• १४ साउन २०८१, सोमबार

तरकारीकाे विषादी परीक्षण गर्न प्रयोगशाला स्थापना

blog

तरकारीमा विषादी परीक्षण गर्न ढल्केवरस्थित कृषि बजारमा स्थापना गरिएको प्रयोगशाला । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, साउन १४ गते । धनुषाको ढल्केवरस्थित कृषि उपज बजार विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइ स्थापना गरिएको छ । हरियो तरकार र फलफूलमा विषादीको मात्रा जाँच गर्न प्रयोगशालाको स्थापना गरिएको हो । 

नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाले इकाइको स्थापना गरेको कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष बुधेश्वर महतोले बताउनुभयो । उहाँले आउँदो सोमबारबाट परीक्षण सुरु गरिने बताउँदै मापदण्डभन्दा बढी विषादी प्रयोग गरिएको पाइएमा तरकारी तथा फलफूल नियन्त्रणमा लिएर नस्ट गर्ने जानकारी दिनुभयो । 

अध्यक्ष महतोले परीक्षण सुरु गर्नुअघि किसान भेला गरेर कति खेतबारीमा कति मात्रामा विषादी छर्कन र विषादी छर्केको कति दिनपछि तरकारी तथा फलफूल टिप्न मिल्छ भन्नेबारे जानकारी मुलक कार्यक्रम गरिने बताउनुभयो । 

ढल्केवरस्थित कृषि उपज बजार सस्तो मुल्यमा हरियो तरकारी तथा फलफूल पाइने बजारका रुपमा प्रसिद्ध छ । आइतबार, बुधबार र शुक्रबार गरी हप्ताको तीन दिन लाग्ने यस बजारमा काठमाडौँ, पोखरा, सिन्धुली, जनकपुरलगायत ठूल्ठूला सहरका व्यापारी यहाँ तरकारी तथा फलफूल खरिद गर्न आउने गरेका छन् भने मिथिला, छिरेश्वरनाथ, धनुषाधाम नगरपालिकार र बटेश्वर गाउँपालिकाका किसानले उत्पादन गरेको तरकारी तथा फलफूल बिक्रीका लागि ल्याउने गरेका छन् ।