• २२ साउन २०८१, मङ्गलबार

बङ्गलादेशका सेना प्रमुखले आज देशवासीका नाममा सम्बोधन गर्दै

blog

ढाका, साउन २१ गते । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले सुरु गरेको आन्दोलन थप हिंसात्मक बनिरहेको समय बङ्गलादेशका सेना प्रमुख वाकर–उज–जमानले सोमबार देशवासीका नाममा सम्बोधन गर्ने सैनिक श्रोतले एएफपीलाई जानकारी दिएको छ ।

आन्दोलनमा प्रहरीले धरपकड हुँदा भएको क्षतिपछि सडक प्रदर्शनमा जनसहभागिता बढ्दै जाँदा आन्दोलनलाई थप ऊर्जा मिलेको छ । प्रदर्शनकारीले प्रधानमन्त्री शेख हसिनाको राजीनामाको मागलाई बुलन्द पारेका छन् ।

सेनाका प्रवक्ता रशेदुल आलमले भन्नुभयो, “जनरल वाकरले दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्नुहुनेछ ।”

प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै सडकमा उत्रिएका प्रदर्शनकारीले पुनः प्रदर्शन सुरु गरेपछि आइतबार भएको झडपमा कम्तीमा ९४ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

गत महिना सुरु भएको प्रदर्शनमा सोमबारसम्म प्रहरी, सरकारी अधिकारी र चिकित्सकबाट एएफपीले प्राप्त गरेको तथ्याङ्कमा कम्तीमा ३०० जनाको मृत्यु भएको पुष्टि भएको छ ।

आइतबार एकै दिनमा धेरै जनाको ज्यान जानेगरी झडपहरू भएपछि बङ्गलादेशको सुरक्षाकर्मीले सोमबार बिहानैदेखि राजधानी ढाकामा गस्ती सुरु गरेको छ । रासस/एएफपी