• २२ साउन २०८१, मङ्गलबार

यस्ता छन् हैजा नियन्त्रण तथा रोकथामका लागि आगामी योजना

blog

काठमाडौँ, साउन २२ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हैजा नियन्त्रण गर्न द्रुत प्रतिकार्य टोली परिचालन गरेको जनाएको छ ।

मन्त्रालयले हैजा नियन्त्रण तथा रोकथामका लागि मन्त्रालयले गरिरहेको काम र आगामी योजना सार्वजनिक गर्दै द्रुत प्रतिकार्य टोली परिचालन गरेको जनाएको छ ।

साथै मन्त्रालयले हैजा प्रभावित क्षेत्रमा नियमित केस अनुसन्धान, बिरामीहरूको सक्रिय खोजी र केसको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिमा लक्षणको निगरानी गरिरहेको जनाएको छ । मन्त्रालयले हैजासम्बन्धी स्वास्थ्य शिक्षाका सामग्रीहरू तयार पारेर प्रसारण गरिरहेको जनाएको छ । साथै देशभरका १४४ अस्पतालहरूमा झाडापखालाका बिरामीहरूको नियमित रूपमा हैजाको निगरानी भइरहेको मन्त्रालयले उल्लेख गरेको छ ।

जिल्ला र स्थानीय तहमार्फत खानेपानीको गुणस्तर निगरानीसम्बन्धी कार्य प्रभावकारी रूपमा भएको मन्त्रालयले जनाएको छ ।

साथै, एउटै टोलबाट एक हप्ताभित्रमा पाँच जनाभन्दा बढी झाडापखालाका बिरामीहरू देखा परेमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोल फ्रि हटलाइन नम्बर १११५ मा सम्पर्क गरी जानकारी गराउने व्यवस्था गरेको छ ।

जनचेतना र सरसफाइसम्बन्धी क्रियाकलापमा बिरामी देखिएका स्थानमा खानेपानीको नमुना जाँच भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार खानेपानी शुद्धीकरण तथा व्यक्तिगत सरसफाइसम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन भइरहेको छ ।

रेडक्रस, वाटरएड र अन्य साझेखारहरुको समन्वयमा पानी शुद्धीकरण र जनचेतनका कार्यहरू गरेको मन्त्रालयले उल्लेख गरेको छ । 

काठमाडौँ महानगरपालिकाका वडा नम्बर ११, १२ र १३ निर्वाचित सदस्यहरू, समुदायको विपद् व्यवस्थापन समिति तथा युवा र महिला समूहलाई हैजा रोकथाम  र नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

वास क्लस्टरको बैठक बसी खानेपानी गुणस्तर प्रभावकारी बनाउने कार्य गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

साथै विज्ञसँगको छलफलमा हैजाको केस व्यवस्थापन रोगथाम र खानेपानी निगरानी गर्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

केन्द्र प्रदेश तथा स्थानीय तहमा रहेका खानेपानी गुणस्तर निगरानी समितिलाई सक्रिय बनाई खाद्य गुणस्तर निगरानी तथा अनुगमन कार्य गर्ने निकायहरूसँग समन्वयमा जोखिम पहिचान तथा रोकथाम गर्ने मन्त्रालयको योजना छ ।

त्यस्तै, प्रभावित क्षेत्रमा रोग नियन्त्रण र रोकथामका लागि आवश्यकता अनुसार विज्ञ परिचालन गर्ने योजना भएको उल्लेख गरेको छ ।

नियमित निगरानी, प्रतिकार्य तथा महामारी व्यवस्थापन कार्य प्रणालीको सुदृढीकरणका लागि सरोकारवाला निकायहरू बिच एकीकृत समन्वय तथा सहकार्य गर्ने मन्त्रालयको योजना छ ।

हैजा नियन्त्रण गर्न रोकथाम योजना २०२४–२०३० बनाई सोसम्बन्धी आवश्यक कार्य गर्ने योजना रहेको मन्त्रालयले उल्लेख गरेको छ ।