• १२ साउन २०८१, शनिबार

जनताका समस्या समाधानमा केन्द्रित छु : सांसद तामाङ

blog

काठमाडौं, साउन १२ गते । नेकपा (एमाले) का नेता तथा कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र १ बाट प्रतिनिधि सभा सदस्य (सांसद) मा निर्वाचित तारा लामा तामाङले जनताको समस्या समाधानमा आफू केन्द्रित भएर काम गरिरहेको बताउनुभएको छ । 

गोरखापत्र अनलाइन प्रकाशनले सुरु गरेको ‘सांसदलाई सवाल’ विषयक भिडियो कुराकानीमा उहाँले सो कुरा बताउनुभएको हो । उहाँका अनुसार सो क्षेत्रमा निर्माण भइरहेको हुलाकी सडक निर्माण, नदीले गरिरहेको डुबान तथा कटानको समस्या, उखुखेती गर्दैआएका स्थानीय कृषक तथा सीमा क्षेत्रमा भइरहेको समस्या व्यवस्थापन मुख्य चुनौती रहेका छन् । 

सांसद लामाले त्यहाँका ४४७ जना उखु कृषकले अझै सरकारबाट पाउने सुविधा नपाएको उहाँले बताउनुभयो । सरकारसँग त्यसको पहल आफूले गरिरहेकाले चाँडै समाधान हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । 

कञ्चनपुरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भएको र त्यहाँ कतिपय स्थानीयहरू त्यहाँबाट विस्थापित हुनुपरेको, क्षतिपूर्तिको काम बाँकी रहेको, जङ्गली जनावरसँग स्थानीयको द्वन्द्वहुँदा समस्या भइरहेको उहाँको भनाइ छ । त्यसको व्यवस्थापनमा आफू लागिपरेको र समाधान नीतिगतरुपमा समाधान हुनुपर्छ भन्ने पक्षमा आफू रहेको उहाँले प्रष्ट पार्नुभयो । 

सांसद तामाङले सो क्षेत्रमा रहेका आदिवासी समुदाय रानाथारु, डँगौरा थारुसहित अन्य नागरिकको भूमिसँग सम्बन्धित समस्या समाधानमा पनि आफूले ध्यान दिएको उहाँले बताउनुभयो । आफ्नो निर्वाचन क्षेत्रमा सबैभन्दा बढी भारतीय सीमासँग जोडिएको खुला सिमाना भएकाले अनेक समस्याहरू रहेको र भन्सारमार्फत राजस्व असुलीमा समेत समस्या भएको बताउनुभयो । 


छोटी भन्सारमार्फत राजस्व सङ्कलन बढाउन सशस्त्र प्रहरी तथा जनपद प्रहरीहरू पनि सीमा क्षेत्रमा तैनाथ भए पनि अझ प्रभावकारी बनाउनुपर्ने उहाँले बताउनुभयो । स्थानीय नागरिक, व्यापारीलाई पनि राजस्व वृद्धि तथा राजस्व छलीमा कमी गर्न जनचेतनामूलक कार्यक्रम गर्दैआएको उहाँले प्रष्ट पार्नुभयो । 

जनप्रतिनिधिमा निर्वाचित भएको २० महिना पुगेको बताउँदै सांसद तामाङले भन्नुभयो, “लालपुर्जा नपाएर भूमिविहीन भएकालाई भूमि उपलब्ध गराउने, अव्यवस्थित बसोबासीलाई व्यवस्थित बनाउन पहल गरिरहेको छु, यसमा सरकार तथा मन्त्रालयका सचिव तथा सरोकारवालासँग पनि नियमित छलफल र पहल गरेको छु । आशा गरौँ यी समस्या चाँडै समाधान होलान् ।”

‘सांसदलाई सवाल’ कार्यक्रमले जनप्रतिनिधिलाई जनतासामु उत्तरदायी बनाउने उद्देश्य राख्दछ । प्रतिनिधिसभाका लागि निर्वाचित सांसदले आफ्नो कार्यकालको क्रममा गरेका निर्णय र क्रियाकलापको जिम्मेवारी जनतासामु प्रस्तुत गराउने गर्दछन् । यसले सांसदलाई जनतासामु पारदर्शी र जबाफदेही बनाउँछ । 

संवादले लोकतान्त्रिक प्रक्रियाको सशक्तीकरण र जनतासँगको सीधा संलग्नता बढाउन मद्दत गर्ने हामीले विश्वास गरेका छौँ । यस कार्यक्रमले सांसदहरूको कार्य प्रणालीलाई अझ प्रभावकारी र जनमुखी बनाउने उद्देश्यले यो संवाद शृङ्खला सुरु गरिएको हो । 

प्रतिनिधि सभामा कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र १ बाट निर्वाचित सांसद तारा लामा तामाङ नेकपा (एमाले) का नेता हुनुहुन्छ । प्रस्तुत छ गोरखापत्र अनलाइनका लागि पत्रकार लक्की चौधरी, छायाँकार मनोजरत्न शाही केशब गुरुङले गर्नुभएको भिडियो संवादः

Author
लक्की चौधरी

उहाँ गोरखापत्र अनलाइनका उपसम्पादक हुनुहुन्छ ।