• १० साउन २०८१, बिहिबार

रास्वपाद्वारा पार्टीको विधान परिमार्जनका लागि कार्यदल गठन

blog

काठमाडौँ, साउन १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीको संयोजकत्वमा विधान संशोधन सुझाव कार्यदल गठन गरेको छ । रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीको विधानमा आवश्यक परिमार्जन तथा संशोधनका लागि कार्यवाहक महामन्त्री बुर्लाकोटीसहित ११ सदस्यीय कार्यदल गठन गरेको हो ।  

उक्त कार्यदलको सदस्यमा सोविता गौतम, गणेश कार्की, डा.तोसिमा कार्की, क्रान्तिशिखा धिताल, विजय जैरु, मेघ आले, कामिनी चौधरी, पुकार बम, डा.नारायण घिमिरे र शङ्कर श्रेष्ठ हुनुहुन्छ । आजको बैठकको निर्णयबारे जानकारी दिँदै कार्यवाहक प्रवक्ता मनिष झाले भदौको दोस्रो सातामा कर्णाली अभियान कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । उक्त अभियान सहमहामन्त्री विपिन आर्चायले संयोजन गर्नुहुनेछ । बैठकले पार्टीको पदाधिकारी र  नेतृत्वमा रहेका सदस्यलाई रणनीतिकरुपमा सक्षम बनाउन सघन प्रशिक्षणका लागि ‘क्लोज क्याम्प’ आयोजना गर्ने निर्णय गरेको छ ।

सो पार्टीको केन्द्रीय समितिको आजको बैठकले पार्टीको सम्बन्धमा सार्वजनिक बहसमा आएका विषयमा अध्ययन अनुसन्धानका लागि केन्द्रीय अनुशासन आयोगलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ । बैठकले डा.अरनिको पाँडेलाई पार्टीको केन्द्रीय समितिमा पुनर्बहाली गर्ने निर्णय गरेको हो । यस्तै बैठकले पार्टीको केन्द्रीय विभागमा विभिन्न मितिमा सदस्य अनुमोदन गर्ने निर्णय गरेको छ । रासस