अमरराज नहर्की
तनहुँ, साउन १८ गते। जनशक्तिको अभाव हुँदा तनहुँमा रोपाइँ गर्न ढिलो भएको छ। यस वर्ष समयमा नै प्रशस्त पानी परेर मूल फुटेकाले गैरी खेतका अलवा टारी खेतमा समेत रोपाइँ गर्न सकिने भए पनि जनशक्ति अभावले रोपाइँ प्रभावित भएको हो।
कृषकलाई कामको चटारो परिरहँदा गाउँमा काम गर्ने युवा जनशक्ति विदेश पलायन हुँदा अभाव भएर यहाँ खेती लगाउनै समस्या देखिन थालेको हो। वैदेशिक रोजगारको आकर्षणले युवा जमात विदेश पलायन हुँदा गाउँ युवाविहीन बन्दा असारको धान रोपाइँ गर्न महिला, बालबालिका र वृद्धवृद्धा जानुपर्ने बाध्यता छ।
साउन पहिलो हप्ता नै रोपाइँ गर्न गर्न सकिने अवस्था भए पनि जनशक्ति नहुँदा ढिलो भएको कृषि ज्ञान केन्द्र तनहुँमा प्रमुख गोपाल शर्मा लामिछानेले बताउनुभयो।
जनशक्तिको अभावले बर्सेनि खेत बाँझो हुने क्रम बढ्दै गएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ।केन्द्रका अनुसार स्वदेशमा रोजगारीका अवसर सिर्जना नहुँदा युवा विदेश पलायन हुन बाध्य छन्। राजनीतिक अस्थिरताले गर्दा देशभित्र रोजगारीका अवसर सहज नहुँदा जिल्लाबाट हरेक वर्ष विदेसिनेको सङ्ख्या बढिरहेको छ। युवाशक्ति विदेश पलायन हुँदा ११ हजार हेक्टर खेतमा बर्खे धान हुने गरेकोमा हाल घटेर आठ हजार हेक्टरमा मात्रै रोपाइँ भएको केन्द्रले जनाएको छ। केन्द्रका अनुसार धान रोपाइँमा आवश्यक पुरुष र महिला जनशक्ति कम भएपछि समस्या आएको छ। १० वटा पालिकामा रहेका ८५ वटा वडामा जिल्लाका एक तिहाइभन्दा बढी घरका कम्तीमा एक जना वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेको पाइन्छ।
जनजाति समुदायको बाहुल्य रहेको यस जिल्लामा रोजगारीका लागि विदेश पुग्ने क्रम पहिलेदेखि नै चल्दै आएको पाइन्छ। पहिले बेलायत र भारतीय सैनिकमा भर्ती भएर जाने चलन भए पनि पछिल्लो समय साउदी अरब, मलेसिया, दुबई, कतार, दक्षिण कोरिया, जापान लगायतका देशमा बढी जाने गरेको पाइएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारी हाल दैनिक करिब एक सय जना वैदेशिक रोजगारीमा जाने उद्देश्यले राहदानी बनाउन आउने गरेको बताउनुभयो।