• २७ वैशाख २०८२, शनिबार

मेयर कप स्ट्रेन्थलिफ्टिङ्ग च्याम्पियनसिप सुरु

blog

स्ट्रेन्थलिफ्टिङ्ग च्याम्पियनसिपको उद्घाटन गरिँदै । तस्बिर : गोरखापत्र

सिराज खान 

नेपालगन्ज, वैशाख २७ गते । दोस्रो मेयरकप स्ट्रेन्थलिफ्टिङ्ग आइबिपी च्याम्पियनसिन प्रतियोगिता नेपालगन्जमा सुरु भएको छ । प्रतियोगिताको शनिबार नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उद्घाटन गर्नुभयो । 

प्रतियोगितामा देशभरका फिटनेस क्लबहरूबाट एक सय खेलाडीको सहभागिता रहेको छ । प्रमुख विष्टले छोटो समयमा स्ट्रेन्थलिफ्टिङ्ग आइबिपी च्याम्पियनसिप प्रतियोगिता अन्तर्राष्ट्रिय रूपमा पहिचान बनाउन सफल भएकोमा सहभागी खेलाडीहरूलाई बधाई दिँदै आउने समयमा थाइल्यान्ड जाने खेलाडीहरूलाई सफलताको शुभकामना दिनुभयो । 

लुम्बिनी प्रदेशका पूर्वमन्त्री एवं ओलम्पियन सुरेन्द्र हमालले विश्वमा देशको नाम चिनाउन सफल भएको यस खेलमा सरकारले विशेष लगानी गर्नुपर्ने माग गर्नुभयो । 

सो अवसरमा स्ट्रेन्थलिफ्टिङ्ग सङ्घका केन्द्रीय सभापति जीवन गिरी, लुम्बिनी प्रदेश खेलकुद विकास समितिका कार्यालय प्रमुख महेशचन्द्र, जिल्ला खेलकुद विकास समितिका सचिव सन्तोष श्रेष्ठ, बाँके जिल्ला स्ट्रेन्थलिफ्टिङ्ग सङ्घका सचिव चन्द्रशेखर थापा लगायतले प्रतियोगिताको सफलताको शुभकामना दिनुभयो । 

कार्यक्रममा पूर्व भारोत्तोलक समसुद्दीन सिद्दिकी, नेपालगन्ज उपमहानगरपालिका शिक्षा शाखा अधिकृत लोकेन्द्र शाही, खेलकुद शाखा अधिकृत भीमबहादुर बुढा, पूर्व भारोत्तोलक राजेन्द्र बर्मा, पूर्व शारीरिक सुगठन कार्य समितिका सुरेशकुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।