• १८ साउन २०८१, शुक्रबार

एकै घरका तीन जनामा हैजा पुष्टि

blog

सलिम मिया

बिजुवार, साउन १८ गते । प्युठानमा एकै घरका तीन जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको गौमुखी गाउँपालिका–५ बस्ने ७१ वर्षीय लक्ष्मीकुमारी मल्ल, ३५ वर्षका मीनबहादुर मल्ल र १२ वर्षीय शिवकुमारी मल्ललाई हैजा पुष्टि भएको गौमुखी गाउँपालिका प्युठानमा स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैसीले जानकारी दिनुभयो । 

जिल्ला अस्पताल प्युठानमा भएको परीक्षणमा हैजा पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख जैसीले बताउनुभयो । उहाँका अनुसार गौमुखीका ८ जना व्यक्तिमा झाडापखाला देखिएको र त्यसमध्ये ३ जनालाई हैजाको सङ्क्रमण देखिएको हो । 

हैजाको सङ्क्रमण देखिएका ३ सहित ५ जनाको जिल्ला अस्पतालमा र अन्यको गौमुखीस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । उहाँले बर्खायामसँगै पानीजन्य रोग बढ्ने भएकाले पानी उमालेर खान अनुरोध गर्नुभएको छ ।