• १८ साउन २०८१, शुक्रबार

सूचनाको हकले लोकतान्त्रिक विधिलाई बलियो बनाउँछ : सभामुख मण्डल

blog

राष्ट्रिय सूचना आयोगद्वारा आयोजित गोष्ठीमा उपस्थित मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल । तस्बिर : विजयकुमार साह

विजयकुमार साह
ढल्केबर, साउन १८ गते । 
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले सूचनाको हकले लोकतान्त्रिक विधिलाई बलियो बनाउने बताउनुभएको छ । शुक्रबार धनुषाको लालगढमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित दुई दिने सुशासनका लागि सूचनाको हक विषयक मधेश प्रदेशस्तरी गोष्ठीको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

सभामुख मण्डले सूचनाको हकको प्रयोगले सुशासन र पारदर्शिता कायम गर्न योगदान दिन सक्ने उल्लेख गर्नुहुँदै यसले लोकतान्त्रिक विधिलाई बलियो बनाउने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्रमा सरकारी तथा सार्वजनिक निकायमा भएका हरेक गतिविधि जनताले थाहा पाउनुपर्छ । पारदर्शिता र जिम्मेवारी सुशासनका आधार हुन् । सुशासन बिना लोकतन्त्र बलियो हुन सक्दैन त्यसैले सार्वजनिक निकायलाई उत्तरदायी र जवाफदेखि बनाउन सूचनाको हकको अधिकतम उपयोग गर्नुपर्छ ।” सुशासन र पारदर्शिताका लागि सूचनाको हक अपरिहार्य भएको सभामुख मण्डलले बताउनुभयो ।

उहाँले सूचनाको हकको प्रयोगले मानिसलाई जिम्मेवारी पनि बनाउँछ बताउनुहुँदै भन्नुभयो, “सूचनाले मानिसलाई जिम्मेवार बनाउँछ । जसले सूचना माग्छ त्यसलाई जिम्मेवार बनाउँछ । जसले सूचना दिन्छ उसलाई पनि जिम्मेवार बनाउँछ । त्यसकारण मेरो बुझाइमा हामीले जति सूचना प्राप्त गर्न सक्छौँ त्यति धेरै सार्वजनिक निकायका काम पारदर्शी हुन्छ ।”

राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त रत्नप्रसाद मैनालीले नागरिकको हकअघिकार सुनिश्चित गर्न, सार्वजनिक निकायलाई उत्तरदायी र जबाफदेही बनाउन र सुशासन कायम राख्न सूचनाको हकको महत्त्वपूर्ण भूमिका भएको बताउनुभयो । सूचनाको हकको प्रयोगबाट भएका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाको प्रसङ्ग उल्लेख गर्नुहुँदै उहाँले नेपालमा सूचनाको हकसम्बन्धी व्यवस्थाको कार्यान्वयनको अवस्था, आयोगमा प्राप्त निवेदन उजुरी, पुनरावेदनको स्थिति, सूचना प्रवाह र सुशासनका लागि भएका कार्यबारे जानकारी गराउनुभयो ।

गोष्ठीमा मधेश सरकार शिक्षा तथा संस्कृति राज्यमन्त्री शारदा थापा, प्रदेश सभा सदस्य र आयोगका पदाधिकारीहरूको उपस्थिति रहेको छ ।