• १२ पुस २०८१, शुक्रबार

मेडिकल कलेज भैरहवामा मोलिकुलर बायोलोजी ल्याब

blog

युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस)मा अत्याधुनिक मोलिकुलर बायोलोजी ल्याब उद्घाटन गरिँदै । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, साउन २१ गते । भैरहवामा रहेको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस)मा अत्याधुनिक मोलिकुलर बायोलोजी ल्याब जडान गरिएको छ । जडान गरिएको ल्याबको कलेजका प्राचार्य डा.लक्ष्मी पाठक, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सदन मुखी,अस्पतालकी सेन्ट्रल ल्याब प्रमुख डा.अनिता शाही, कार्यकारी निर्देशक अजय पिएस लगायतले उद्घाटन गर्नुभयो ।

मेडिकल कलेजले आगामी दिनमा अन्य परीक्षण पनि यही गर्न मिल्ने गरी यहाँको ल्याबलाई ए लेबलको ल्याबमा परिणत गर्ने तयारी गरिरहेको छ । कोभिडपछि पीसीआर मेसिन सञ्चालनमा नरहेकाले मोलिकुलर बायोलोजी ल्याब नै तयार गरी अन्य पीसीआर परीक्षणको काम सुरु गरिएको हो ।

पीसीआरमा डीएनए–आरएनए जस्ता भाइरसका जिनको पहिचान हुने हुँदा यो परीक्षणबाट रोग पहिचान सहजै गर्न सकिने अस्पतालले जनाएको छ । मोलिकुलर बायोजोली ल्याबका प्रमुख विनीत शर्माले गुणस्तरमा ढुक्क हुन आग्रह गर्नुभयो । "यो अत्याधुनिक र प्रविधियुक्त ल्याब हो । हामीले गुणस्तरमा कुनै सम्झौता गर्दैर्नौँ । त्यसैले ढुक्क भएर परीक्षण गर्न सबैलाई मेरो आग्रह छ", उहाँले भन्नुभयो ।

मेडिकल कलेजका बायोकेमिष्ट्री विभागीय प्रमुख एवम् बीएस्सी–एमएलटी कार्यक्रम कोअर्डिनेटर नारायण गौतम पीसीआर विषयमै डब्लुएचओबाट पीसीआर सम्बन्धी तालिम प्राप्त गर्नुभएको छ । अस्पतालकी सेन्ट्रल ल्याब प्रमुख डा.अनिता शाहीले अस्पतालको ल्याबमा स्याम्पल कलेक्सन गर्ने ठाउँको विस्तार गरिएको बताउनुभयो ।

"अब एकपल्टमा तीन जना बिरामीको स्याम्पल लिन सकिने छ । र, त्यही अनुसार रिपोर्ट छिटो दिन सकिने छ । जसले गर्दा चिकित्सकले समयमै रिपोर्ट हेर्न पाउनुहुनेछ । यसबाट बिरामीलाई निकै सहजता हुनेछ", उहाँले भन्नुभयो । 

शिक्षण संस्थाको अस्पताल भएको हुँदा प्राचार्य डा.लक्ष्मी पाठकको संयोजकत्वमा बेसिक साइन्सका शिक्षकहरू (बायोकेमिष्ट्रि, माइक्रोबायोजोली र प्याथोलोजी विभाग), अस्पतालका ल्याबका स्वास्थ्यकर्मी, मेडिकल सुपरिटेन्डेन्ट, अस्पतालका कार्यकारी निर्देशक सबैलाई समेटेर यो ल्याब सञ्चालनमा ल्याइएको जनाइएको छ ।

अस्पतालमा शुक्रबारदेखि हार्डजोर्नीको बाथरोग पहिचानको लागि गरिने एचएलए बी२७ भन्ने परीक्षण सुरु भइसकेको छ । यस्तै, टिबी पीसीआर, डेंगु पीसीआर र पाठेघरको मुखको क्यान्सर बनाउने भाइरस (एचपीभी) पीसीआरको लागि चाहिने रासायनिक किट खरिद प्रक्रिया सुरु भइसकेको अस्पतालले जनाएको छ । किट १५ दिनभित्र उपलब्ध हुने र त्यसपछि परीक्षण सञ्चालनमा आउने जनाइएको छ ।

यी रोगहरूको परीक्षणका लागि चाहिने स्याम्पल (रगत, खकार, छातीको पानी, ढाडको पानी) भैरहवा–बुटवल आसपासमा रहेका सबै ल्याबहरूले लिने गर्छन् । तर, परीक्षण गर्न काठमाडौँ लगायतका ठाउँहरूमा पठाउने गर्दै आएका छन् । तर, रिपोर्ट आउन भने हप्ता दिन लाग्दा बिरामीले दुःख पाउने गरेका छन् । अब, भने मेडिकल कलेजमै अन्य अस्पतालहरूमा उपचाररत बाहिरका बिरामीले पनि यी जाँचहरू यही गराउन सक्नेछन् । यहाँ जाँच गराउँदा रिपोर्ट तीन दिनमै उपलब्ध गराइने अस्पतालले बताएको छ ।