• ८ साउन २०८१, मङ्गलबार

सरकार गठनका लागि आह्वान

blog

मकवानपुर समाचारदाता

हेटौँडा, साउन ८ गते । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामापछि बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूलाई आह्वान गर्नुभएको छ । मुख्यमन्त्री जम्कट्टेलको दिनुभएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख शर्माले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको हो ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि दाबी पेस गर्न आह्वान गरिएको छ ।

प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गर्दै प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाका सदस्यलाई बागमती प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ति गर्न प्रदेश प्रमुखसमक्ष आफ्नो दाबी मङ्गलबार बेलुका ५ बजेभित्र पेस गर्न आह्वान गरिएको कुरा उल्लेख गरिएको छ । मुख्यमन्त्री जम्कट्टेलले आइतबार नै प्रदेश प्रमुखसमक्ष राजीनामा दिनुभएको थियो । 

लामाले दाबी पेस गर्ने

प्रदेश प्रमुख शर्माले नयाँ सरकार गठन गर्न आह्वान गर्नुभएसँगै नयाँ सरकार गठन प्रव्रिmया सुरु भएको छ । नेपाली कांग्रेस र नेकपा (एमाले) ले नयाँ सरकार गठनको तयारी थालेका छन् । केन्द्रमा सत्ता साझेदारी गरेका कांग्रेस र एमालेबिच बागमती प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउने गरी सहमति भएको छ ।

कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामा कांग्रेस र एमालेको समर्थनमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्नु हुनेभएको छ ।

कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता उपनेता रामकृष्ण चित्रकारले मङ्गलबार मात्र नयाँ सरकार गठनका लागि दाबी पेस गरिने जानकारी दिनुभयो । उहाँले कांग्रेसका ३७ र एमालेका २७ प्रदेश सभा सदस्यको समर्थनमा लामाको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गरिने बताउनुभयो । यसअघि सोमबार बिहान कांग्रेस र एमाले संसदीय दलका नेताहरूसहित मुख्यमन्त्रीको दाबी पेस गर्न जाने गरी प्रदेश प्रमुखको कार्यालयमा समय व्यवस्थापनका लागि माग गरिएको थियो तर अन्तिम समयमा सोमबारलाई दाबी पेस गर्ने कार्य रोकिएको थियो ।

कांग्रेस बागमती प्रदेश संसदीय दलले यसअघि संसदीय दलका नेता लामाको नेतृत्वमा प्रदेश सरकारमा जाने निर्णय गरेको थियो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोविन्द लम्सालले संसदीय दलका नेता लामाको नेतृत्वमा प्रदेश सरकारमा जाने संसदीय दलको बैठकबाट सर्वसम्मतिले निर्णय भएको जानकारी दिनुभयो ।