• ९ साउन २०८१, बुधबार

एमालेले मन्त्रीहरूको टुङ्गो लगायो

blog

मकवानपुर समाचारदाता

हेटौँडा, साउन ९ गते  । सङ्घमा सत्ता साझेदारी गरेका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले बागमती प्रदेशमा मन्त्रालय भागबन्डा गरेका छन् । कांग्रेस र एमालेको सहमति अनुसार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयसहित बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित कांग्रेसले सात मन्त्रालय र एमालेले छ वटा मन्त्रालय पाउने भएका छन् । 

प्रदेश सरकारमा एमालेको तर्फबाट जाने मन्त्रीहरूको टुङ्गो लागेको छ । एमालेबाट मन्त्री पाउनेमा एक जनाबाहेक पाँच जना नयाँ अनुहार छन् । एमाले संसदीय दलले मङ्गलबार सरकारमा जाने मन्त्रीहरूसहित मन्त्रालय टुङ्गो लगाएको संसदीय दलका नेता जगन्नाथ थपलियाले जानकारी दिनुभयो । उहाँका अनुसार एमालेले प्रकाश श्रेष्ठ कृषि तथा पशुपन्छी विकास मन्त्रालय, किरण थापाले स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकास मन्त्रालय, शुकमाया तामाङले उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय र प्रेमभक्त महर्जनले श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउनुहुने भएको छ । मन्त्रीका लागि टुङ्गो लागेका नाममध्ये श्रेष्ठबाहेक अरू नयाँ अनुहार हुन् । 

श्रेष्ठ यसअघि शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा समेत मन्त्री रहनुभएको थियो । श्रेष्ठ र मास्के काठमाडौँका, थापा भक्तपुरका, महर्जन ललितपुरका, तामाङ सिन्धुली र सिलवाल चितवनका प्रदेश सभा सदस्य हुनुहुन्छ । मन्त्रालय बाँडफाँट अनुसार कांग्रेसले मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सामाजिक विकास मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय पाउने भएको छ ।

कांग्रेसमा भने आकाङ्क्षी धेरै भएकाले मन्त्री अझै टुङ्गो लगाउन सकेको छैन । कांग्रेसका प्रमुख सचेतक गोविन्द लम्सालले मङ्गलबार अबेरसम्म भए पनि मन्त्री र पाउने मन्त्रालय टुङ्गो लगाउने गरी छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले मुख्यमन्त्री र सबै मन्त्रीले बुधबार नै शपथ लिने बताउनुभयो । कांग्रेसका ३७ र एमालेका २७ प्रदेश सभा सदस्यको समर्थनमा नयाँ सरकार गठनका लागि मङ्गलबार दिउँसो बागमती प्रदेशका कांग्रेस संसदीय दलका नेताबहादुर सिं लामा तामाङले प्रदेश प्रमुख समक्ष दाबी पेस गर्नुभएको थियो । 

साथै लामालाई मङ्गलबार साँझ नै बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्ति गर्नुभएको थियो । मुख्यमन्त्रीमा नियुक्त लामाको शपथग्रहण कार्यक्रम बुधबार बिहान ११ बजेका लागि तय गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । यसअघि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामापछि प्रदेश प्रमुख शर्माले नयाँ सरकार गठनका लागि आइतबार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दललाई आह्वान गर्नुभएको थियो ।