• १४ वैशाख २०८३, सोमबार

एउटै कार्यालयले जारी गरेको लालपूर्जा एउटाको सदर अर्कोको अलपत्र

blog

टीकापुर नगरपालिका–२ कोठारपुरस्थित चौधरी परिवारको बस्ती ।

एकिन्द्र तिमिल्सेना

टीकापुर, वैशाख १४ गते । २०३८ सालमा नापी भई २०४५ सालमा लालपूर्जा पाएका टीकापुर नगरपालिका–२ कोठारपुरका तीन परिवारको उठीबास लाग्ने भएको छ ।

२०३४ सालदेखि बसोबास गर्दै आएका कुकुरी थरुनी लगायतको जग्गा आफ्नो दाबी गर्दै स्थानीय पदमबहादुर कार्कीले २०६८ सालमा मुद्दा गर्नु भएको छ ।

जिल्ला अदालत कैलालीबाट २०६९ फागुन १ मा र उच्च अदालत दिपायलबाट २०७० कात्तिक २५ गते कार्कीका पक्षमा फैसला गरेको छ भने २०८१ पुसमा सर्वोच्चले तल्लो तहको फैसला सदर गरिदिएको छ तर त्यही जग्गामा पहिल्यैदेखि लालपूर्जा भएका र बसोबास भएका परिवार अलपत्र हुने अवस्था छ । 

पूर्वतर्फ २०२१ सालमा नापी भैसकेको जग्गा र पश्चिम पदमबहादु्र कार्कीले बिक्री गरेको जग्गाको बीचमा कुकुरी थरुनी, उहाँका देवर सतराम चौधरी र अर्का प्रदेशु चौधरीको गरी तीन परिवार बसिरहेका छन् उनीहरुसँग तीन कठ्ठा चार धुर जग्गाको लालपूर्जा छ । 

तर कार्कीले आफ्नो लालपूर्जा अनुसारको जग्गा नपुगेकाले चौधरी परिवारहरु बसेको जग्गासम्म आफ्नै दावी गर्नु भएको छ । चौधरी परिवारको भनाइ छ ‘त्यसो भए हाम्रो पनि लालपूर्जा भएको र ४८ वर्षदेखि बसेको जग्गा खै ?’ यसको उत्तर कतैबाट मिलेको छैन् अदालतबाट उनीहरुले मुद्दा हारेका छन् आफ्नो जग्गा त्यो भन्दा पूर्व खोज्नु भनेको छ । 

कार्कीले आफ्नो जग्गा पश्चिमबाट नापी गरेर चौधरीसमेतको आफ्नै दावी गर्नुहुन्छ  । २०७४ माघ १८ मा नापी कार्यालय टीकापुरका अमिनले जग्गा नाप्दा फिल्डबुकअनुसार कुकुरी लगायतका चौधरीको जग्गा यथावत रहेको तर कार्कीको जग्गा खक्रौला सडकबाट नाप्दा सडकपट्टीको मोहोडा भागमा जग्गाको दूरी नपुगेको र कार्कीको जग्गा चौधरीसम्म परेको भनी अदालतबाट आएको टोलीले किला गाडिसकेकाले केही भन्न नसकिएको प्रतिवेदन दिएको छ ।

स्थानीय के भन्छन् ?

कार्कीसँग लालपूर्जा अनुसारको जग्गा नभएको र भएजति बेचेर चौधरीको जग्गामा आँखा लगाएको स्थानीयको बुझाई छ । स्थानीय चन्द्रमणी भुषाल भन्नुहुन्छ, ‘कार्कीको जग्गा सरेको भए कुकुरीको जग्गा कहाँ छ देखाइ दिनुपर्छ उठीबास गर्न पाइदैन ।’

अर्का स्थानीय चन्द्र ढुङ्गाना लालपूर्जामा जग्गा हुने फिल्डमा नहुने समस्या धेरै रहेकोले चारैतिरबाट जग्गा नापेर नापीले दिएको प्रतिवेदन मान्नुपर्ने बताउनुहुन्छ ।

२०३४ सालबाट चौधरी परिवार बसिरहेको जग्गा २०६८ मुद्दा हाल्ने कार्कीको कसरी भयो भनेर देख्नेहरु मान्न तयार छैनन् । आधा शताब्दीदेखि घर बनाएर बसेका लालपूर्जा भएको जग्गामा अर्को व्यक्तिको भयो भनेर निर्णय दिनु गलत भएको स्थानीय केशव कुँवर बताउनुहुन्छ ।

मुद्दा गर्दै तथ्य फरक

२०६८ सालमा मुद्दा हालेर जित्नु भउका र्काीको दावी र यथार्थले पनि मेल खाएको छैन् । एकतर्फी नाप्दा थरुनी लगायत तीन जनाको जग्गा कार्कीको बन्नेछ ।

अन्य जग्गाको साँध सिमानासँग मिलाउँदा कार्कीको जग्गा लालपूर्जामा बाँकी भएपनि फिल्ड सबै बिक्री भैसकेको देखाउछ । कार्कीको नौ कठ्ठाको लालपूर्जा रहेको छ भने छ कठ्ठा बिक्री भैसकेको छ ।

कुकुरीबाट २०६० सालमा १५ धुर जग्गा किनेर बसेका प्रदेशु चौधरी आफूलाई २०२५ सालदेखि बसोबास गरिरहेको आरोप अदालतले सही मानिदिएको गुनासो गर्नुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘हाम्रो धान रोप्ने, गहुँ छर्ने बेला अदालतबाट म्याद आउछ जानै भ्याइदैन । वकिलहरु पनि समयमा पैसा नदिएपछि मुद्दा कसरी लडिदिने भन्नुहुन्छ अनि हामी हार्छौ ।’ जग्गा धनी कुकुरी भन्नुहुन्छ, ‘आएका अमिनले पनि कार्कीको लालपूर्जा अनुसारको सबै जग्गा पुर्‍याउनुहुन्छ, हाम्रो वास्ता छैन ।’

२००५ साल भदौमा जन्मेकी कुकुरीको उमेर मुद्दामा ३८ वर्ष लेखिएको छ । चौधरीको केही पूर्व र पश्चिमपट्टि दुबैतिर कार्कीकै जग्गा रहेको  र सबै जग्गा बेचिसकेपछि २०६८ सालमा मात्रै चौधरी हटाउन खोज्नुको कारण स्थानीय खोजिरहेका छन् ।

घरबास बाहेक केही नभएका चौधरी परिवारले मुद्दामा छ लाख रुपियाँ जति खर्च गरिसकेका छन् । मुद्दा जित्नु भएका पदमबहादुर कार्कीले अदालतमा दुई पटक चलन चलाइ पाऊ भनी निवेदन गरे पनि चौधरीले जग्गा नछोडेको बताउनुहुन्छ ।