• २२ साउन २०८१, मङ्गलबार

बैङ्कको नाफामा देखियो अर्थतन्त्रको छाया

blog

काठमाडौँ, साउन २२ गते । दुई वर्षभन्दा लामो समय शिथिल रहेको अर्थतन्त्रको प्रभाव वाणिज्य बैङ्कहरूको नाफामा देखिएको छ । सोमबार सार्वजनिक भएको गत आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण अनुसार कुल २० वटा वाणिज्य बैङ्कमध्ये आधाको नाफा घटेको छ । नाफामा रहेका बैङ्कको वित्तीय विवरण पनि पूर्ण स्वस्थ छैन । 

विवरण अनुसार गत आवमा वाणिज्य बैङ्कहरूको कुल नाफा ६४ अर्ब १६ करोड रुपियाँ पुगेको छ । त्यस अघिको आव २०७९/८० को तुलनामा त्यस्तो नाफा १३.४० प्रतिशतले वृद्धि भए पनि सञ्चालनमा रहेका आधा बैङ्कहरूको नाफा घट्नु समग्र बैङ्किङ व्यवसायका लागि भने सुखद् नभएको विज्ञहरूको भनाइ छ । 

पूर्वबैङ्कर भुवन दाहाल सञ्चालनमा रहेका बैङ्कमध्ये आधा घाटामा जानुलाई स्वाभाविक मान्न नसकिने बताउनुहुन्छ । “मेरो अनुभवमा यति ठुलो सङ्ख्यामा बैङ्कहरूको नाफा घटेको धेरैपछि मात्रै हो,” उहाँले भन्नुभयो । समग्र अर्थतन्त्र नै सुध्रिन नसकेको अवस्थामा बैङ्कहरूको वित्तीय विवरण त्यससँग मेल खाएको उहाँको बुझाइछ । 

उपभोग र निर्माण क्षेत्रले नै नकारात्मक वृद्धिदर भोगेको गत आर्थिक वर्षमा त्यसको समग्र असर वित्तीय संस्थाले पनि भोग्नुपरेको थियो । कारोबारमा शिथिलता आउँदा कर्जा विस्तार ६ प्रतिशतमै सीमित हुनु र खराब कर्जासमेत बढ्दा बैङ्कहरूको नाफामा प्रत्यक्ष असर पुगेको देखिन्छ । 

कतिपय नीतिगत प्रावधानले पनि बैङ्कहरूको व्यवसाय प्रभावित भएको बताउनुहुन्छ अर्का पूर्वबैङ्कर पर्शुराम कुँवर क्षेत्री । “स्थानीय तहको निक्षेप गणना गर्न नपाउने र मर्जरबापत एकै पटक करिब १५ अर्ब रुपियाँ कर तिर्नुपर्दा बैङ्कहरूको व्यवसाय प्रभावित भएको हो,” उहाँले भन्नुभयो, “यस किसिमको नीतिगत व्यवस्थाको चक्रीय असर नाफासम्म पुगेको देखिन्छ ।” यसबाहेक अर्थतन्त्रमा देखिएका समस्याको स्वाभाविक असर नाफामा देखिने उहाँको भनाइ छ ।