• ११ पुस २०८१, बिहिबार

खेलाडीको सुझावका आधारमा काम गर्छु : मन्त्री महर्जन

blog

अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेशका नवनियुक्त युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन ।

काठमाडौँ, साउन २० गते । बागमती प्रदेशका नवनियुक्त युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले खेलाडीको सुझावका आधारमा आफूले काम गर्ने बताउनुभएको छ ।

मन्त्री मीनकृष्ण महर्जनले आइतबार विभिन्न खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीसँग अन्तरक्रिया कार्यक्रममा उक्त धारणा राख्नुभएको हो । कार्यक्रममा खेलक्षेत्र बुझेको व्यक्ति प्रदेशको खेलकुद मन्त्री नियुक्त भएकोमा बागमती प्रदेशको खेल गतिविधिमा सकारात्मक प्रभाव पर्ने आशा खेलाडीले राखेका थिए । 

नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जीतबहादुर केसी, दक्षिण एसियाली खेलकुद (साग) तीन स्वर्ण पदक जित्दै म्याराथनमा कीर्तिमान बनाउनुभएका वैकुण्ठ मानन्धर, नेपाल ओलम्पियन सङ्घका अध्यक्ष दीपक विष्ट, सागका स्वर्ण पदक विजेता धिरेन्द्र प्रधान, उपेन्द्रमान सिंह, बालगोपाल महर्जन, बक्सिङका प्रकाश थापामगर लगायत ओलम्पियन र खेलाडीको उपस्थिति थियो।

मन्त्री महर्जनले खेलाडीहरूको सुझावका‌ आधारमा आफूले काम गर्ने र छिट्टै कार्यदल गठन गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । उहाँले कार्यदलको सुझावका आधारमा प्रशिक्षक नियुक्त गर्ने पनि बताउनुभयो । प्रदेशको युवा तथा खेलकुद मन्त्रालयमा सबैभन्दा कम बजेट ७० करोड रुपियाँ मात्र  रहेको जानकारी दिँदै उहाँले थप बजेटका लागि आफूले पहल गर्ने पनि बताउनुभयो । 

खेलाडीहरूले विगतमा बागमती प्रदेशको खेलकुदमा राम्रो प्रभाव भए पनि अहिले कमजोर भएकोले प्रशिक्षक तयार पार्दै खेलाडी उत्पादन, भौतिक पूर्वाधार निर्माण, खेलाडीको भविष्य सुनिश्चित हुनेगरि काम गर्न मन्त्री महर्जनलाई सुझाव दिएका थिए । 

करातेका प्रशिक्षक र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पूर्व कोषाध्यक्ष समेत रहनुभएका महर्जन गत साता मन्त्री नियुक्त हुनुभएको थियो ।