• १० मंसिर २०८१, सोमबार

हवाई सुरक्षा सतर्कता

blog

विश्वमै सुरक्षित, आरामदायी र छिटो यात्राका लागि हवाई यातायात एक मात्र भरपर्दो माध्यमका रूपमा ख्यातिप्राप्त छ । सानादेखि सयौँ जनासम्म यात्रु बोकेर उड्ने जहाजमा थोरै मात्र प्राविधिक गडबडी भएर दुर्घटनामा प¥यो भने यात्रु जीवित रहनु भनेको भाग्यको खेल मानिँदै आएको छ । हवाई इतिहासमा कहालीलाग्दो दुर्घटनाका समाचार विगतदेखि नै आइरहेकै छन् । दुःखको कुरा, नेपाली आकाश पनि सबैभन्दा धेरै हवाई दुर्घटना हुनेमा विगतदेखि नै गणना हुँदै आएको छ । हवाई उडानको ६९ वर्षको इतिहासमा १०८ वटा सानाठुला दुर्घटना भएका छन् र यी दुर्घटनामा परेर ९६९ यात्रुको दुःखद निधन भइसकेको तथ्य सार्वजनिक छ ।

विसं २०७९ माघ १ गते पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलनजिकै यती एयरलाइन्सको आन्तरिक उडानतर्फको ७२ जना यात्रु सवार जहाज दुर्घटनापछि अर्को ठुलो दुर्घटना बुधबार भएको हो । सौर्य एयरलाइन्समा सवार १८ जनाको मृत्यु भएको छ भने विमानचालक भाग्यवश जीवित छन् । विमानस्थलबाट उडेलगत्तै भएको दुर्घटनाका थप तथ्य उहाँमार्फत बाहिर आउँदै जाने नै छन् । 

नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ अनुसार नेपालमा वायुसेवा सञ्चालनको अनुमति दिने, वायुसेवा सञ्चालनसम्बन्धी अवस्था, मर्मत आदि मुख्य कार्यको अनुगमन नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्दछ । प्राधिकरणलाई अनुगमनकारी र नियमनकारी दुई छुट्टाछुट्टै निकाय बनाउनुपर्ने युरोपेली सङ्घले भन्दै आएको छ । नेपाली ध्वजावाहकलाई २०७० सालदेखि निरन्तर प्रतिबन्ध लगाउँदै आएकोमा यो दुर्घटनाले सङ्घलाई थप बल पुग्न सक्छ । कतिपयले पुराना जहाज भिœयाएका कारण धेरै दुर्घटना हुने गरेको आव्रmोशसमेत पोख्ने गरेको देखिएको छ ।

प्राविधिकहरू भने जहाज पुरानो भएर फरक नपर्ने बताउँछन् । जहाजका पार्टपुर्जा घण्टा तथा उडान साइकलमा आधारित हुने भएकाले विमान निर्माता कम्पनीले नै कति कति समयमा कुन कुन पार्टपुर्जा परिवर्तन गर्नुपर्ने भनेर तोकिदिएको हुने प्राविधिकको भनाइ छ । सोही आधारमा प्राविधिकद्वारा विमानको ‘सी चेक’ गरिन्छ । 

वार्षिक रूपमा विमानको छ पटक परीक्षण गरिने, स्थलगत जाँच, उडानको समयमा र छड्के परीक्षणसमेत हुने नागरिक उड्डयन प्राधिकरणको भनाइ छ । यो तथ्यले विमान दुर्घटनामा प्राविधिक पक्षको कमजोरी न्यून हुने देखाउँछ । यसो भन्नुको तात्पर्य नियमनकारी निकायको कमजोरी र मानवीय पक्षको कमजोरीकै कारण धेरै जसो दुर्घटना हुने गरेका हुन् । दुर्घटनापछि गठित छानबिन समितिका प्रतिवेदनले पनि मानवीय पक्षलाई नै बढी दोष देखाउने गरेका छन् । हवाई दुर्घटनापछि हुने फितलो छानबिन र त्यसको कार्यान्वयनमा सरोकारवाला पक्ष उदासीन रहँदा दुर्घटना दोहोरिने गरेका हुन् । कतिपय प्रतिवेदन बाहिर सार्वजनिक नै गरिँदैनन् । हवाई कम्पनीका कमजोरी नदेखाउन गुपचुपमै सामसुम पारिने गरेको आरोप केही हदसम्म सत्य हुन सक्छ ।

नेपाली आकाशमा दुर्घटना बढ्नुमा मानवीय कमजोरीसँगै पहाडी भूगोल, अप्ठ्यारा विमानस्थल, साँघुरो धावनमार्ग, खराब मौसम, विमानस्थलमा आधुनिक उपकरणको अभाव, चराको विचरण, चालकदलमाथि दबाब जस्ता कमजोरी दुर्घटनापश्चात् गठित जाँचबुझ समितिले बुझाउने गरेको प्रतिवेदनमा आउने गरेका छन् । बुधबार पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग छाड्नेबित्तिकै दुर्घटनामा परेको सम्बन्धमा छानबिन गर्न सरकारले आयोग गठन गरिसकेको छ । जहाज ‘सी चेक’ का लागि प्राविधिक र कर्मचारीसहितको टोली बोकेर काठमाडौँबाट पोखरा उडेको थियो । प्राविधिक उडानमा गैरप्राविधिक यात्रु उडाउन नहुने नियमविपरीत एक बालक र महिलासमेत हुनुले हवाई नियमविपरीतको उडान कार्य भएको मानिएको छ । 

प्राधिकरणको नियम अनुसार हरेक जहाजले उडान भर्नुअघि गरिने नियमित परीक्षणसहित निश्चित घण्टा, समयचव्रm, पार्टपुर्जाको अवधि र उडान अवतरण अवधिका आधारमा जहाजको परीक्षण र हरेक दुई÷दुई वर्षमा विस्तृत मर्मतसम्भार गर्नुपर्ने हुन्छ । फराकिलो ह्याङ्गरमा परीक्षण कार्य गर्न विमान पोखराका लागि उडाइएको थियो । नियमित उडान गरिरहेको र कुनै प्राविधिक समस्या नभएको जहाज ‘सी चेक’ का लागि प्राविधिक टोलीसहित लगिएको विदित हुन्छ । उडानमा रहेका बच्चा र महिला प्राविधिक कर्मचारीका परिवार भएको देखिएको छ । अहिलेसम्मका दुर्घटना हेर्दा मानवीय क्षति भएको जहाज दुर्घटनामा पाइलट बाँच्न सफल भएको घटना सम्भवतः यही नै हो । छानबिन समितिले दुर्घटनाको तथ्य पत्ता लगाउला नै । आगामी दिनमा उस्तै किसिमका कमजोरीबाट दुर्घटना हुन नदिन यो प्रतिवेदनका साथै यसअघिका प्रतिवेदन पनि कार्यान्वयनमा ल्याउन वाञ्छनीय छ ।