• २२ साउन २०८१, मङ्गलबार

बङ्गलादेशमा अन्तरिम सरकार बन्ने : सेना प्रमुख

blog

काठमाडौँ, साउन २१ गते । बङ्गलादेशका सेना प्रमुख वाकर–उज–जमानले देशवासीलाई सम्बोधन गर्नुहुँदै बङ्गलादेशमा अन्तरिम सरकार बन्ने बताउनुभएको छ ।

बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले सुरु गरेको आन्दोलन थप हिंसात्मक बनिरहेको समयमा सेना प्रमुख जमानले सोमबार सम्बोधन गर्नुहुँदै सो कुराबारे जानकारी दिनुभएको छ ।

सम्बोधनमा बङ्गलादेशका सेना प्रमुख जामनले प्रधानमन्त्री हसिनाले राजीनामा दिएको जानकारी दिनुहुँदै अब नयाँ अन्तरिम सरकार गठन गरिने बताउनुभएको छ ।

“हामीले अन्तरिम सरकार बनाउने निर्णय गरेका छौँ । हामी अब अन्तरिम सरकार गठनको विषयमा राष्ट्रपतिसँग छलफल गर्छौँ । हामीलाई विश्वास गर्नुहोस्,” उहाँले भन्नुभएको छ ।

उहाँले आफूले देशका विपक्षी राजनीतिक दलहरूसँग कुरा गरिसकेको भन्दै आजसम्म एउटा “समाधान निस्किने’’ अपेक्षा गरेको बताउनुभयो । यद्यपि कसले अन्तरिम सरकारको नेतृत्व गर्छ भन्ने स्पष्ट हुन बाँकी छ ।

प्रधानमन्त्री हसिनाले देश छाडेपछि उहाँले सेनालाई विश्वास गर्न देशवासीलाई आग्रह गर्नुभयो । ठुलो धनजनको क्षति भएको भन्दै उहाँले प्रदर्शन अन्त्य गर्न र घर फर्किन सबैलाई अनुरोध गर्नुभएको छ ।

तर बङ्गलादेशका सेनाप्रमुखले विगत केही सातामा सयौँ जनाको मृत्यु भएपछि प्रदर्शनकारीहरूले गरिरहेको “न्यायको माग’’ सम्बोधन गरिने पनि बताउनुभयो ।

उहाँले शान्ति सुव्यवस्था कायम सघाउन आग्रह गर्नुभएको छ । उहाँले द्वन्द्वबाट कसैलाई फाइदा नहुने भएकाले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नयाँ सरकार गठनका लागि सेनाप्रमुखले राजनीतिक दल र नागरिक समाजका अभियानकर्ताहरूसँग छलफल गरिरहेका छन् ।

यसैगरी, बिबिसी बंगला सेवाका अनुसार प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाड्नुभएको छ । देश छोड्दा उहाँकी बहिनी शेख रेहाना पनि सँगै हुनुहुन्थ्यो ।

प्रधानमन्त्री हसिना हेलिकोप्टरमा भारतीय सहर अगरतला प्रस्थान गर्नुभएको बिबिसी बंगलाले जनाएको छ । साथै रोएटर्सले सैनिक हेलिकोप्टर चढेर उहाँ र उहाँको परिवारका सदस्यहरू भारतका लागि हिँडेको जनाएको छ ।

बङ्गलादेशको राजधानी ढाकामा रहेको प्रधानमन्त्री हसिनाको सरकारी निवासमा हजारौँ प्रदर्शनकारीले आक्रमण गरेको खबर छ ।

सरकारी जागिरमा आरक्षणको विषयप्रति असन्तुष्ट विद्यार्थीहरूले प्रदर्शन गर्न थालेपछि आन्दोलन चर्किएको थियो । उनीहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै आएका थिए ।

टेलिभिजनमा प्रसारित दृश्यमा प्रधानमन्त्रीको सरकारी निवासमा प्रदर्शनकारीहरू छिरेको देख्न सकिन्छ ।

केही प्रदर्शनकारीले त्यहाँ लुटपाट गरेको दृश्य सार्वजनिक भएको छ । केही मानिसले कुर्सी र सोफा बोकेर बाहिर हिँडेको पनि देखिन्छ ।

सोमबार बिहानैदेखि ढाका विश्वविद्यालय, बङ्गलादेश टेलिभिजनको मुख्यालय र मेट्रोरेलसहित राजधानीका विभिन्न स्थानमा सैन्य टोलीहरू परिचालन गरिएको थियो ।

ढाकानजिकै जात्राबारी क्षेत्रमा सोमबार पनि हिंसात्मक झडप भएको छ । ढाका ट्रिब्यूनले छ जना मारिएको जनाएको छ भने ‘प्रोथोम आलो’ले गोली लागेर तीन जनाको ज्यान गएको उल्लेख गरेको छ । मारिने प्रहरी वा प्रदर्शनकारी को हुन् भन्ने खुलेको छैन ।

यो पनि पढ्नुहोस

बङ्गलादेशका प्रधानमन्त्री हसिनाले देश छोड्नुभयो

प्रधानमन्त्री हसिनाले राजीनामा दिने ‘सम्भावना’