• २२ साउन २०८१, मङ्गलबार

बङ्गलादेशका प्रधानमन्त्री हसिनाले देश छोड्नुभयो

blog

बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना

काठमाडौँ, साउन २१ गते । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिनुभएको छ । देशमा अशान्ति बढ्दै गएपछि प्रधानमन्त्री हसिनाले सोमबार राजीनामा दिनुभएको बिबिसीले जनाएको छ । राजीनामा दिएसँगै उहाँले देश छाड्नुभएको छ ।

प्रधानमन्त्री हसिना भारतको पश्चिम बङ्गाल पुगेको बङ्गलादेशबाट प्रकाशन हुने ढाका ट्रिबुनमा समाचार छ ।

सोमबार बङ्गलादेशमा आरक्षणलाई लिएर चलिरहेको आन्दोलन थप व्यापक भएको छ । विद्यार्थी नेताहरूले दिएको ‘लङ मार्च टु ढाका’ को आह्वानमा हजारौँ मानिस ढाकाको उपनगरीय इलाकातर्फ र्‍याली गरिरहेका छन् ।

यसैबिच बङ्गलादेशका सेना प्रमुख वाकर–उज–जमानले सोमबार देशवासीका नाममा सम्बोधन गर्ने एएफपीले जानकारी दिएको छ ।

आइतबारदेखि फेरि सुरु भएको हिंसामा हालसम्म कम्तीमा ९० जनाको मृत्यु भएको बताइएको छ ।

ढाकाको मोहाली क्षेत्रमा उपस्थित बिबिसी बङ्गलाका संवाददाताका अनुसार हजारौँ मानिस पैदल र रिक्सामा शाहबागतर्फ लागेका छन् ।

यद्यपि, गत महिना सुरु भएको प्रदर्शनमा सोमबारसम्म प्रहरी, सरकारी अधिकारी र चिकित्सकबाट एएफपीले प्राप्त गरेको तथ्याङ्कमा कम्तीमा तीन सय जनाको मृत्यु भएको पुष्टि भएको छ ।


गत महिनालाई प्रधानमन्त्री हसिनाको १५ वर्षे कार्यकालको सबैभन्दा हिंसा भएको महिनाका रूपमा हेरिएको छ । निजामती सेवामा आरक्षणको विरोधमा गरिएको आन्दोलनका क्रममा  ३०० भन्दा बढी व्यक्तिको ज्यान गएको छ । 

एएफपीद्वारा प्रमाणित सामाजिक सञ्जालमा देखाइएका भिडियो अनुसार आइतबार ढाकामा खचाखच भीडले घेरिएको बख्तरबन्द कारमाथि प्रदर्शनकारीहरूले बङ्गलादेशी झन्डा लहराएका थिए र त्यसलाई सैनिकले हेरिरहेका थिए । सोमबार प्रदर्शनले झन् उग्ररूप लिन पुग्यो । 

निजामती सेवामा आरक्षण प्रणालीविरुद्धको र्‍यालीहरूले जुलाईमा हिंसात्मकरूप लिएको थियो । उक्त प्रदर्शनमा हसिनाको १५ वर्षको कार्यकालको सबैभन्दा खराब अशान्तिमा दुई सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

सेनाले केही समयका लागि आन्दोलनको अवस्था शान्त बनाएर व्यवस्था पुनः स्थापित गरेको भए पनि सरकारलाई कमजोर बनाउने उद्देश्यले गरिएको असहयोग आन्दोलनअन्तर्गत यस महिना ठुलो सङ्ख्यामा भीड सडकमा फर्किएको छ । 

यहाँका केही पूर्वसैन्य अधिकारीहरू विद्यार्थी आन्दोलनमा सामेल भएका छन् र पूर्वसेना प्रमुख जनरल इकबाल करिम भुइयाँले प्रदर्शनसँग समर्थित रहेको आफ्नो फेसबुक प्रोफाइल रातो बनाउनुभएको छ । 

करिब १७ करोड जनसङ्ख्या भएको दक्षिण एसियाली यस मुलुकमा विरोध प्रदर्शन व्यापक सरकार विरोधी आन्दोलनमा परिणत भएको छ ।

आन्दोलनमा फिल्म स्टार, सङ्गीतकार र गायकहरूसहित बङ्गलादेशी समाजका सबै तहका नागरिक सहभागी भएका छन् । जनताको समर्थनको आह्वान गर्ने र्‍याप गीतहरू सामाजिक सञ्जालमा व्यापकरूपमा फैलिएका छन् ।