• २२ साउन २०८१, मङ्गलबार

आधा घट्यो बैङ्कले बाँड्ने नाफा

blog

काठमाडौँ, साउन २२ गते । आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवको तुलनामा वाणिज्य बैङ्कहरूले करिब आधा मात्रै नाफा वितरण गर्न सक्ने देखिएको छ । सबै २० वाणिज्य बैङ्कले नाफा आर्जन गरेका भए पनि चार बैङ्कले सेयरधनीलाई नाफाबापतको लाभांश बाँड्न नसक्ने भएका छन् । 

वाणिज्य बैङ्कको नाफा गत आवको असार मसान्तसम्म ६४ अर्ब १५ करोड रुपियाँ भए पनि त्यसको करिब १२ प्रतिशत अर्थात् सात अर्ब ६२ करोड रुपियाँ मात्रै वितरणयोग्य नाफा रहेको छ । अघिल्लो आवमा यस्तो नाफा १५ अर्ब ६४ करोड ४५ लाख रुपियाँ रहेको थियो । यो अवधिमा बैङ्कको वितरणयोग्य नाफा ५१.२८ प्रतिशतले घटेको छ । 

वितरणयोग्य नाफा पनि भनिने लाभांश दिन नसक्ने बैङ्कमा नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क, कुमारी बैङ्क, एनआइसी एसिया बैङ्क र हिमालयन बैङ्क लिमिटेड रहेका छन् । यसबाहेक बाँकी १६ वटा बैङ्कले भने नाफा वितरण गर्न सक्ने अवस्थामा रहेको वित्तीय विवरणले देखाउँछ । 

विवरण अनुसार गत आवको नाफाका आधारमा एभरेस्ट बैङ्कले सबैभन्दा धेरै २९.८६ प्रतिशत लाभांश आफ्ना लगानीकर्तालाई दिन सक्ने सामथ्र्य राख्छ । त्यसपछि स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले २६.५ प्रतिशत, कृषि विकास बैङ्कले १७.३७ प्रतिशत, नबिल बैङ्कले १४.२६ प्रतिशत, सिद्धार्थ बैङ्कले १०.७६, सानिमा बैङ्कले १०.४ प्रतिशत लाभांश दिन सक्छन् । सबैभन्दा कम लाभांश दिनेमा एनएमबी बैङ्क रहेको छ जसको लाभांश क्षमता केवल १.३ प्रतिशत मात्र रहेको छ । 

नाफामा नबिल अगाडि

वित्तीय विवरण अनुसार गत आवमा सबैभन्दा धेरै नाफा गरेर नबिल बैङ्क शीर्ष स्थानमा छ । नबिलले १०.३० प्रतिशतले नाफा बढाउँदै २०८१ असारसम्म सात अर्ब छ करोड रुपियाँ आर्जन गरेको छ । त्यसपछि ग्लोबल आइएमई बैङ्कले छ अर्ब दुई करोड नाफा गरेको विवरण छ यद्यपि बैङ्कको यो नाफा त्यसअघिको आवको तुलनामा १० प्रतिशतले घटेको हो । नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कले करिब ४० प्रतिशतले बढाउँदै पाँच अर्ब २० करोड रुपियाँ नाफा कायम गरेको छ ।  

वृद्धिदरका हिसाबले प्रभु बैङ्कले २८ करोड रुपियाँबाट १५ सय प्रतिशतले नाफा बढाउँदै चार अर्ब ४८ करोड रुपियाँ पुर्‍याएको छ । प्राइम कमर्सियल बैङ्कले एक अर्ब तीन करोड रुपियाँबाट २६६ प्रतिशतले बढाएर तीन अर्ब ७७ करोड रुपियाँ नाफा पुर्‍याएको छ । 

समीक्षा अवधिमा नाफा घट्ने बैङ्कमा एमएमबी, राष्ट्रिय वाणिज्य बैङ्क, स्ट्यान्डर्ड चार्टर्ड, सानिमा, नेपाल बैङ्क, सिद्धार्थ, सिटिजन्स, माछापुच्छ्रे , एनआईसी एसिया रहेका छन् । सबैभन्दा कम नाफा गर्नेमा माछापुच्छ्रे  बैङ्क रहेको छ जसको नाफा गत आवमा एक अर्ब २५ करोड रुपियाँ रहेको छ । 

सबैभन्दा धेरै नाफा गुमाउनेमा एनआइसी एसिया बैङ्क रहेको छ । उक्त बैङ्कले चार अर्ब ४४ करोड रुपियाँ नाफाबाट ६३ प्रतिशतले नाफा गुमाएर गत आवमा एक अर्ब ३८ करोड रुपियाँ मात्र नाफा गरेको विवरण छ । 

मौद्रिक नीतिपछि सुधारको सङ्केत

गत आवमा बैङ्कको नाफामा उल्लेख्य उतारचढाव रहे पनि चालु आवको पहिलो त्रैमाससम्मको वित्तीय विवरणमा सुधार आउन सक्ने विज्ञको भनाइ छ । 

मौद्रिक नीतिले निष्क्रिय कर्जा नियमित भएपछि त्यसलाई सुक्ष्म निगरानीमा राखेर असल कर्जामा गणना गर्न पाउने र असल कर्जाको प्रोभिजनिङ १.१० प्रतिशत कायम गरेर सहजीकरण गरिदिएकाले त्यसको सकारात्मक असर चालु आवको पहिलो त्रैमासमै देखिन सक्ने पूर्वबैङ्कर क्षेत्रीको भनाइ छ । 

नीतिगत सहजीकरणका लागि गरिएका पछिल्ला व्यवस्थाले बैङ्कको व्यवसाय बढ्ने आधार देखिन थालेको उहाँले बताउनुभयो ।