गोकर्ण दयाल
बैतडी, साउन १५ गते । आठ वर्षअघिसम्म खच्चडबाट नुन चामललगायत खाद्य ढुवानी हुने तल्लो स्वराड क्षेत्रमा अहिले सरर मोटरगाडी चल्न थालेका छन् । पाटन–पञ्चेश्वर सडक कालोपत्रे गरेपछि तराईबाट बस सिधा तल्लो स्वराड पुग्ने गरेको छ ।
विगतका दिन सम्झिँदै स्थानीय विजयसिंह नायकले स्वराडमा सडक पुगेपछि बल्ल गाउँ गाउँमा सिंहदरबार आएको अनुभूति सुनाउनुभयो । खच्चडमा सामान ढुवानी गर्नुपर्दा प्रतिकिलो १५ रुपियाँ महँगो चामल खानुपर्ने बाध्यता थियो ।
मोटरगाडी चल्न थालेपछि चामल सस्तो भएको छ । पहिले घोडेटो बाटो नभएका कारण खच्चड वा भरियाबाट खाद्य ढुवानी गर्नुपर्ने अवस्था थियो । पाटन–पञ्चेश्वर सडकले मेलौली, शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका ५० हजार बासिन्दाको कष्टकर जीवनमा परिवर्तन ल्याइदिएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो । सदरमुकाम पुग्न दुई दिन पैदल हिँड्नु पथ्र्यो, सडक पुगेपछि अहिले तीन घण्टामा पुगिन्छ । अध्यक्ष चन्दका अनुसार, “उपभोग्य वस्तु ढुवानी गर्न मेलौलीसम्म १५ र पञ्चेश्वरको २० रुपियाँ प्रतिकिलो खच्चडको भाडा तिर्नु पथ्र्यो । अहिले पाँच रुपियाँ प्रतिकिलो ढुवानीमा उपभोग्य वस्तुको आपूर्ति भइरहेको छ ।”
राजनीतिमा स्वराडको प्रतिनिधित्व
तल्लो स्वराड क्षेत्रबाट संविधान सभा सदस्यका रूपमा पहिलो पटक पुरनसिंह दयाल समानुपातिक प्रणालीबाट चुनिएपछि यहाँका समस्या केन्द्रीय सरकारसम्म उजागर भएको मेलौली नगरपालिका–९ का वडाध्यक्ष लोकराज भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक कालोपत्रेका लागि हालका गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएका छौँ ।” उहाँको सक्रियतामा पाटन–पञ्चेश्वर सडकको मुद्दाले स्थान पाएको उहाँले बताउनुभयो । पाटन–पञ्चेश्वर सडकका लागि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सङ्घीय सरकारबाट बजेटका लागि पहलकदमी गरेको मेलौली नगरपालिका–५ का स्थायी बासिन्दा एवं नेकपा (एमाले) का नेता पुरनसिंह दयालले बताउनुभयो ।
सडक निर्माणमा बाउन्न करोड खर्च
पाटन–पञ्चेश्वर ६५ किलोमिटर सडकखण्डको मेलौली नगरपालिकासम्म ३७ किलोमिटर कालोपत्रे भइसकेको छ । मेलौलीदेखि शिवनाथ गाउँपालिकाको सुल्लेखान हुँदै पञ्चेश्वर गाउँपालिकासम्म ग्राभेल र नाली निर्माणको काम सम्पन्न भएको छ । सडक स्तरोन्नतिमा हालसम्म ५२ करोड रुपियाँ खर्च भइसकेको पूर्वाधार विकास कार्यालयका इन्जिनियर नरेश भुलले बताउनुभयो । उहाँका अनुसार पाटन–पञ्चेश्वर सडकखण्डका लागि सङ्घीय सरकारले बजेट विनियोजन गरेपछि कालोपत्रेको काम धमाधाम अघि बढेको छ ।
स्वराडको तरकारी धनगढीमा
सडक पुगेपछि सुपथ मूल्यमा चामल खान पाएका स्थानीय किसानले आफूले उत्पादन गरेको तरकारी धनगढी र महेन्द्रनगर ढुवानी गर्न थालेका छन् । किसान चिन्तामणि भट्टले तीन क्विन्टल स्थानीय जातको प्याज र एक क्विन्टल गोलभेँडालगायत तरकारी धनगढी पठाएको बताउनुभयो । उहाँले मौसमी तथा बेमौसमी तरकारी खेतीबाट वार्षिक दुई लाख रुपियाँ आम्दानी गर्दै आउनुभएको छ ।