• १६ पुस २०८१, मङ्गलबार

विपत् व्यवस्थापनमा सहभागिता

blog

स्थानीयस्तरमा केकस्ता विपत् आइलाग्छन् भन्ने विषय त्यहाँका जनतालाई बढी थाहा हुन्छ । त्यसैले विपत् आउनुपूर्व नै यसको सामना कसरी गर्ने भनेर योजना बनाउनु पर्छ । सबैको सहभागिता भए विपत् आइलागे पनि त्यससँग सामना गर्ने शक्ति प्राप्त हुन्छ ।

कुनै पनि स्थानमा आपत्कालीन अवस्था सिर्जना भई जनधनको क्षति हुनुका साथै जीवनयापन र वातावरणमा प्रतिकूल अवस्था विपत्ले ल्याउँछ । वास्तवमा विपत् यस्तो अवस्था हो, जसले व्यक्तिलाई निस्सहाय बनाई व्यक्तिको दैनिक जीवनलाई नै अवरुद्ध बनाइदिन्छ । भूकम्प, आगलागी, डढेलो, बाढीपहिरो, सुनामी, ज्वालामुखी, प्रकोप, युद्ध, आतङ्क, चोरीडकैती, दुर्घटना आदि विपत्का उदाहरण हुन् । कतिपय अवस्थामा विपत् मानवीय लापर्बाहीका कारणले पनि हुने गरेको पाइन्छ । उदाहरणका लागि जथाभाबी आगोको प्रयोग गरेमा आगलागी वा डढेलोको विपत् आइलाग्छ । नदी किनार तथा भिरालो जमिन अतिव्रmमण गरेमा बाढीपहिरोको समस्या आउन सक्छ । सावधानीपूर्वक सवारीसाधन नचलाउँदा दुर्घटनाको सिकार हुनु पर्छ । खानपान र सरसफाइमा ध्यान नदिँदा रोग पैmलिएर प्रकोपकै रूप लिन्छ । विपत्लाई प्राकृतिक र मानवीय गरी दुई भागमा विभाजन गर्न सकिन्छ । प्रकृतिले ल्याउने विपत् प्राकृतिक हुन् भने मानवको अज्ञानता, कमजोरी वा लापर्बाहीले हुने विपत् मानवीय हुन् । 

प्राकृतिक विपत्बाट नेपालमा बर्सेनि धेरै जनधनको क्षति हुने गरेको छ । प्राकृतिक विपत्मा बाढी, पहिरो, असिना, अतिवृष्टि, अनावृष्टि, हिमताल विस्फोट, भूस्खलन, आँधीबेरी, हुरीबतास, शीतलहर, चट्याङ, भूकम्प, डढेलो आदि हुन् । मानवीय व्रिmयाकलापबाट पृथ्वीमा उपलब्ध स्रोतसाधनलाई अत्यधिक दोहन गर्दा वा दुरुपयोग गर्दा पनि यस्ता विपत् बढ्न सहयोग पुग्छ । द्वन्द्व, अनिकाल, माहामारी, दुर्घटना, आगलागी, विषाक्त ग्यास चुहावट, रसायन वा विकिरण चुहावट, विषाक्त खाद्य सेवन, वातावरणीय प्रदूषण आदि विपत् मानवका कारण उत्पन्न हुन्छन् । 

विपत्को प्रमुख प्रभाव भनेको जनधनको क्षति नै हो  । शारीरिक चोटपटक, मानसिक पीडा, खेतीयोग्य जमिन नाश हुनुका साथै पूर्वाधारमा समेत यसले ठुलो क्षति गर्छ । पशुपन्छी तथा  खाद्यान्नको अभाव भई भोकमरीको अवस्था पनि भोग्नुपर्ने हुन्छ । विपत्कै कारण पारिस्थितिक प्रणालीमा समेत ठुलो असर पर्छ । संसारभर अहिले योजनाविहीन विकास, अव्यवस्थित सहरीकरण, औद्योगिकीकरण, गरिबी, महामारी आदि कारणले पनि मानवले विपत्को सामना गर्नु परेको छ ।  

नेपालमा अहिले मनसुनको समय हो । त्यसैले बाढीपहिरो र यससँग सम्बन्धित दुर्घटनाका समाचार धेरै नै सुन्नु परेको छ । यसबाट हुने क्षति रोक्न जल तथा मौसम विज्ञान विभागको पनि जिम्मेवारी हुन्छ । विभागले मौसमको पूर्वसूचना प्रणाली देशैभर पु¥याउनु पर्छ । धेरै हदसम्म विभागको पूर्वसूचना लाभदायी पनि देखिएको छ । यसले सरोकारवाला निकाय र सम्बन्धित पक्षलाई समयमै आवश्यक तयारी गरी क्षतिको न्यूनीकरण गर्नका निमित्त सहयोग पुगेको छ । विपत्लाई रोक्न नसके पनि यसबाट हुने क्षति न्यूनीकरण गर्न यो कार्यले सहयोग पुगेको छ । 

प्राकृतिक प्रकोप तथा विपत्लाई न्यूनीकरण गर्न केही विधि अवलम्बन गर्नुपर्ने देखिन्छ । उदाहरणका लागि विपत्बाट हुने क्षति न्यूनीकरण गर्न उद्धार र उद्धारपछिको कार्यका लागि पूर्वतयारी अवस्थामा रहनु पर्छ । यसले जनधनका साथै वातावरणीय क्षति पनि न्यूनीकरण गर्न सघाउँछ । यसै गरी विपत्लाई सामना गर्ने क्षमता बढाउन समुदायलाई सशक्तीकरण गर्ने, विपत् सम्बद्ध विषयमा ज्ञान, सिप र क्षमता विकास गराउन तालिम, शिक्षा आदिको प्रबन्ध गराउन उपयुक्त हुन्छ । भूकम्पबाट बच्न भूकम्प प्रतिरोधात्मक घर बनाउने, बाढीपहिरोबाट हुने क्षति कम गर्न नदी किनारमा बाँध निर्माण गर्ने वा पर्खाल लगाउने, भिरालो जमिनमा पानीको बहाव सतहबाट बगाउन वृक्षरोपण गर्न सकिन्छ । यस्ता ठाउँमा जरेघाँस, बाँस आदि लगाउँदा पनि उचित हुन्छ । 

विपत्को अवस्थामा जनधनको क्षति कम गर्न तत्काल उद्धार गर्दा आवश्यक पर्ने वस्तुहरूको आपूर्ति गरी मानवीय क्षति कम गर्ने उपाय अपनाउनु पर्छ । यस्तो अवस्थामा जनधनको क्षति जतिसक्दो कम गर्न कोसिस गर्नु पर्छ । यसका लागि अल्पकालीन राहत सेवा, विपत् प्रभावित व्यक्तिहरूको उद्धारमा कुनै कन्जुस्याइँ गर्नु हुँदैन । 

विपत्पछिको अवस्थामा क्षतिलाई सम्बोधन गर्ने योजना निर्माण र कार्यान्वयनलाई बढी जोड दिनु पर्छ । यसमा विशेष गरी स्थानीय तहको भूमिका महŒवपूर्ण हुन्छ । यस चरणमा क्षतिको विवरण सङ्कलन, भत्किएका संरचनाको निर्माण÷पुनर्निर्माण र जीर्णोद्धार गर्ने, स्रोतसाधनको व्यवस्थापन कसरी गर्ने भन्ने योजना पहिल्यै बनाएर राख्नु पर्छ । नेपालको भूबनोट, भौगोलिक अवस्था, जनचेतनाको अभाव, जनसहभागिताको अभाव, कानुन कार्यान्वयनमा समन्वयको अभाव, पूर्वचेतावनीको सूचना प्रभावकारी नहुनु, कमजोर प्राविधिक तथा आर्थिक क्षमता एवं रूढिवादी समाज जस्ता कारणले भने विपत्मा उद्धार र उद्धारपछिका कार्य गर्न कठिनाइ उत्पन्न हुँदै 

आएको छ । 

विपत्का घटनामध्ये महामारीबाट सबैभन्दा धेरै मानवीय क्षति भएको पाइन्छ । यसै गरी बाढीपहिरो तथा चट्याङबाट भएको क्षति पनि धेरै छ । भूकम्पका कारण पनि धेरै जनधनको क्षति भएको छ । यसैका साथै नेपालको भौगोलिक बनावट तथा सवारीसाधनमा मानवीय लापर्बाहीका कारणले पनि धेरैले ज्यान गुमाउनु परेको छ । 

विपत्लाई हामी रोक्न त सक्दैनौँ तर पनि यसलाई न्यूनीकरण गरी क्षति कम गर्न सक्छौँ । यसका लागि सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारको विशेष जिम्मेवारी हुन्छ । यससँगै नागरिक समाजको भूमिका पनि नकार्न सकिँदैन । स्थानीयस्तरमा के कस्ता विपत् आइलाग्छन् भन्ने विषय त्यहाँका जनतालाई बढी थाहा हुन्छ । त्यसैले विपत् आउनुपूर्व नै यसको सामना कसरी गर्ने भनेर योजना बनाउनु पर्छ । सबैको सहभागिता भए विपत् आइलागे पनि त्यससँग सामना गर्ने शक्ति प्राप्त हुन्छ । 


Author

सुशीला खड्का