पछिल्ला वर्ष युवामा नैराश्य बढ्दै गएको पाइन्छ । युवा मात्रै होइन, प्रौढ पनि नेपालमा केही भएन, नेपालमा केही छैन भनेर गुनासो गर्छन् । पढेलेखेका र शिक्षित युवा र साक्षर पुस्तासमेत नेपालमा केही नहुने भयो वा नेपालमा कामै छैन भनेर पन्छिने वा पलायन हुने क्रम बढ्दो छ । सहरदेखि गाउँसम्म र चिया पसलदेखि तारेहोटलसम्म नेपालमा जति गरे पनि केही हुँदैन भनेर चर्चा गरिन्छ । सरसर्ती हेर्दा ठिकै हो कि जस्तो लाग्न सक्छ । यो सत्य भने होइन ।
कृषि व्यवसाय गरेर भोजपुरका ३४ वर्षीय दीपक श्रेष्ठले भोजपुर नगरपालिका–१२ टक्सारमा कुखुरा पालन, बङ्गुर पालन, माछा पालनसँगै केराखेती व्यवसाय सञ्चालन गरेर वार्षिक १५ देखि १८ लाख रुपियाँसम्म आम्दानी गर्दै आउनुभएको छ । । कृषिलाई व्यवसायका रूपमा अँगाल्न गाउँका युवालाई प्रेरित गर्दै उहाँले सिप पनि सिकाउँदै आउनुभएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ की टीका पाइजाले छ रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गरेर वार्षिक छ देखि सात लाख रुपियाँसम्म आम्दानी गर्दै आउनुभएको छ । त्यस्तै रुकुमपूर्वका ५६ वर्षीय दिलचन बुढाले १६ वर्ष विदेशमा काम गरेर फर्किएपछि दाङको घोराही उपमहानगरपालिका–१८, अकबरेमा ड्रागन फ्रुट खेती गरेर वार्षिक २० लाखदेखि २५ लाख रुपियाँसम्म कारोबार गर्दै आउनुभएको छ । घोराही–१३ का रवि घर्तीले व्यावसायिक पशुपालन तथा तरकारी खेती गर्दै आएका घर्तीले दुध बिक्री गरेर मासिक एक लाख रुपियाँभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।
यी उदाहरण हेर्ने हो भने के नेपालमा केही सम्भव छैन त ? हामीले यो उमेरसम्म आउँदा नेपालमा के के ग¥यौँ त ? हाम्रो देश कृषिप्रधान देश हो तर गाउँका खेतबारी बाँझै छन् । खेती गर्ने जमिन बाँझो राखेर मानिसहरू सहर केन्द्रित बनेका छन्, जसका कारण खेती हुन छाडेको छ भने सहर कङ्क्रिटले कुरूप बन्न थालेको छ । हाम्रो भान्सा महँगिएको छ । बाँकेको जमुनाह नाकाबाट मात्रै एक वर्षमा भारतबाट एक अर्ब ११ करोड ६१ लाख रुपियाँ बराबरको चार करोड ४९ लाख ८४ हजार ६६९ केजी आलु आयात भएको छ, जबकि नेपालका तराई र पहाडमा आलु उत्पादनयोग्य जमिन प्रशस्त छन् ।
साँच्चै भन्ने हो भने गाउँका जग्गा बाझिँदा गाउँ कुरूप बनेको छ । पढ्ने बहानामा गाउँका युवा बाहिरिने क्रम बढेको छ । त्रिभुवन विमानस्थल पुगेर हेर्ने हो भने बिदेसिनेको लर्को देखिन्छ । बितेको तीन वर्षको सरकारी तथ्याङ्क हेर्ने हो भने २१ लाख ८२ हजार श्रमिक वैदेशिक रोजगारीमा गएका छन् । आर्थिक वर्ष २०८०/८१ मा सात लाख ४१ हजार नेपाली विदेश गएका छन् । तीमध्ये छ लाख ३० हजार अदक्ष र १ लाख ११ हजार दक्ष श्रमिक छन् । यसरी लाखौँ युवा बाहिरिँदा नेपालमा आम्दानी बढेको तथ्याङ्कले देखाउँछ । गत आवमा हरेक महिना सरदर एक खर्ब २० अर्ब रुपियाँको दरले रेमिट्यान्स आइरहेको छ । २०८० साउनदेखि २०८१ जेठसम्मको ११ महिनामा कुल १३ खर्ब २७ अर्ब ५१ करोड रुपियाँ रेमिट्यान्स आएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क छ । नेपालको अर्थतन्त्रको मेरुदण्ड नै मानिएको रेमिट्यान्सले कुल गार्हस्थ उत्पादन (जिडिपी) को २४ प्रतिशत हिस्सा ओगट्छ । अहिले हामीले यसमा चित्त बुझाउनु परिरहेको छ ।
नेपालमा कतिबेला सत्ता परिवर्तन हुन्छ र मुलुकको राजनीतिले अर्को मोड लिन्छ भन्ने कुरा भन्न सकिँदैन तर जनता राजनीतिक स्थिरता चाहन्छन् । स्थिर सरकार चाहन्छन् । त्यो स्थिर सरकारबाट मुलुकको परिवर्तन चाहन्छन् । अहिले त्यो परिस्थिति देखिएको छ ।
राजनीति नै सबथोक हो तर राजनीतिमा देखिएका विकृति विसङ्गतिले युवामा नैराश्यता छाउँछ । हरेक काममा सोर्सफोर्स चाहिने, आफ्नो मान्छे हुनुपर्ने जो कोहीले अनुभव गरेकै विषय हो । सबैसँग राजनीतिक पहुँच नहुन सक्छ । त्यस्तो अवस्थामा कुनै प्रकारको सेवा नपाउँदा युवा बिदेसिन बाध्य हुनु पर्छ ।
व्यवसाय गर्नका लागि नेपाल अवसरै अवसर भएको देश हो । जुनसुकै व्यवसाय सुरु गरे पनि नयाँ झैँ हुन्छ तर व्यवसाय चलाउने क्रममा सरोकारवाला निकायमा इमानदारी नभए वातावरण अप्ठ्यारो हुन पुग्छ । आर्थिक मन्दी एउटा परिस्थिति वा व्यावहारिक पक्ष हो । समाजको संरचना नै प्रगतिशील हुन्छ, जहाँ लिइने निर्णय सकारात्मक हुनु पर्छ । नेपालको हकमा निर्णय लिनेले आफू पछाडिको पुस्तालाई के कस्तो असर गर्छ त्यसमा ध्यान दिनु पर्छ । अनि मात्र युवामा देशमै केही गर्ने उत्साह जाग्छ ।
कोभिड महामारीपछि अधिकांश देशमा आर्थिक मन्दी आयो । सम्पन्न भनिएका देश पनि आर्थिक मन्दीको मारमा परेर अझैसम्म माथि उठ्न सकेका छैनन् । कतिपय देशले यो आर्थिक समस्यालाई चिरेर अगाडि बढेका छन् ।
आर्थिक रूपमा क्रियाशील युवा बिदेसिनुको कारण अनेक हुन्छन् । त्यसमध्ये बेरोजगारी समस्या युवा बिदेसिनुको मुख्य कारण हो । मूलतः नेपालको शैक्षिक प्रणाली अझै पनि परम्परागत एवं अव्यावहारिक रहेकाले जीवन उपायोगी ज्ञान, सिप र दक्षताको अभाव छ । सोही कारण अधिकांश युवा स्वरोजगार बन्न सकेका छैनन् । युवा स्वरोजगार बन्न नसक्दा बिदेसिन बाध्य छन् । हालसम्म नेपालले विश्वका १११ मुलुकमा वैदेशिक रोजगारीका लागि सरकारले स्वीकृति प्रदान गरेको छ ।
कृषि क्षेत्र व्यावसायिक बन्न नसक्नु युवा पलायनको अर्को कारण हो । नेपाल कृषिप्रधान मुलुक भए पनि अहिले पनि ६२ प्रतिशत मानिस कृषि पेसाद्वारा जीवनयापन गरिरहेका छन् तर उनीहरू पनि व्यावसायिक बन्न सकेका छैनन् । उत्पादन भएका वस्तु पनि बेचबिखनमा समस्या छ । व्यावसायिक कृषि गर्छु भन्नेका लागि पनि समस्या छ । समयमै मल र बिउ पाउने अवस्था छैन । उत्पादित कृषि उपजले पनि बजार पाउन सकेको छैन । भारतीय कृषि उपजसँग प्रतिस्पर्धा गर्ने नेपाली किसानसँग सामथ्र्य छैन ।
सेवा क्षेत्रको पर्याप्त विकास हुन नसक्नु युवा पलायन हुनुको अर्को कारण हो । न्यून पारिश्रमिक युवा पलायनको अर्को महत्वपूर्ण कारण हो । सन् २०२२ मा बेरोजगारी दर ११.१२ प्रतिशत रहनु यसैको प्रतिविम्ब हो । बेरोजगारीले नेपाली युवालाई देश बाहिरको रोजगारीमा आकर्षित गर्नु अस्वाभाविक होइन । त्यही भएर पनि पढेलेखेका युवा १२ कक्षापछि नै बिदेसिन बाध्य हुन्छन् ।
नेपालमा हरेक समस्याको सम्भावना छ । नेपाल पर्यटनका लागि आकर्षक गन्तव्य हो । राज्यले जतिसक्दो धेरै पर्यटक भित्र्याउन सक्नु पर्छ । अर्कोतर्फ अहिले बाँझो रहेका खेतीयोग्य जमिनमा अनुदान दिएर भए पनि खेती गर्न प्रेरित गर्नु पर्छ । विकास आयोजनाका माध्यमबाट रोजगारी सिर्जनाका लागि राज्यले अगाडि सारेका जलविद्युत्, सडक, रेलमार्ग, दु्रतमार्ग, हवाइ मैदान, विशेष आर्थिक क्षेत्र, प्रसारण लाइनलगायतका भौतिक पूर्वाधार निर्माणसम्बन्धी आयोजना शीघ्र कार्यान्वयनमा जोड दिनु पर्छ ।
अहिलेको शिक्षा प्रणाली वैज्ञानिक छैन । पाठ्यक्रमले बेरोजगार जनशक्ति मात्रै उत्पादन गर्छ । आत्मनिर्भर बन्ने जनशक्ति उत्पादन गर्दैन । त्यस कारण वर्तमान पाठ्यक्रम बदलेर सिपमूलक र व्यावहारिक बनाउनेतर्फ लाग्ने हो भने अहिले बिदेसिन हतार मान्ने युवा नेपालमै बसेर केही गर्न सकिन्छ भनेर तयार हुन्छन् । राजनीतिलाई पनि सही मार्गमा हिँडाउनु पर्छ । व्यापार व्यवसाय गर्ने, साना ठुला उद्योग सञ्चालन गर्ने, व्यावसायिक खेती गर्ने, उत्पादित सामग्रीको उचित बजार व्यवस्थापन र बजारीकरण राज्यले गर्ने हो भने बिदेसिएकालाई नेपाल फर्काउन सकिन्छ र नेपालमा केही हुन्न भन्नेहरूलाई नेपालमा सबथोक छ भन्ने बनाउन सकिन्छ । त्यो दायित्व राज्यको हो ।