• २३ साउन २०८१, बुधबार

सत्कार बचत सहकारीका सचिवसहित तीनजना पक्राउ

blog

काठमाडौं, साउन २२ गते । सत्कार बचत तथा ऋण सहकारी संस्था लि. मा रहेकाे निक्षेपकर्ताकाे रकम हिनामिना गरेको अभियोगमा सचिवसहित ३ जना  पक्राउ परेका छन् । 

काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३ सामाखुसीमा प्रधान कार्यालय भई न्युरोड तथा चावहिलमा शाखा कार्यालय खडा गरी संचालनमा रहेको सहकारीका सचिवसहित ३ जना पक्राउ परेका हुन् । 

केन्द्रीय प्रहरी अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार, पक्राउ पर्नेमा गोबिन्द पुरी, महेश श्रेष्ठ र ध्रुवराज कार्की छन्  । पुरी सचिव, श्रेष्ठ कोषाध्यक्ष र कार्की चावहिल शाखाका व्यवस्थापक हुन् ।

सहकारीका संचालकहरुले निक्षेपकर्ताहरुलाई आर्कषक ब्याजदर दिन्छु भनी प्रलोभन देखाई निक्षेपकर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई मासिक, त्रैमासिक, वार्षिकरुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वासका साथ उक्त संस्थामा बचतकर्ताहरुले जम्मा गरेका थिए । 

सो रकमको साँवा, ब्याज फिर्ता नदिई पटक–पटक ताकेता गर्दा पनि फिर्ता नदिएकाले आफ्नो निक्षेप जोखिममा रहेको ठानी सम्बन्धित संस्थाका कर्मचारी तथा पदाधिकारीहरुलाई लामो समयदेखि ध्यानाकर्षण गराउँदासमेत नियमानुसार पाउनुपर्ने निक्षेप तथा सोको ब्याज रकम उपलब्ध नभएपछि उजुरी परेको थियो । 

बचतकर्ताहरुको रकम अपचलन तथा हिनामिना गर्ने तथा नक्कली कर्जा फाइलहरु खडा गरी सहकारीको रकम दुरुपयोग गर्ने कार्यमा संलग्न  व्यक्तिहरुलाई प्रचलित कानूनबमोजिम आवश्यक कारवाहीका लागि काठमाडौं महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सहकारी विभागबाट लेखी आएपछि प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत काठमाडौँबाट दिनपाँचको म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।