएको छ । किसानको खेत खेतमा विद्युत् लाइन जडान हुन्छ । ग्रामीण बेरोजगार महिलाका लागि सिप र रोजगारीसहितको एकीकृत योजना ल्याउने तयारी गरेको छु । अब परिणाम देखिने गरी काम हुने छ ।

विद्यालय शिक्षा सुधारका लागि के गरिरहनुभएको छ ?  

पहिले जस्तो शिक्षकमा अनुशासनहीनता र विद्यालय नै नआई तलब खाने परिपाटीको अन्त्य भएको छ । म आफैँ विद्यालयको अनुगमनमा निस्किरहेको हुन्छु । दिवा खाजामा विगतमा हुँदै आएको अनियमितता रोकिएको छ । गाउँपालिकाभित्रका १९ वटै सामुदायिक विद्यालयमा नियमित पठनपाठन हुन्छ । विद्यालयमा शिक्षकको दरबन्दी मिलानको काम भएको छ । 

गाउँपालिकाका जीर्ण र साँघुरा सडक सुधारका लागि के गर्दै हुनुहुन्छ ? 

हामी निर्वाचित भएर आएपछि सङ्घ प्रदेश र पालिकाको समेत बजेटबाट सडक ढलान, नयाँ सडक निर्माण गरेका छौँ । आर्थिक वर्ष २०८१÷८२ मा पालिकास्तरीय सडक निर्माण थालनी हुने छन् । यहाँको सडक चौडा पार्न ठुलो चुनौती छ तर पनि हामीले त्यसको सुरुवात गरेका छौँ । चेतनाको कमीले गर्दा यहाँका बासिन्दाले सडकमा फोहोर गर्ने गरेका छन् । जनचेतना अभिवृद्धि भएपछि यी समस्या विस्तारै हट््ने छ ।  

सामाजिक न्यायतर्फ के काम भइरहेको छ ? 

सामाजिक न्यायका लागि उपाध्यक्षको नेतृत्वमा रहेको न्यायिक समितिमा आइपुगेका मुद्दाको छिनोफानो गरेर सामाजिक न्याय दिलाउन सफल रहेको छ । सामाजिक माहोल बनाउन शान्तिपूर्ण रूपमा अगाडि बढ्दा नै भौतिक विकास सार्थक हुने भएकाले यस क्षेत्रमा पनि अपेक्षाकृत राम्रो काम भएको छ । भौतिक विकाससँगै सामाजिक न्याय भएको नमुना गाउँपालिका बनाउने हाम्रो साझा लक्ष्य छ । न्यायिक समितिमा आएको उजुरीमा अधिकांश मेलमिलापबाट समाधान भएका छन् । मेलमिलाप हुन नसकेका केही उजुरी अदालत जाने गरेका छन् । त्यस्तो कुनै ठुलो समस्या आइपरेको छैन । 

कर्मचारी र जनप्रतिनिधिबिच समन्वय कस्तो छ ? 

धेरै जसो स्थानीय तहमा कर्मचारी र जनप्रतिनिधिबिच खटपटका कुरा बेलाबखत सुन्छु । हाम्रो गाउँपालिकाको कामकाज गरिरहँदा अहिलेसम्म त्यस्तो ठुला मनमुटाव र विवाद भएको छैन । कर्मचारी र जनप्रतिनिधि मिलेर काम गरिरहेका छौँ । 

स्वास्थ्य सेवाका लागि के के काम भएको छ ? 

स्वास्थ्य क्षेत्रमा पनि राम्रै काम भइरहेको छ । वडा नं. १ बरहीवीरपुर, वडा न.ं ५ लौखरम, वडा नं. ३ सखडामा बर्थिङ सेन्टर स्थापना गरेर प्रसूति सेवा दिइरहेको छ । स्वास्थ्य संस्थाबाट ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरीका लागि जटिल प्रकारका अवस्थामा निःशुल्क एम्बुलेन्स सेवा प्रवाहलगायतका काम गरिरहेका छौँ । विपन्न दलितलाई स्वास्थ्य उपचारका लागि स्वास्थ्य शाखाबाट सहयोग भइरहेको छ । स्वयंसेविकाहरूलाई सव्रिmय बनाउने, उच्च मनोबलका साथ काम गर्न स्रोतसाधनले भ्याएसम्म परिणाम दिइने गरी काम भइरहेको छ । 

गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छानबिन र स्थलगत अनुगमन गरेको छ । यसलाई कसरी हेर्नुभएको छ ?

अख्तियारको टोली आएर आयोजना अनुगमन गरेर मेरो आँखा पुग्न नसकेको ठाउँमा निगरानी गरेर गाउँपालिकाको सम्पूर्ण टिमलाई सचेत गराएको छ । यसले मलाई सहयोग भएको छ । योसँगै कामै नगरी भुक्तानी लिन चाहनेलाई पनि सजग गराएको मैले ठानेको छु ।

गाउँपालिकाको ठुला योजना र कार्यक्रम के के छन् ?

हामी सीमित स्रोतसाधनका कारण यसले धेरै ठुल्ठुला योजना र कार्यव्रmम बनाउन सक्दैन । हामीले जनतासँग प्रत्यक्ष सरोकार राख्ने कृषि, शिक्षा, स्वास्थ्य, सरसफाइ, विकास जस्ता विषयमै काम गर्नुपर्ने हुन्छ । शिक्षा यस गाउँपालिकाको पहिलो प्राथमिकतामा पर्छ । शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै बजेट विनियोजन गर्दै आएका छौँ । 

तपाईंले कृषि र पर्यटनका क्षेत्रमा के कस्तो कार्य गर्नुभएको छ ?

आकासे पानीको भरमा खेतीपाती गर्दै आएका किसानका लागि सिँचाइ सुविधा अगाडि बढाएका छौँ । भौतिक संरचना निर्माणमा सडक, पुल, पुलेसा, नालालगायतका काममा तीव्रता दिइएको छ । त्यस्तै पर्यटन पूर्वाधार निर्माण, संरचनाको मर्मतसम्भारका कार्य गर्दै आइरहेको छ । पर्यटकीयस्थलमा सडक पहुँच पु¥याउन प्रयास भएको छ । लालेश्वरनाथ मन्दिर, सन्तोशी मन्दिर, रामजानकी मन्दिर, दिनाभद्री मन्दिर, कृष्ण मन्दिरको धार्मिक तथा सांस्कृतिक पक्षलाई उजागर गर्दै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्दै लगिने छ ।

छिन्नमस्ता भगवती मन्दिरको विकासलाई कसरी हेर्नुभएको छ ?

छिन्नमस्ता गाउँपालिकाको समृद्धिको प्रमुख आधार भनेको धार्मिक पर्यटन नै हो । वार्षिक हजारौँ भक्तजन आउने छिन्नमस्ता मन्दिरलाई व्यवस्थित तथा आकर्षित बनाउन गुरुयोजना बनाएर काम गर्दै छौँ । छिन्नमस्ता, राजविराज र हनुमाननगर कङ्कालिनीलाई धार्मिक सर्किटका रूपमा जोड दिइने लक्ष्य छ । यहाँका होटेललाई पर्यटनमैत्री बनाउन, आतिथ्यसम्बन्धी तालिम दिन थालेका छौँ । छिन्नमस्ता भगवती मन्दिरनजिक रहेको पोखरीमा सन्ध्या आरती सुरु गरिएको छ ।

किसानको समस्यालाई कसरी समाधान गर्दै हुनुहुन्छ ?

हामीले किसानलाई रासायनिक मलको अभाव हुन दिएका छैनौँ । माटो परीक्षणदेखि उन्नत जातका बिउ वितरण, मल खाद्य, किटनाषक औषधी, उपकरण अनुदानमा वितरण गर्ने कार्य गरेका छौँ । कृषकको गोठमा पुगेर पशु स्वास्थ्य शिविर सञ्चालन गर्ने, गोठ सुधार कार्यव्रmम, उपकरण, औजार अनुदानमा प्रदान गर्ने गरेका छौँ । कृषकले उत्पादन गरेको कृषि उपजलाई सङ्कलन गरी बजारीकरण गर्ने योजना छ । 

काम गर्दा कस्ता कस्ता चुनौती सामना गर्नुपरेको छ ?  

मुख्य चुनौती भनेको राजनीतिक तवरबाट नागरिकलाई भ्रमित पार्ने काम भइरहेको हुन्छ । नागरिकलाई भ्रमित पारेर गलत सन्देश प्रवाह गर्न खोजिन्छ । नेताले निजी स्वार्थका लागि अनावश्यक घुसपैठ गरिदिँदा काम गर्न अप्ठ्यारो पर्छ । केही अपवादबाहेक राजनीतिक दलका नेताबाट विकासका काममा सहयोग पाइरहेको छु । साथै आमनागरिकले समेत उत्तिकै साथ दिएका छन् । मेरो कार्यकालमा गाउँपालिकालाई नमुना गाउँपालिकाका रूपमा विकास गर्ने छु ।