• १८ साउन २०८१, शुक्रबार

कोदो उत्पादन क्षेत्रफल वर्षेनी घट्दै

blog

गुल्मीका कृषकले गरेको कोदो खेती ।

रमेश विश्वकर्मा

गुल्मी, साउन १८ गते । गुल्मीमा प्रत्येक वर्ष कोदो उत्पादनमा गिरावट आइरहेको छ । कृषि ज्ञान केन्द्र गुल्मीको तथ्याङ्कअनुसार यस जिल्लामा प्रत्येक वर्ष उत्पादनको क्षेत्रफल घट्दा उत्पादनमा भने गिरावट आएको थिएन । 

गत वर्षको तुलनामा यस वर्ष ११.५० प्रतिशतले उत्पादनमा कमी आउने अनुमान गरिएको छ । कोदो उत्पादनको पछिल्लो तीन वर्षको तथ्याङ्कअनुसार उत्पादनमा स्थिर देखिए तापनि क्षेत्रफल घट्दै गएको पाइएको छ । विशेषगरी पछिल्लो समय गाउँमा बसाइँसराइ, युवा जनशक्ति पलायन र कोदो खेती अरु खेतीभन्दा झन्झटिलो भएको हुँदा कृषकको आकर्षणसमेत घट्ने कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनुभयो ।

केन्द्र गुल्मीको तथ्याङ्क अनुसार आव २०७८–७९ मा दुई हजार ९०२ हेक्टर क्षेत्रफलमा तीन हजार २७८ मेट्रिक टन उत्पादन भएको छ । जसमा एक दशमलव १३ मेट्रिक टन प्रतिहेक्टर उत्पादकत्व रहेको थियो । आव २०७९–८० मा दुई हजार ९०५ हेक्टर क्षेत्रफलमा तीन हजार ७७६ दशमलव ५ मेट्रिक टन कोदो उत्पादन भएको छ । जसमा एक दशमलव ३० मेट्रिक टन प्रतिहेक्टर उत्पादकत्व रहेको उहाँले बताउनुभयो । 

त्यस्तै, आव २०८०–८१ मा दुई हजार ८८१ हेक्टर क्षेत्रफलमा तीन हजार ३४१ दशमलव ९६ मेट्रिक टन कोदो उत्पादन भएको छ । जसमा एक दशमलव १६ मेट्रिक टन प्रतिहेक्टर उत्पादकत्व रहेको थियो । यस जिल्लाको इस्मा, मदाने, मालिका, धुर्कोट, कालीगण्डकी र चन्द्रकोट गाउँपालिकालाई कोदोको मुख्य पकेट क्षेत्र मानिएको छ । कोदो नेपालको धान, मकै, गहुँपछि चौथो महत्वपूर्ण खाद्यान्न बाली मानिन्छ । 

बीउ छर्ने बेला पानी नपरी खडेरी पर्दा बीउ कम उम्रनुका साथै कोदोमा रोग (छिर्केमिर्के) समेत देखिएकाले कोदो उत्पादनमा कमी आएको भन्दै उहाँले जङ्गली जनावर, जङ्गली बाख्रा खरायोलगायत जनावरले किसानलाई निकै समस्या दिएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख भण्डारीले बताउनुभयो । कोदो खेती बिस्तारै घट्दै गएपछि कृषि ज्ञान केन्द्रले रैथाने बाली संरक्षणको अभियान चलाएको छ ।