• १९ साउन २०८१, शनिबार

पातारासीद्वारा दुई सय ६४ आयोजना सम्पन्न

blog

जुम्ला, साउन १९ गते । जुम्लाको पातारासी गाउँपालिकाले एक वर्षमा दुई सय ६४ वटा आयोजना सम्पन्न गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ दुई सय ६८ योजना सम्झौता भएकोमा दुई सय ६४ आयोजना उपभोक्ता समिति र ठेक्का प्रक्रियाबाट निर्माण सम्पन्न भई संचालनमा आएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लोकवहादुर रावलले बताउनुभयो ।  

पालिकाको समग्र भौतिक प्रगति ८९ प्रतिशत भएको छ । उक्त आयोजनाका लागि १२ करोड ३६ लाख बजेट खर्च भएको छ । कूल योजनाको पाँच प्रतिशत रकमबाहेक अरु सबै योजना सम्पन्न गर्न पालिका सफल भएको प्रमुख प्रशासकीय अधिकृत रावलको भनाइ छ । सो पालिकाले सोही आर्थिक वर्षमा दुई हजार मिटर सडक ग्राभेल निर्माण गरिएको छ । आठ हजार पाँच सय ८० मिटर ग्रामीण सडक निर्माण र १६ हजार दुई सय मिटर गोरेटो बाटो निर्माण गरेको गाउँपालिका योजना अधिकृत दानबहादुर शाहीले जानकारी दिनुभयो ।

गत आवमा पालिकाको विनियोजित ४४ करोड ८५ लाख बजेटमध्ये कूल बजेटको जम्मा ८१ दशमलव ४४ प्रतिशत बजेट खर्च भएको छ । पुँजीगततर्फ १७ करोड ६५ लाखमध्ये १२ करोड ४२ लाख अर्थात ७० दशमलव ३४ प्रतिशत खर्च भएको छ । त्यस्तै चालुतर्फ २७ करोड २० लाखमध्ये २४ करोड ११ लाख अर्थात ८८ दशमलव ६५ प्रतिशत खर्च भएको योजना अधिकृत शाहीको भनाइ छ ।

भौगोलिक विकटता र गाउँबस्तीको आवश्यकतालाई मध्यनजर गर्दै भौतिक विकास पूर्वाधारलाई विशेष प्राथमिकता राखेर काम गरेको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिनुभयो । विकास निर्माणलाई सहीरुपमा कार्यान्वयन गर्नेका लागि पालिकाले हरेक योजनाको अनुगमनलाई तीव्रता दिएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाको भनाइ छ । 

पूर्वाधारको पुँजीगत खर्च ७४ प्रतिशत

पूर्वाधार विकास कार्यालय जुम्लाले गत आव २०८०/८१ मा पुँजीगत खर्च ७४ दशमलव ८६ प्रतिशत गरेको छ । कार्यालयको वार्षिक विनियोजन जम्मा बजेट ५७ करोड ३२ लाख ४२ हजार मध्ये ४२ करोड ५३ लाख ४ हजार खर्च भएको छ । अर्थात कुल बजेटको ७४ दशमलव ९३ प्रतिशत बजेट खर्च भएको पूर्वाधार विकास कार्यालयका प्रमुख पदमप्रसाद देवकोटाले जानकारी दिनुभयो ।

पुँजीगततर्फ वार्षिक विनियोजित बजेट ५६ करोड ७८ लाख ८८ हजारमध्ये ४१ करोड ७७ लाख ९१ हजार खर्च भएको छ । पुँजीगततर्फ कूल बजेटको ७४ दशमलव ८६ प्रतिशत खर्च हो । कार्यालय प्रमुख देवकोटाले भन्नुभयो, “चालुतर्फ एक करोड २४ लाख ५४ हजार बजेटमध्ये ९७ लाख ४२ हजार अर्थात ७८ दशमलव २३ प्रतिशत बजेट खर्च भएको कार्यालय प्रमुख देवकोटाको भनाइ छ ।” 

पूर्वाधार विकास कार्यालयले जिल्लाको कनकासुन्दरी गाउँपालिका-४ स्थित भैसेडीमा हिमा नदी माथि पक्की पुल निर्माण गरेको छ । गत आवमा २ दशमलव ६३ किलोमिटर कालोपत्रे र पक्की सडक निर्माण गरिएको छ । यसैगरी १७ दशमलव ९४ किमी सडक ग्राभेल, सडक स्तरोन्नति, नाला निर्माण तीन किमी निर्माण गरिएको पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख देवकोटाले बताउनुभयो ।

कर्णाली प्रदेश सरकारको समानिकरण बजेटबाट जनता आवास कार्यक्रमअन्तर्गत ११ वटा र विपन्न घर कार्यक्रमअन्तर्गत नौ वटा घर निर्माण भइ सञ्चालनमा आएको पूर्वाधार विकास कार्यालय जुम्लाले जनाएको छ । कार्यालयले तातोपानी, सिंजा र तिला गाउँपालिका गरी तीन वटा स्थानीय तहमा झोलुङ्गे पुल निर्माण गरेको छ । झोलुङ्गे पुल निर्माणपछि जोखिम मोलेर यात्रा गर्ने हजारौँ स्थानीय लाभान्वित भएका छन् । रासस