• २२ साउन २०८१, मङ्गलबार

होमस्टेको आकर्षण बन्दै पानीघट्ट

blog

खाद्यान्न पिसानी गर्ने पानीघट्ट ।

यदुप्रसाद भट्ट 

मनाङ, साउन २२ गते । मनाङमा घरबास (होमस्टे) को सङ्ख्या बढ्दै गएको छ । अन्नपूर्ण पदमार्गमा पर्यटनका लागि पुग्ने स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा होमस्टे पर्ने गरेको हो । मनाङका होमस्टेमा पाहुनालाई अर्गानिक तथा रैथाने खानेकुराले स्वागत गर्ने गरिएको छ । 

होमस्टेमा आउने पाहुनालाई उनीहरूले पानीघट्टले पिसानी गरेको खाद्यवस्तुबाट विभिन्न परिकार बनाएर खुवाउने गरेका छन् । ताचै–८ का वडाध्यक्ष याद घलेले नासोँ गाउँपालिका–८, ताचैमा रहेको ताचै होमस्टेले पानीघट्टमा पिसेको पिठोबाट विभिन्न परिकार बनाएर खुवाउने गरेको बताउनुहुन्छ । पाहुनाले पनि मिठो मानेर खाएको उहाँको भनाइ छ । 

धान खेती नहुने मनाङमा जौ, गहुँ, करु, उवा, फापर हुन्छ । यहाँका स्थानीयले पनि बारीमा उत्पादन भएका रैथाने बालीलाई पानीघट्टमा पिसेर विभिन्न परिकार बनाई खाने गर्छन् । ताचैकी स्थानीय चन्द्रकाशी घलेले भन्नुभयो, “कहिले काँचै त कहिले भुटेर पिँध्ने गर्छौं, यसरी पिस्दा पौष्टिक तत्व पनि नष्ट हुन्न, स्वादिलो पनि हुन्छ । हाम्रो होमस्टेका पाहुनाले त झन् मिठो मानी मानी खान्छन् ।” घलेले पाहुनाले पनि रुचाउने, स्वादिलो पनि हुने तथा पानीघट्टमा पिस्दा भिटामिन पनि नष्ट नहुने बताउनुभयो । 

ताचैकी योगमाया घले पनि घट्टमा पिसेको पिठोबाट बनेका खानेकुरा स्वादिलो हुने, बिरामी नहुने भएकाले आफूहरूले उपभोग गर्ने खाद्यान्न घट्टमा नै पिस्ने गरेको बताउनुहुन्छ । उहाँले पनि पाहुनाले स्वाद मानी मानी खाएको बताउनुभयो । 

त्यस्तै चामेका युवा उद्यमी शेराप विष्ट आफ्नो होमस्टेमा आउने पाहुनालाई फापरको रोटी, गहुँको भक्रिन (एक प्रकारको डल्लो डल्लो पारेर बनाइने तिब्बेतियन परिकार), चम्पा, बटर चिया, मौसम अनुसारका फलफूल आदिले स्वागत गर्ने गरेको बताउनुभयो । उहाँले मनाङका रैथाने बालीबाट बनाइएका परिकार महँगो पर्ने गरेको र खासै व्यवसायमा नाफा नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटकलाई घट्टमा पिसेको खानेकुरा खुवाएर मात्रै हुँदैन, यसबारेमा बुझाउन पनि सक्नु पर्छ ।”