• ११ मंसिर २०८१, मङ्गलबार

दुई वर्षदेखि छिमेकीकै घरमा

blog

हरिकृष्ण ऐडी 

मुगु, साउन १६ गते । गत वर्ष असोजमा भएको भारी वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा गएको बाढीपहिरोले दर्जनौँ विस्थापित भए । विस्थापित भएको दुई वर्ष पुग्दा पनि पीडितको अझै व्यवस्थापन हुन सकेको छैन ।

सङ्घीय सरकारको निर्णय अनुसार कर्णालीका जिल्लालगायत मुगु जिल्लालाई पनि बाढीपहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा गरे पनि बाढीपीडितसम्म राहत रकम नआइपुग्दा पीडित अहिलेसम्म छिमेकीको घरमा बस्दै आएका छन् । बाढीपहिरोले जिल्लाको छायानाथ रारा नगरपालिका, सोरू गाउँपालिका र खत्याड गाउँपालिकाका एक हजार तीन सय घर पूर्ण तथा आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ ।

मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले सङ्घीय सरकारको निर्णय अनुसार मुगुको क्षतिको विवरण तत्काल मागेको भए पनि यहाँका स्थानीय निकायले पीडितको क्षति विवरण उपलब्ध नगराइदिँदा बाढीपीडितको लगत सम्पादन गर्न नसकिएको बताउनुभयो ।  

खत्याड गाउँपालिकाका अध्यक्ष अजबहादुर शाहीले जिल्लाका बाढीपीडितलाई राष्ट्रिय विपत् प्राधिकरणको कार्यतालिका अनुसार पुनः प्राविधिकको डिजिटल डाटामा यकिन गरी सिफारिस गरेको महिनौँ दिन बितिसक्दा पनि सम्बन्धित निकायले बाढीपीडितलाई राहत नदिएको बताउनुभयो । खत्याडका बाढीपीडितलाई केन्द्रीय र प्रदेश सरकारले राहत नदिँदा केही पीडितले ऋण लिएर सानो घर निर्माण गरिसकेका छन् । आर्थिक अभावका कारण केही बाढीपीडित छिमेकीको घरमा बसेका छन् भने कोही भारततिर पलायन भएका छन् । छायानाथ रारा नगरपालिका–६ का कोटिला गाउँका गानो ऐडीले बाढीपहिरोका कारण बस्ने ठाउँ नभएपछि केही परिवार अझै पनि त्रिपालमा बसिरहेको उहाँले जानकारी दिनुभयो । त्रिपालभित्र बस्दा बालबालिका बिरामी पर्न थालेपछि छिमेकीको गोठमा समेत केही परिवार बसेको जनाउनुभयो । 

सरकारले घर निर्माण गरिदिने आशामा बसेको दुई वर्ष भए पनि केही सुरसार नभएको उहाँको भनाइ छ । यस्तै छायानाथ रारा नगरपालिका–८ का कृष्णबहादुर रावल सम्बन्धित निकायले बाढीपहिरोपीडितलाई न्याय नदिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “बाढीपहिरोले झ्यारीगाउँको बस्ती नै त्रिपालमा ओत लागेर बस्नुपर्ने बाध्यता रहेको छ । बच्चा र वृद्धवृद्धामा चिसोले स्वास्थ्य समस्या देखिएको छ तर सम्बन्धित निकायको चासो छैन ।”