• १९ साउन २०८१, शनिबार

१०८ जनाले त्यागे नेपाली नागरिकता

blog

जिल्ला प्रशासन कार्यालय झापाको भवन । तस्बिर : लीलाराज खड्का

लीलाराज खड्का
बिर्तामोड, साउन १९ गते । 
झापामा यस आर्थिक वर्षमा १०८ जना नागरिकले नेपाली नागरिकता त्यागेर गैह्र आवासीय नागरिकता लिएको पाइएको छ  ।

नेपालीहरूले अन्यत्रको पिआर लिइसकेपछि नेपाली नागरिकता त्याग्नुपर्ने नियम रहेको र यस आर्थिक वर्षमा मात्रै १०८ जना नेपालीहरूले नेपाली नागरिकता परित्याग गरेको जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी विश्वराज नेपालले जानकारी दिनुभयो ।

यता यस आर्थिक वर्षमा १८ हजार २२ जनाले वंशजका आधारमा र ६९२ जनाले वैवाहिक अङ्गीकृतका आधारमा गरी १८ हजार ७१४ जनाले नागरिकता लिएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी नेपालका अनुसार  यस आर्थिक वर्षमा प्रतिलिपि नागरिकता निकाल्नेको सङ्ख्या झण्डै नयाँ नागरिकता बनाउनेकै हाराहारीमा रहेको पाइएको छ ।

झापामा यस आर्थिक वर्ष २०८०/८१ मा मात्रै १४ हजार ८४३ जनाले नागरिकताको प्रतिलिपि निकालेका छन् । राष्ट्रिय परिचयपत्र लगायतका लागि समेत कतिपय पुराना भएका नागरिकताहरू तथा हराएका नागरिकताहरू पुनः आवश्यक प्रक्रिया पूरा गरेर निकाल्नेहरूको सङ्ख्या बढेका कारण पनि यो सङ्ख्या बढेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

यसैगरी झापामा यस आर्थिक वर्षमा मात्रै एक लाख ३५ हजार ३२१ जनालाई सरकारले जारी गरेको राष्ट्रिय परिचयपत्र वितरण गरेको छ भने यस अवधिमा ५१ हजार ३२४ जनाको परिचयपत्रका लागि आवेदन सङ्कलन गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

राष्ट्रिय परिचयपत्रका लागि अहिले झापाका १५ वटै स्थानीय तहमा अभियान समेत सञ्चालनमा रहेको जिल्ला प्रशासनले जनाएको छ ।